१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य बीमा रकम प्राप्त गर्ने पहिलो कलाकार बने रामचन्द्र अधिकारी



अ+ अ-

काठमाडौँ । विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डले व्यबस्था गरेको स्वास्थ्य बीमाको लाभ लिने पहिलो व्यक्ति बरिष्ठ कलाकार रामचन्द्र अधिकारी बन्नुभएको छ ।

उहाँले दाबी गरेअनुरुप राष्ट्रिय बीमा कम्पनीले उपलब्ध गराएको रु. ४६,६००/- पौष १३ गते बुधबार चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले प्रदान गर्नुभयो । सो कार्यक्रममा बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, बरिष्ठ संचारकर्मी तथा निर्देशक दिनेश डिसी, चर्चित नायिका पुजा शर्मा, बोर्ड सदस्य प्रकाश भट्टराई लगायतको उपस्थिती थियो ।

विशिष्ट चलचित्रकर्मी परिचयपत्र प्राप्त गर्नुभएका चलचित्रकर्मीहरुलाई बोर्डले विभिन्न किसिमका सुविधाहरु प्रदान गर्ने योजनाअनुरुप स्वास्थ्य बीमाको कार्यक्रम ल्याईएको थियो । यस कार्यक्रम अन्तर्गत विशिष्ट परिचयपत्र प्राप्त गर्ने जम्मा १०२ जना चलचित्रकर्मी मध्ये ९८ जनाको बीमा गरिएको थियो । बीमा कार्यक्रममा सहभागी प्राविधिक उद्धवराज भट्टराईको निधन भईसकेको छ भने परिचयपत्र प्राप्त गर्नुभएका कलाकार हरि प्रसाद रिमाल, लेखकरनिर्देशक चेतन कार्की, कलाकार सुभद्रा अधिकारी र प्राविधिक गेहेन्द्र धिमालको बीमा कार्यक्रम सुरु हुन अगावै निधन भईसकेको थियो ।

चालु बीमा कार्यक्रम अन्तर्गत अस्पतालमा भर्ना भई उपचार गर्नुपर्दा रु। ६५,०००/- र भर्ना नभई उपचार गर्नुपर्दा रु. ३५,०००/- सम्म गरी जम्मा रु. १,००,०००/- प्राप्त गर्न सकिन्छ । राष्ट्रिय बीमा कम्पनीका प्रतिनिधि धर्म भण्डारीले यो बीमा सुविधा लिन योग्य सबैलाई रकम दाबी गर्न अनुरोध गर्नुभयो । बीमा गरेको ६-७ महिनामा बल्ल एकजनाले दाबी गर्नुभएको बताउँदै भण्डारीले थोरै नै रकम भएपनि दाबी पेश गरेपछि २४ घण्टाभित्र चलचित्र विकास बोर्डमा उक्त रकम उपलब्ध गराउने बताउनुभयो ।

बीमा रकम प्राप्त गर्दै कलाकार अधिकारीले चलचित्र विकास बोर्डलाई धन्यवाद व्यक्त गर्नुभयो । “चलचित्र विकास बोर्डले चलचित्रकर्मीलाई गरेको यो सहयोग एक जीवनदानको रुपमा मैले हेरेको छु । यो सुविधा आवश्यक पर्दा सबैले सजिलै पाउन सकुन्”, चेक बुझ्दै अधिकारीले भन्नुभयो, “हाम्रो दुख बुझ्ने कलाकार नै अध्यक्षको रुपमा आउनुभएको छ । हामीलाई अझै धेरै भरोषा पलाएको छ” ।

बोर्ड अध्यक्ष भुवन केसीले सानो रकमले धेरै समस्या समाधान नहुने भएपनि यो एउटा सुरुवात भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सकेसम्म कसैलाई पनि स्वास्थ्य समस्या नआओस् तर पनि त्यो कुरा हाम्रो हातमा हुँदैन । यति रकमले त केहि पनि हुँदैन यद्यपी यो एउटा सुरुवात हो । यो भन्दा ठुला घटना भईहाले पनि त्यसमा केहि गर्न सकौँ भनेर बोर्ड सँधै संवेदनशिल छ” । अध्यक्ष केसीले राष्ट्रिय बीमा कम्पनीलाई पनि धन्यवाद व्यक्त गर्नुभयो ।