७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुबाको पहिचान नभएको खण्डमा केही लेख्नैपर्छ भन्ने छैन: कानूनव्यवसायी (भिडियो सहित)



अ+ अ-

काठमाडौं । बुबा वा आमा जो कोही एक जनाकोबाट वंशजको आधारमा निजका सन्तानले नागरिकता लिन पाउने जानकारहरुले बताएका छन् ।

अधिकारकर्मी एवं अधिवक्ता नेहा गुरुङले भन्नुभयो “आमा वा बाबु नेपालको नागरिक भएमा नेपालको संविधानले धारा ११ (२) ख मा आमा वा बाबु जसकोबाट पनि एक जनाकोबाट वंशजको नागरिकता लिन पाउने व्यवस्था गरेको छ । उहाँले भन्नुभयो संविधानले बुबा पहिचान नभएको हकमा आमाको नामबाट नागरिकता लिनुपरे भिन्नै व्यवस्था गरिएको छ ।”

उहाँले नेपालको नागरिक भएको खुल्ने कागजात पेस गरेको खण्डमा निजले आमाको नामबाट पनि वंशजको नागरिकता लिनसक्ने बताउनु भयो । उहाँले नेपालको संविधानमा बुबाको पहिचान नखुलेको व्यक्तिलाई नागरिकता दिँदा पहिचान नखुलेको भन्नेकुरा लेख्नैपर्ने प्रावधान नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको संविधानले के भनेको छ भने धारा ११ (२) ख हेर्ने हो भने आमा वा बाबु जसकोबाट पनि एक जनाकोबाट वंशजको नागरिकता लिनसक्छ । यदी आमा वा बाबु नेपालको नागरिक हुनुहुन्छ भने । हाम्रो संविधानले बुबा पहिचान नभएको हकमा आमाको नामबाट नागरिकता लिनुप¥यो भने भिन्नै व्यवस्था गरेको अवस्था छ । यसमा कानूनी प्रावधान भन्नुपर्दा बुबा नभएको अवस्थामा आमाको नामबाट नागरिकता लिने हकमा बुबाको पहिचान छैन भने त्यस्तो व्यक्तिले पनि आमाको नामबाट वंशजको नागरिकता लिन पाउँछ । बुबाको पहिचान छैन भने आमाको नामबाट वंशजको नागरिकता लिन मिल्छ । तर त्यो व्यक्ति नेपालको नागरिक हुनुपर्छ ।

नेपालमा नै बसोवास गरिरहेको हुनुपर्छ । बुबाको पहिचान छैन, नेपालमा नै जन्मिएको र नेपालमा नै बसोवास गरेको भन्ने पहिचान खुलाउनु पर्छ । सर्वोच्च अदालतमा पनि यसका धेरै नजिरहरु छन् । संविधानमा कतैपनि यो लेखिएको छैन की त्यस्तो व्यक्तिलाई नागरिकता दिँदा बुबाको ठाउँमा ठेगान नभएको, पहिचान नभएको लेखिदेउ भन्ने प्रावधान कतैपनि लेखिएको छैन । ऐनमा पनि के लेखिएको छैन भने बुबा पहिचान नभइकन लिइएको नागरिकको हकमा उसको जन्मदर्ता, नागरिकतामा त्यो ठाउँमा ठेगान नभएको लेखिनुपर्छ भन्ने व्यवस्था कतैपनि छैन । यदी अहिले बुबा पहिचान हुनुहुन्न भने नागरिकता लियो वंशजको आधारमा र भोलि गएर विदेशी हुनुहुन्छ भन्नेकुरा ठहरिने भयो भने वंशजको नागरिकता लिएको उक्त व्यक्ति अंगीकृतमा परिणत हुन्छ । तर भन्ने यो व्यवस्थालाई नै प्रयोग गरेर नागरिकता दिने क्रममा बुबाको पहिचान नभएको खण्डमा केही न केही लेख्नैपर्छ भन्ने अभ्यास हो । तर कानूनमा कतै छैन र नजिरले पनि आमाले जतिपनि डकुमेण्ट दिलाउन सक्नुहुन्छ त्यसको आधारमा नागरिकता दिनुपर्छ भन्ने छ ।’

अधिवक्ता गुरुङले नेपालमा व्यवहारिक रुपमा भने बुबाको पहिचान नभएको खण्डमा केही लेख्नैपर्छ भन्ने मान्यता रहेको बताउनु भयो । उहाँले कानूनमा बुबाको पहिचान नभएको खण्डमा पहिचान नभएको लेख्नैपर्छ भन्ने ऐन, कानूनमा व्यवस्था नरहेकाले कागजातको आधारमा नागरिकता दिन मिल्ने बताउनु भयो ।