२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुरु र गुरुकुलले हामीलाई के दियो ?



अ+ अ-

गुरु ज्ञानको प्रतीक हो, विज्ञानको आभा हो, संस्कारको जरो हो, परम्पराको सन्देशवाहक हो । गुरु कुनै जात, धर्म, वर्ग, वर्णविशेषको मात्र हुँदैन । कुल र मूललाई जोगाउन गुरुको भूमिका अहं हुन्छ । वैदिकशास्त्रले वंशकुल (आमाबुबाबाट जन्मिएको) र गुरुकुल (गुरुसँग शिक्षादीक्षा लिएको) गरी दुई कुललाई आदरणीय मानेका छन् । गुरु पितासरहको अभिभावक हुन्छ, देवीदेवताजस्तै पुज्य हुन्छ, श्रद्धेय हुन्छ, उदाहरणीय हुन्छ, बाटो देखाउने हुन्छ, अन्धकारबाट मुक्त गराउने हुन्छ, समस्याबाट मुक्त दिने हुन्छ ।

हरेक महान् मानिसका पछाडि गुरुको हात एवं आशीर्वाद लुकेकै हुन्छ । गुरुले ज्ञान, अनुभव, सीप–कला आदि दिएर बनाएको सन्तानलाई नादवंश भनिन्छ । गुरुकुलले विद्या, संस्कार, सीप, परम्परा आदिलाई एकपछि अर्को पुस्तामा हस्तान्तरण गर्छ । गोत्र र प्रवर, समाज र स्रष्टाको तन्तुलाई जोड्न गुरुकुलको महत्वपूर्ण योगदान थियो । संस्कृतभाषा पढेर, तिलक चन्दन लगाएर कर्मकाण्ड गर्न सक्ने जसले बनाउँछ त्यसलाई गुरु मान्ने विडम्बना छ ।

परशुरामले भीष्मपितामहलाई, द्रोणाचार्यले अर्जुनलाई संस्कृतभाषा र कर्मकाण्ड होइन धनुर्विद्या सिकाएका थिए । यसैले सीप, अनुभव, ज्ञान जसबाट पाइन्छ त्यसलाई गुरु भनिन्छ । दतात्रयले २४ गुरु बनाए जसमा जनावर पनि पर्छन् । वंशकुलले जात र वर्णको परिचय दिन्छ भने गुरुकुलले साधना, शस्त्र एवं शास्त्रपरम्पराको जानकारी दिन्छ । यसरी गुरुकुलले आर्यावर्तमा ध्यान, धन, ज्ञान र विज्ञानलाई संरक्षण गरेको थियो । व्रतबन्धदेखि २५ वर्षसम्म गुरुको आश्रममा बसेर ब्रह्मचर्य पालनसहित अध्ययन गर्नुपर्दथ्यो । गुरुमा भए जति ज्ञान र अनुभव छात्र–छात्रालाई पढाइदिने, सिकाइदिने, अभ्यास गराइदिने परम्परा थियो ।

गुरुकुलहरू जङ्कल एवं प्राकृतिक स्वरूपले सुन्दर, शान्त ठाउँमा हुन्थे । गुरुकुलमा नर(मानिस)लाई नारायण बनाइन्थ्यो । जहाँ शास्त्र र शस्त्रको अभ्यास हुन्थ्यो । माला र भाला चलाउन सिकाइन्थ्यो । शिक्षा र संस्कारको हस्तान्तरण गरिन्थ्यो । पारङ्गत गुरुहरूसँग शिष्यहरूले विधिसम्मत तरिकाबाट ज्ञान लिन्थे । षड्शास्त्र, चौसठ्ठीकलालाई जीवन र जगत् उपयोगी बनाउन गुरुले उपयुक्त शिष्यको छनौट गर्थे । शिष्यहरुले रुची, आवश्यकता, परम्पराअनुसार विद्या आर्जन गर्थे । ब्रह्मतŒव जानेको, परम्परालाई अनुभूत गरेको, दक्ष शिक्षकलाई गुरु भनिन्छ ।

विद्यार्थीभित्रको अँध्यारो हटाई ज्ञानको ज्योति बालिदिने ईश्वरको प्रतिनिधि नै गुरु हो । शारीरिक र मानसिक शक्ति बढाउन गुरुले शिष्यलाई अभ्यास गराउँथे । उनीहरूले ज्ञानार्थीहरूलाई छात्रछात्रा बनाउँथे । मेकालेको शिक्षाले जरा गाडेपछि, पश्चिमाको हुण्डी चल्न थालेपछि हाम्रा गुरुहरु माष्टर र सरमा बदलिए । शिष्यहरु विद्यार्थीमा रुपान्तरण भए । गुरु र गुरुकुल छँदासम्म आर्थिक अभावले शिक्षाबाट विमुख हुनुपर्ने अवस्था थिएन । यसैले आर्यावतमा सबै साक्षारमात्र थिएनन् शिक्षितसमेत थिए । यसैले त पुष्पक विमान, ब्रह्मास्त्र, देव्यास्त्र यही बनेँ ।

