• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   दाङको राजपुर गाउँपालिका भरिबाट एसइईमा एकजना मात्रै उत्तीर्ण ★   नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुन्छः घनश्याम भुषाल ★   सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छः झलनाथ खनाल ★   नेकपा एसको महाधिवेशन एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएका छौंः माधवकुमार नेपाल ★   नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त झा पक्राउ ★   लालीगुराँस सहकारीका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ ★   देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छः प्रधानमन्त्री ★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन

दबाब र प्रभावमा नपरी शान्ति सुव्यवस्था कायम गर्छुः उपप्रधान तथा गृहमन्त्री लामिछाने



काठमाडौँ । नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कसैको दबाब र प्रभावमा नपरी शान्ति सुव्यवस्था कायम गर्न दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज साँझ पदभार ग्रहणपछि सञ्चारकर्मीको जिज्ञासामा उहाँले शान्ति सुव्यवस्थाका लागि गृह प्रशासनले निभाउनुपर्ने भूमिकामा सबैभन्दा बढी काम गर्ने बताउनुभयो ।

विधि र पद्धतिका आधारमा काम गर्ने प्रणाली स्थापित गर्ने जनाउँदै उहाँले कुनै दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्रीले दिएको निर्देशनप्रति आफू प्रतिबद्ध रहेको बताउनुभयो । आफूले स्वतन्त्र र स्वायत्तरूपमा कार्यसम्पादन गर्ने उहाँको भनाइ छ ।

“आम नागरिकले शान्ति सुरक्षाको महसुस कत्तिको गरिरहेका छन्, त्यस्ता विषयलाई प्राथमिकतामा राखेर काम गर्छु”, उहाँले भन्नुभयो, “आम जनजीविकाका विषय मेरा प्राथमिकतामा छन् ।” गृह प्रशासन मातहतका सङ्गठनको मनोबल उच्च तुल्याउने काममा आफू लाग्ने उहाँको भनाइ छ । आफू सञ्चारकर्मी भूमिकामा रहँदा सबैभन्दा बढी काम गर्नुपर्ने जनचासोका विषय गृह मन्त्रालय पाएको र त्यसमा पहल गर्नुपर्ने भएकाले आफ्नो रोजाइमा गृह मन्त्रालय परेको बताउनुभयो ।

आफूले स्वतन्त्ररूपमा कसैलाई विभेद नगरी बराबरी रूपमा कार्यसम्पादन गर्ने अधिकार सबैलाई प्रदान गर्ने बताउनुभयो । हरेक निर्णय स्वतन्त्र र विश्वसनीयरूपमा गरेर प्रशासनका माध्यमबाट जनताका लागि न्याय दिइने उहाँको प्रतिबद्धता छ । साझा नीति तथा कार्यक्रम बनाएर काम गर्ने सम्झौताका आधारमा आफूहरू सरकारमा सहभागी भएको जनाउँदै उहाँले सरकारमा रहेर पनि आम जनताको मुद्दामा वाचापत्रद्वारा प्रतिबद्धता जनाएअनुसार प्रखररूपमा आवाज उठाइरहने बताउनुभयो ।

गृहमन्त्री लामिछानेले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यासम्बन्धी विषयको छानबिनलाई थप प्रभावकारी बनाउने निर्णय लेखेर ल्याउन मन्त्रालयका उच्च अधिकारीलाई निर्देशन दिनुभयो । उहाँलाई मन्त्रालयमा गृहसचिव विनोदप्रकाश सिंह, सुरक्षा निकायका प्रमुखले स्वागत गर्नुभएको थियो । रासस