• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   विद्यार्थी लिएर रारा गएको जिप दुर्घटना, १२ जना घाइते ★   सीता एयरको जहाजले ठक्कर दिँदा कर्मचारी घाइते ★   कैलाश सिरोहियामाथिको आरोप निराधार र त्रुटीपूर्ण छन्: विमलेन्द्र निधी ★   यस्तो देश जहाँ गाइको डकार र भेँडाको पिसाबमा कर तिर्नुपर्छ ★   हाम्रो शरीरले कति गर्मी सहन सक्छ ? ★   ‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्काले भने– वास्तविक जीवनमा नि छिट्टै विवाह हुन्छ ★   कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति ★   चलचित्र ‘फर्की फर्की’को प्रिमियरपछि कलाकार: ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’ ★   कोलकाताका सह–मालिक शाहरुख खान अहमदाबादमा अस्पताल भर्ना ★   किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण

व्यापार घाटा घटाउन मौलिक हस्तकलाको प्रवर्द्धन गरौ: राष्ट्रपति भण्डारी



यस प्रकारका व्यापार मेलाले उत्पादन र उपभोक्तालाई आपसमा जोड्नुका साथै नेपाली मौलिक हस्तकलाको प्रवर्द्धन गर्नमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्दछ ।

हस्तकलाका माध्यमबाट हाम्रो देशको प्राचीन सभ्यता‚ कला र संस्कृतिको संरक्षण एवं सम्बर्द्धन गर्नुका साथै नेपालको पहिचान एवं गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सकिन्छ । यस उद्योगको विकास र विस्तारबाट एकातिर मुलुकको विशिष्ट पहिचान स्थापित गर्न सकिन्छ भने अर्कोतिर हाम्रो आर्थिक‚ सामाजिक लगायत समग्र राष्ट्रिय विकासका लागि महत्वपूर्ण योगदान पुर्‍याउन सकिन्छ । यसका साथै‚ हस्तकला क्षेत्रले रोजगारी सिर्जनामा समेत महत्वपूर्ण भूमिका खेल्दै आइरहेको हुनाले यस उद्योगलाई नेपालका लागि तुलनात्मक लाभको क्षेत्र मान्न सकिन्छ ।

मुलुकभित्र उपलब्ध स्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्नु अत्यावश्यक छ । नेपाली श्रम‚ सीप र कच्चा पदार्थबाट नेपालमै उत्पादित सामग्रीहरूको निकासी प्रवर्द्धन गर्न सके मात्र हाल मुलुकले व्यहोरिरहेको चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिन्छ । तसर्थ‚ निकासीमा आधारित हस्तकला उद्योगको विकासबाट हामीले यो लक्ष्य हासिल गर्न सक्दछौँ ।

अन्तर्राष्ट्रिय बजारमा निकासी तथा आन्तरिक बजारमा हुने कारोबार समेत गरी वार्षिक करिब २४ अर्ब बराबरको योगदान हस्तकला क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा गरिरहेको छ । नेपालले हाल व्यहोर्नु परिरहेको व्यापार घाटाको सन्दर्भमा हस्तकला जस्तो निर्यातमूलक उद्योगले निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन गर्दै व्यापार सन्तुलन कायम गर्नका लागि विशिष्ट योगदान पुर्‍याउन सक्दछ ।

देशको सामुदायिक एवं सांस्कृतिक विविधतालाई समेट्ने नेपाली हस्तकलाका सामग्रीहरूलाई संसारमै पृथक नमूनाका रूपमा स्वीकार गरिन्छ । तथापि नेपाली हस्तकला उद्योगलाई व्यापक उत्पादनको तहसम्म पुर्‍याउन, हाम्रा उत्पादनहरूको माग अनुरुप आपूर्ति गर्न तथा थप बजार विस्तार गर्न यस क्षेत्रमा आबद्ध सबै पक्षको सामूहिक प्रयासको खाँचो रहेको छ ।

नेपाली हस्तकलाका धेरैजसो सामग्रीहरू हाम्रा विविध जातजातिको पुर्ख्यौली पेशा र सीपमा आधारित मौलिक उत्पादन भएकाले सहजै नक्कल गर्न नसकिने खालका छन् । यस प्रकारका उत्पादनको सुरक्षण अधिकार (पेटेन्ट राइट) लिने सम्बन्धमा समेत आवश्यक ध्यान पुग्नुपर्ने मैले ठानेको छु । यस प्रकारका परम्परागत सीप र उत्पादनलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै समय सापेक्ष विकास गर्न सबैको ध्यान जान आवश्यक छ ।

हस्तकलाका सामग्रीसहित स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्यले सरकारले सार्वजनिक खरिदमा १५ प्रतिशतसम्म महँगो भएपनि मान्य हुने स्पष्ट नीतिगत व्यवस्था गरेको छ । त्यसैगरी सार्वजनिक निकायले प्रयोग गर्ने मालसामान वा वस्तु खरिद गर्दा उपलब्ध भएसम्म स्वदेशी वस्तु नै खरिद गर्नुपर्ने बाध्यात्मक व्यवस्था पनि गरेको छ । यस प्रकारका नीतिगत प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न सके यसबाट स्वदेशी हस्तकला उद्योगको विकासमा टेवा पुग्न सक्दछ । वातावरणमैत्री विकास, दिगो आर्थिक प्रगति तथा समावेशी विकासका लागि नेपाली हस्तकला उद्योगको विकास र विस्तारका लागि सार्वजनिक नीतिहरू अझ अनुकूल र सहज बनाउन नेपाल सरकारको निरन्तर ध्यान जाने मैले अपेक्षा लिएको छु ।

नेपाली वस्तुहरू प्रयोगमा ल्याउनका लागि हामी स्वयं जागरुक भई आफ्नै उत्पादनको उपभोग गर्ने प्रचलन बसाल्न आवश्यक छ । नेपाली उत्पादनको प्रवर्द्धन कार्यमा विदेशमा विभिन्न पेशा र व्यवसाय गरेर बस्ने नेपालीहरूले समेत महत्वपूर्ण योगदान पुर्‍याउन सक्दछन् । यसका लागि सम्बन्धित पक्षले आवश्यक पहल गर्नु पर्दछ ।

हस्तकला उद्योगबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हजारौं व्यक्तिहरूले रोजगारी पाएको भएतापनि यस व्यवसायमा युवाहरुको आकर्षण बढ्न नसकेको तथा श्रमिकहरूको अभाव हुने गरेको गुनासो सुन्ने गरिएको छ । मुलुकमा विद्यमान बेरोजगारीको समस्यालाई समाधान गर्न एवं युवा जनशक्तिको पलायनलाई रोक्न यस क्षेत्रमा आवश्यक पर्ने सीपमूलक तालिम एवं व्यावसायिक शिक्षालाई पनि समान रूपमा प्रवर्द्धन गर्दै लैजान आवश्यक छ । प्रत्येक स्थानीय तहका मौलिक उत्पादनको पहिचान गरी सोहीअनुरुप शिक्षा र तालिम प्रदान गर्न सके हाम्रो युवा जनशक्तिका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने पक्षतर्फ सम्बद्ध सबैको ध्यान आकृष्ट गर्न चाहन्छु ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल हस्तकला महासंघद्वारा आयोजित १९औँ हस्तकला व्यापार मेला तथा १७औँ हस्तकला प्रतियोगिताको समुद्‍घाटन समारोहमा गर्नुभएको सम्बोधनको पूर्णपाठ