महादेवले दक्षप्रजापतिको शिरमा बोकाको टाउको, गणेशमा हातीको टाउको जोडिदिए । यो सबै गुरु र गुरुकुलको प्रतिफल हो । पश्चिमाको विज्ञान आउनुपूर्व ज्योतिषले खगोलको अध्ययन गरेको थियो । आयुर्वेदले उपचारमा टेवा दिएको थियो । मन्त्र, तन्त्र र यन्त्रको विकासले मानिसको जीवनयापन सहज बनाएको थियो । एउटै गुरुलाई सबै विषयको ज्ञान हुँदैन, जसलाई जुन क्षेत्रको ज्ञान हुन्छ त्यही सिकाउने हो । गीता(४।३४)ले भनेको छ– “ज्ञान दिनेलाई साष्टाङ्कदण्डवत् गरी अत्यन्त विनीत भावले प्रश्न गर्नुपर्छ अनि ज्ञानी र तŒवदर्शी गुरुहरूले उपदेश गर्नेछन् ।”

गुरुकुलमा माष्टर, सर, टिचरले होइन गुरुआमा र गुरुबाले जीवन र जगत्लाई पढाउनुहुन्थ्यो । रामले आफूलाई विश्वामित्रका शिष्य, रावणले महादेवको भक्त, भीष्मपितामहले परशुराम शिष्य भन्न रुचाउँथे । गुरुकुलले शिष्य र छात्रछात्रामात्र उत्पादन गर्दथे । ‘शिष् अनुशिष्टौ’ र ‘शाष् अनुसिष्टौ ’ धातुबाट ‘शिष्य’ शब्द बन्दछ । ‘शासितुं योग्य शिष्यः’ अनुशासित गुरुको शासन एवं अनुशासनमा रहेर अध्ययन गर्न रमाउने योग्य व्यक्ति नै शिष्य हो ।  हजारौँ शिष्यहरूमध्येबाट थोरै छात्र बन्दथे । ‘गुरोर्दोषावरणं छत्रमस्यास्तीति छात्रः’ अर्थात् गुरुमा भएका दोषलाई त्यागेर राम्रा गुण, ज्ञान लिनेलाई छात्रछात्रा भनिन्छ । हाम्रा गुरुकुलमा विद्यार्थी हुँदैनथे ।

‘अर्थ प्रयोजनं अस्यास्तीति अर्थी’ कुनै प्रयोजन वा स्वार्थका लागि काम गर्नेलाई अर्थी भनिन्छ । ‘विद्याया अर्थी विद्यार्थी’  अर्थात् विद्या प्राप्त गर्ने अर्थी (स्वार्थी) नै विद्यार्थी हो । विद्यार्थीले अध्ययनपछि न त गुरुलाई सम्झन्छ, न त समाज र राष्ट्रलाई हित गर्दछ । गुरुकुल र गुरुले शिष्य र छात्र उत्पन्न गर्छन् । गुरुमाथि श्रद्धा र विश्वास गर्नेको ज्ञान, सीप, आशीर्वाद फलीभूत र जीवनोपयोगी हुन्छ । त्यसैले ब्रह्मा, विष्णु र महादेवका रूपमा गुरुको पूजा हुन्छ । 

हाम्रो भूगोलमा अर्थको अभावले अध्ययन रोकिँदैनथ्यो । अध्ययन गरेकाहरुबाट समाज र राष्ट्र लाभाविन्ति हुन्थ्यो । गुरुलाई देख्दा मानिसमा श्रद्धा उत्पन्न हुन्थ्यो । गुरुकुलमा लगानी गर्न पाउनुलाई सौभाग्य सम्झन्थे । गुरुले  शिष्यलाई छोरा–छोरी एवं शिष्यहरूले शिक्षक–शिक्षिकालाई माता–पिता सम्झन्थे । अध्ययनकालमा राजाको सन्तान र कङ्कालको वंशमा विभेद हुँदैनथ्यो । सुदामा र कृष्णलाई सान्दिपनि गुरुले समभावले पढाए । शिष्यले अध्ययनकालमा शुल्कको बिटो तिर्नुपर्दैनथ्यो । समावर्तन(डिग्री पास) वा स्नातकव्रत पुरा भएपछि गुरुबाट आज्ञा लिएर सकेका क्षमताअनुसार दक्षिणा दिनुपर्छ  भन्ने मान्यता थियो ।

अध्ययनपद्धतिका आधारमा आचार्य पारस्करले स्नातक तीन  प्रकारका  बताएका छन्– विद्यास्नातक (सम्पूर्ण विद्या अध्ययन ग¥यो तर ब्रह्मचर्यसहित पालन गरेन), व्रतस्नातक (ब्रह्मचर्यको पालन ग-यो सम्पूर्ण विद्या अध्ययन गर्न सकेन) र विद्याव्रतस्नातक (ब्रह्मचर्यको पालनासहित सम्पूर्ण विद्याको अध्ययन ग¥यो) । स्नातकहरूलाई समाज र राष्ट्रका गहना मानिन्थे, ज्ञान र अभ्यासले योग्य हुन्थे, गुरु र आश्रमका नामले चिनिन्थे ।    

