२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ अर्थतन्त्रको विकासले ल्याएको आशा



अ+ अ-

कोरोना महामारीका कारण विश्व अर्थतन्त्र गम्भीर संकटमा छ। विकासोन्मुक राष्ट्रहरु ऋणको थप बोझमा पर्दैछन् भने विकसित मुलुकपनि कहिल्यै देखा नपरेको संकटबाट गुज्रिरहेका छन्। यस्तो अवस्थामा चिनियाँ अर्थतन्त्र भने आश्चर्य जनक रुपमा प्रगतिपथमा हिँड्न थालेको छ।

चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले जुलाई १५ तारिख (असार ३१ गते) चालु वर्ष सन् २०२१ को अर्धवार्षिक समयावधिको गार्हस्थ अर्थतन्त्रको विवरण सार्वजनिक गरेको छ। सो विवरण अनुसार चालु वर्षको पहिलो ६ महिनामा चीनको कुल गार्हस्थ उत्पादन (जीडीपी) को कुल रकम ५३२ खर्ब १६ अर्ब ७० करोड चिनियाँ युआन पुगेको छ। यो गत वर्ष सन् २०२० को सोही अवधिको तुलनामा १२.७ प्रतिशतले वृद्धि भएको हो।

चिनियाँ राज्य परिषदको प्रेस कार्यालयले सोही दिन बेइजिङमा पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बताइए अनुसार, चालु वर्षको अघिल्ला ६ महिनामा चीनको आर्थिक विकासले स्थिरताका साथ सुधार र राम्रो प्रवृत्ति देखाएको छ।

कोरोना महामारीका कारण विश्व अर्थतन्त्र ठूलो सकसमा परेको छ। हवाइ उडान ठप्प प्राय छन् भने ठूला तारे होटल सुनसान छन्। पर्यटन व्यवसाय अभूतपूर्व रुपमा थलिएको छ। सबैजसो मुलुकको आर्थिक वृद्धि ऋणात्मक बिन्दुमा झरेका छन्। यस्तो प्रतिकूल अवस्थामा पनि चिनियाँ अर्थतन्त्र भने उत्साहजनक रुपमा वृद्धि हुँदै आएको छ। यसको खास कारण चिनियाँ अर्थतन्त्रमा उपभोग, लगानी र वैदेशिक व्यापार 'तीन वटा स्तम्भ' मुख्य रुपमा रहेकाले हो। यी तीनवटै पक्षलाई चीनले स्थिरताका साथ विकास गराउँदै ल्याएको छ। यसले के पुष्टि गर्छ भने चिनियाँ अर्थतन्त्र महामारी पहिलेकै अवस्थामा फर्किएको छ र यसले स्थिरताका साथ राम्रो दिशातर्फ गति लिएको छ।

सन् २०२१ को पहिलो ६ महिनामा चिनियाँ उपभोक्ताको खर्चले चीनको आर्थिक बृद्धिका लागि दिएको योगदान दर ६१.७ प्रतिशत पुगेको छ। चीनको सामाजिक उपभोग्य वस्तुको खुद्रा-बिक्री रकम ३७ खर्ब ५८ अर्ब ६० करोड चिनियाँ युआन पुगेको छ। यो सन् २०२० को सोही अवधिको तुलनामा १२.१ प्रतिशतले बृद्धि भएको हो। विदेशी सञ्चार-माध्यमहरुले जनाएअनुसार, उपभोक्ताको खर्ब बढ्दा चीनको आर्थिक पुनरुत्थान निरन्तर स्थिर र सन्तुलित भएको छ।

एक अर्ब ४० करोड जनसंख्या भएको चीनमा ४० करोड जनसंख्या मध्यमभन्दा बढी आय भएका व्यक्ति छन्। उनीहरु महङ्गा र विसाली सामान प्रयोग गर्न रुचाउँछन्। उनीहरुको रोजाइमा बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित सामग्री र महङ्गा ब्राण्डेड सामान पर्ने गर्छन्। यही लोभलाग्दो बजारका कारण ठूला र महङ्गा कम्पनीले चीनमा कारखाना राखेर आफ्ना उत्पादन गर्दै मुनाफा लिइरहेका छन्। तीन वर्ष अगाडि चीन र अमेरिकाबीचमा व्यापारिक द्वन्द्व सुरु भएपछि तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीहरुलाई चीनबाट बाहिर सार्ने प्रयास गरेका थिए। आकर्षक बजार र राम्रो मुनाफा कमाइरहेका कम्पनीहरु ट्रम्पको बल्छीमा झुण्डिएनन् र उक्त अमेरिकी प्रयास असफल भयो।