नेपाल गुरुराष्ट्र हो । गायत्रीमन्त्री गौरीशंकर हिमालले दियो, वेदव्यासलाई दमौलीले जन्मायो, गौतमबुद्धलाई कपिलवस्तुले उत्पादन गरेको थियो । वेदका अधिकांश मन्त्रहरु यहीँ मन्त्रद्रष्टा ऋषि एवं ऋषिकाले देखेका थिए । पुराणको लेखन वेदव्यासले यही गरे । यही भूमिको अन्न र पानी पिएर, यहीँको हावा लिएर वेदव्यासले वेदको संकलन एवं विभाजन गरे । यसैले गुरुपूर्णिमाको दिनलाई व्यासपूर्णिमा पनि भनिन्छ ।

गुरुको वचनलाई आशीर्वाद र मन्त्र मानेर उहाँका चरणकमलमा शिर राख्नेहरू वेदव्यास, गोरखनाथ, षडानन, स्वर्गद्वारीमहाप्रभू, फल्गुनन्द महागुरु, योगी नरहरिनाथ, डा. स्वामी प्रपन्नाचार्यजस्ता उदाहरणीय शिष्य बन्दछन् । गुरु अध्ययनकालमा मात्र होइन जीवनभर हरेक क्षेत्रमा आवश्यक पर्छ । गुरुविनाको राजनीति, गुरुविनाको प्रशासन, गुरुविनाको संस्कारले गति लिन सक्दैन ।

हामीसँग धर्म, राजनीति, अर्थतन्त्रलगायतका गुरु हुँदासम्म नेपाल राष्ट्र स्वर्ग थियो । अहिले सुनको कचौरा लिएर भिक्षाटनका लागि निस्कनुपर्ने अवस्था आएको छ । यहाँ कुनै पनि क्षेत्रमा गुरु पाउन गाह्रो छ । गुरुले विद्याको तन्तुलाई तन्काउन, जोगाउन र जगाउन सिकाउँछन् । हरेक ज्ञान र सीपको मलजल गुरुले गर्छन् । गुरु आज्ञाविना अघि बढ्दा दुर्योधन, बर्बरीको हालत हुन्छ । गुरु आगो हो, शिष्य सुन हो ।

हाम्रो ज्ञान, विज्ञान, ध्यान आदि हराउँदै जानाले हरेक विषयको जानकारी लिन पश्चिमालाई पुकार्नुपर्ने अवस्था आएको छ । यस्तो ज्ञान हराउनुमा गुरु परम्परा कमजोर भयो, गुरुकुल हराउँदै गयो । गुरुकुलमा अब आर्थिक अभावमा परेका, आरक्षण र संरक्षण नपाएकाहरु बस्ने स्थलजस्तो बन्दै गएको छ । केही गुरुकुल जातभातमा अल्झिएर पैतृक विरासतलाई भुल्दै छन् । केही गुरुकुल चलाउने नाममा व्यक्ति मोटाएका छन् तथापि केही गुरुकुलले पौरस्त्य ज्ञान, विज्ञान र प्रविधिलाई उजागर गर्दैछन् । अंग्रेजी नै पढ्नु र बोल्नुपर्ने रोगले गर्दा गुरु दुब्लाएका छन्, गुरुकुल खुइलिएका छन् । 

धर्मनिरपेक्ष भएपछि गुरुहरुको जरा उखलिएको छ, गुरुकुलहरुको मेरुदण्ड खुस्किएको छ । गुरुकुलले शिक्षा र संस्कारको, वंशकुलले परिवार र संस्कृतिको जर्गेना गरेको थियो । अहिलेसम्म गुरुकुलले अनाथलाई आरक्षण, असक्तलाई आश्रय, भोकालाई भोजन, भक्तलाई भजनका माध्यमबाट संरक्षण दिएको छ । गुरु नहुँदा ज्ञान ओइलिन्छ, संस्कार चाउरिन्छ, धर्म खुम्चिन्छ, परम्परा लर्खराउँछ ।

ज्ञानलाई बचाई राख्न, विज्ञानलाई फूलाई रहन, विवेकलाई जगाइरहन गुरु र गुरुकुलको अपरिहार्यता दिन प्रतिदिन बढ्दै गइरहेको छ । आर्थिक रुपमा सम्पन्न, पदीय रुपमा उच्च भएर पनि अहिले शान्ति छैन, आनन्द छैन, एक आपसमा विश्वास छैन किन कि हामीलाई परमात्मासम्म पु¥याउने गुरु छैन । नेपालले अनेकौँ गुरु, साधु, ऋषि जन्मायो । अनेक विधा र विद्यालाई हुर्कायो । यो सबै गुरु र गुरुकुलबाट सम्भव भएकाले गुरुपूर्णिमामात्र नमनाऊँ गुरुलाई जोगाउँ, गुरुकुललाई फैलाऊँ ।