विशाल उपभोक्ता भएकै कारणले चीनले पछिल्लो समय अर्थतन्त्रमा 'डुअल सर्कुलेसन' नीति अँगालेको छ। चीनलाई विश्वको कारखाना पनि भनिन्छ। चीनले उत्पादन गर्ने सामानहरु विश्वका हरेक देशमा पुग्ने गर्छन्। तर कुनै कालखण्डमा वैदेशिक व्यापारमा अवरोध आउन सक्ने रहेछ भन्ने कुरा अमेरिकासँगको व्यापारिक द्वन्द्वपछि चीनले राम्ररी हेक्का राख्यो। फलतः निर्यातमा मात्र भर पर्दा कुनै बेला चीनमा सामान थुप्रिने संभावना रहेकाले चीनभित्रै सामान बेच्ने र महङ्गा सामान उपभोग गर्न आफ्ना नागरिकलाई उत्साहित गर्न चीनले नयाँ अवधारणा अगाडि सारेको हो। तसर्थ चिनियाँ उपभोक्ताहरुमा खर्च गर्ने बानी बसाउँदै अधिक सामान किन्ने बनाउँदै आन्तरिक अर्थतन्त्रलाई मजबुत बनाउने सोचलाई विगत तीन वर्षमा निकै जोडतोडका साथ अगाडि बढाइएको छ।

पहिले वैदेशिक व्यापारबाट अर्थतन्त्रलाई दरिलो बनाउँदै आएको चीनले आन्तरिक उपभोक्ताबाट थप टेवा दिनका लागि 'डुअल सर्कुलेसन' नीति ल्याइएको हो। यही नीतिका कारण चिनियाँ उपभोक्ताको खर्चले चीनको आर्थिक बृद्धिका लागि दिएको योगदान दर ६१.७ प्रतिशत पुगेको हो।चीनको भन्सार प्रशासन कार्यालयले जुलाई १३ तारिख (असार २९ गते) सार्वजनिक गरेको तथ्यांकअनुसार, सन् २०२१ को अघिल्लो ६ महिनामा चीनको सामानको आयात-निर्यातको कुल रकम सन् २०२० सोही अवधिको तुलनामा २७.१ प्रतिशतले बृद्धि भएको छ।

भन्सार ग्राफले छलाङ मार्दा चीनले आयात निर्यात गरेको कूल रकम १८० खर्ब ७० अर्ब चिनियाँ युआन पुगेको छ। चीनमा यति धेरै रकमको आयात निर्यात भएको इतिहासकै सबैभन्दा उच्च अङ्क हो। यस अवधिमा चीनबाट ९८ खर्ब ५० अर्ब युआनको सामान निर्यात भएको छ। गत वर्षको तुलनामा यो वर्षको निर्यात २८.१ प्रतिशतले बढेको छ। त्यसैगरी ६ महिनामा चीनले ८२ खर्ब २० अर्ब चिनियाँ युआनका सामान आयात गरेको छ। आयातमा पनि गत वर्षको भन्दा २५.९ प्रतिशतले वृद्धि भएको छ। निर्यात र आयात दुवैलाई मिलाउँदा चालु वर्षको अघिल्ला ६ महिनामा व्यापार २७.१ प्रतिशतले बृद्धि भएको हो। चिनियाँ राज्य परिषदको प्रेस कार्यालयले जुलाई १३ तारिख बेइजिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा भन्सार प्रशासनअन्तर्गत तथ्याङ्क तथा विश्लेषण विभागका निर्देशक ली ख्वीवनले चिनियाँ निर्यात आयातमा नयाँ रेकर्ड कायम भएको बताएका हुन्।

सन् २०२० को सुरुदेखि कोरोना महामारी फैलिएपछि आयात निर्यात सुस्ताएको थियो। कोरोना महामारी अगाडि सन् २०१९ को पहिलो ६ महिनामा आयात निर्यातको तुलनामा २२.८ प्रतिशतले बृद्धि भएको हो। यसैगरी चीनमा लगानी पनि क्रमशः सध्रिएको छ। उच्च प्रविधि व्यवसायको लगानी र सामाजिक क्षेत्रको लगानीमा विगत दुई वर्षमा ‌क्रमशः १४.६ र १०.७ प्रतिशतले बृद्धि भएको छ। तथ्याङ्क केलाउँदा चीनमा लगानी बनौटको निरन्तर सुधारले चिनियाँ अर्थतन्त्रको उच्च गुणस्तरीय र दिगो विकासका लागि जीवन्त शक्ति ल्याएको स्पष्ट हुन्छ।

उपभोग र व्यापारसँगै लगानी चिनियाँ अर्थतन्त्रको अर्को स्तम्भ हो। संयुक्त राष्ट्र संघीय व्यापार तथा विकास सम्मेलनले जारी गरेको 'विश्व लगानी सम्बन्धी प्रतिदेन २०२१' अनुसार एसियामा भित्र्याइएको प्रत्यक्ष वैदेशिक लगानी ४ प्रतिशतले बढेको छ। चीनले भित्र्याएको प्रत्यक्ष वैदेशिक लगानी १ खर्ब ४९ अर्ब अमेरिकी डलर पुगेको छ। हालसम्म विश्वमा विदेशी लगानी भित्र्याउने मुलुकमा चीन दोस्रो स्थानमा छ र सन् २०२० मा चीनले विश्वमा सबैभन्दा बढी लगानी भित्र्याएको छ। सन् २०२० मा चीनले विदेशमा गरेको लगानी १ खर्ब ३३ अर्ब अमेरिकी डलर छ।

उल्लिखित उपभोग, लगानी र वैदेशिक व्यापार 'तीन वटा स्तम्भ' ले चिनियाँ अर्थतन्त्रको स्थिर पुनरुत्थानलाई अगाडि बढाएका छन्। अन्तर्राष्ट्रिय स्तरमा अर्थतन्त्रको अनुसन्धानमा ख्याति कमाएको संस्थान एमआरबी पान्टनर्सले मध्य जुलाईमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार, सशक्त उपभोक्ता लगायतका कारक-तत्वहरूमा निर्भर भएर भविष्यमा चीनले विश्वको आर्थिक बृद्धिका लागि अझ सशक्त टेवा दिनेछ।

आखिर चीनले यस्तो ठोस उपलब्धि कसरी प्राप्त गर्योद? यसका अनेकौ‌ कारक-तत्वहरू रहेका छन्। चिनियाँ अर्थतन्त्रको आधारभूत अवस्था स्थिरताका साथ राम्रो दिशतर्फ विकास भएकाले चीनको वैदेशिक व्यापार निरन्तर र स्थिर बृद्धिका लागि सशक्त हुँदै आएको छ। रोयटरले जनाएअनुसार, चीनले आफ्ना व्यापार साझेदारहरूभन्दा छिटो महामारी नियन्त्रण गर्न सक्यो। फलतः सन् २०२० का अघिल्ला महिनाहरूमा महामारीबाट परेको क्षतिलाई पुर्ताल गर्दै चीन अगाडि बढ्यो। चिनियाँ राष्ट्रपति सी चिनफिङले सधैँ भन्ने गरेको स्थिर आर्थिक पुनरुत्थानलाई चीनले साकार तुल्याएको छ।

कोरोना विरुद्धको खोप विश्वभरी लगाउन सुरु भएकाले पनि विश्वको अर्थतन्त्र जुर्मुराउन थालेको छ। विश्व अर्थतन्त्र चलायमान हुन थालेपछि त्यसको सकारात्मक असर चिनियाँ अर्थतन्त्रमा स्वाभाविक रुपमा पर्ने गर्छ। महामारी नियन्त्रणका लागि आकस्मिक र अति आवश्यक सामग्रीको आपूर्तिको मुख्य स्रोत पनि चीन नै हो। एकातिर चीनले विश्व जगतलाई महामारीको समयमा सहयोग गर्ने मौका पायो भने सँगसँगै चीनबाट सामान आपूर्तिसँगै निर्यातमा वृद्धि गरेर आफ्नो अर्थतन्त्रलाई मजबुत पार्ने अवसर पनि पाएको छ।

व्यापारमा वृद्धिसँगै चीनमा विदेशी मुद्राको संचिती पनि उल्लेख्य रुपमा बृद्धि भएको छ। चीनको केन्द्रीय बैंक चिनियाँ जन बैंकले जुलाई १३ तारिख चालु वर्षको अघिल्ला ६ महिनाको बैकिङ तथ्याङ्क प्रतिवेदन सार्वजनिक गरेको छ। सो तथ्याङ्क अनुसार, ब्रोड मनी रकम २३१७ खर्ब ८० अर्ब चिनियाँ युआन पुगेको छ। यो गत वर्षको तुलनामा ८.६ प्रतिशतले बृद्धि भएको छ। त्यसैगरी न्यारो मनी रकम ६३७ खर्ब ५० अर्ब चिनियाँ युआन पुगेको छ र गत वर्षभन्दा ५.५ प्रतिशतले बृद्धि भएको छ।

चालु वर्षको पूर्वार्द्ध ६ महिनामा चिनियाँ नोटको ऋणमा १२७ खर्ब ६० अर्ब चिनियाँ युआन बढेको छ। अघिल्लो वर्षको तुलनामा ६ खर्ब ६७ अर्ब ७० करोड चिनियाँ युआन बृद्धि भएको छ। गत जुन महिनाको अन्त्यसम्म चीनमा विदेशी मुद्रा भण्डार रकम ३२ खर्ब १० अर्ब अमेरिकी डलर पुगेको छ। विगत १५ वर्षदेखि चीन विश्वमै सबैभन्दा धेरै विदेशी मुद्रा भण्डारण गर्ने मुलुकमा चीन विगत १५ वर्षदेखि पहिलो नम्बरमा रहँदै आएको छ। चीनपछि जापान र स्विजरल्याण्ड क्रमशः दोस्रो र तेस्रोमा छन्।

चीनसँग विशाल विदेशी मुद्राको संचिती भएकैले सन् २००८ मा आएको आर्थिक मन्दीको समयमा चीनले अमेरिकालाई जोगाउन सहयोग गरेको थियो। त्यतिबेला चीनले वृहत रुपमा अमेरिकी ट्रेजरी बिल किनेर अमेरिकी अर्थतन्त्रलाई ध्वस्त हुनबाट जोगाएको थियो। चीनको अर्थतन्त्र मजबुत हुँदा बाँकी दुनियाँले आशाको नजर चीनतिर लगाउन थालेको छ।