९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

विवाहपञ्चमीका जन्ती महोत्तरीबाट जनकपुर प्रस्थान

विवाहपञ्चमीका जन्ती महोत्तरीबाट जनकपुर प्रस्थान
अ अ+ अ-

महोत्तरी । मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन् ।

आइतबार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात श्रीलक्ष्मीनारायण मठ मटिहानीको आतिथ्यता ग्रहण गर्दै आज बिहान जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका हुन् । रामजानकी विवाहमहोत्सवमा अयोध्याबाट जन्ती भई साधुसन्त जनकपुर आउने प्राचीन परम्परा हो ।

महोत्सवमा अयोध्याका अतिरिक्त भारतका विभिन्न ठाउँबाट साधुसन्त आउने गरेका छन् । केही दशक पहिलेसम्म मङ्सिर शुक्लपक्ष लाग्नासाथै प्रतिपदाकै दिन भारतीय साधुसन्त मटिहानी हुँदै नेपाल प्रवेश गर्थे । यो तालिकामा पहिलो रात मटिहानी, दोश्रो रात जलेश्वर , तेश्रो रात महोत्तरीकै सहोडवा र चौथो दिन जनकपुर पुग्ने चलन थियो । यसक्रममा दिवा र रात्रि भोजनका स्थल निर्धारित भएबमोजिम स्थानीयले अहोभावले स्वागत गर्दै भोजन, विश्रामको चाँजो मिलाउने परम्परा रहेको पिपरा गाउँपालिकाको बनौली गाउँका ६५ वर्षीय वैद्यनाथ चौधरी सम्झनुहुन्छ ।

यो पुरानो परम्परा भने अब हराउँदै गएर केही साधुसन्त पञ्चमीको एक दिनपूर्व मटिहानी पुग्ने र महोत्सवको मुख्य दिन पञ्चमी तिथिमा जलेश्वर हुँदै जनकपुर जान थालेका छन् । मान्छेको व्यस्तता बढेर पुरानो पुस्ताको अनुशरण हुन छाडेको छ । मेला उत्सवको आकर्षण घट्दै गएर सिमित सङ्ख्याका साधुसन्त र सर्वसाधारण श्रद्धालु आउने गरेका यात्राको बाटो क्षेत्र (मटिहानी–जलेश्वर–पिपरा–जनकपुर) का बासिन्दा बताउँछन् । कतिपय भारतीय साधुसन्त त आज नै सीमा नाकाबाट नेपाल प्रवेश गर्दै सोझै जनकपुर पुग्दैछन् । पछिल्लो कालमा मेलाउत्सवको भीडभाडमा असुरक्षाभाव बढ्दै गएर पनि महोत्सवमा उपस्थिति पातलिदै गएको जलेश्वर–१० सारीकी सामाजिक कार्यकर्ता प्रियङ्का ठाकुर बताउनुहुन्छ ।

विगत दुई वर्ष (२०७८,२०७७)  कोभिड–१९ महाव्याधि सन्त्रासले नेपाल–भारत सीमा नाकामा आवतजावत ठप्प हुँदा भारतीय साधुसन्त महोत्सवका लागि नेपाल आएनन् । यसपालि विवाहपञ्चमी महोत्सवकै बेला यहाँको आमनिर्वाचनको मतगणना कतिपय ठाउँमा जारी नै रहँदा राजनीति सरगर्मीले विवाहपञ्चमी पर्वको चासो कम देखिएको यताका सर्वसाधारणको भनाइ छ ।

जनकपुरधाममा सप्ताहव्यापी मनाइने रामजानकी महोत्सव त्रेता युगमा अयोध्या नरेश दशरथ पुत्र श्रीराम र मिथिला (विदेह) का राजा शिरध्वज जनककी पुत्री सीताको मङ्सिर शुक्ल पञ्चमी तिथिका दिन विवाह भएको सम्झनामा मनाउँदै आइएको हो । हिन्दू परम्परामा श्रीराम विष्णुका अवतार र मर्यादा पुरुष्वत्तम कहलिन्छन् भने सीता लक्ष्मीकी अवतार र आदर्शनारीका रुपमा पूज्य छन् ।

जनकपुरधाममा सम्पन्न गरिने महोत्सवको साप्ताहिक तालिकामा जनकपुर दर्शन, फुलबारीलीला, धनुष भङ्ग र स्वयंवर, तिलकोत्सव, मटकोर, विवाह र रामकलेवा विधि छन् । विवाहको भोलिपल्ट रामकलेवा विधिका दिन जन्ती भई आएका भारतीय साधुसन्तलाई मिष्टान्न भोजन गराई वस्त्राभूषण र दक्षिणा दिएर विदाइ गरिने चलन छ । यी सबै विधिका मुख्य आयोजक जानकी मन्दिर व्यवस्थापन हो ।

विवाह महोत्सवमा जानकी मन्दिरका महन्थ राजा जनकको र जनकपुरकै राम मन्दिरका महन्थ राजा दशरथको भूमिकामा हुन्छन् । समारोहमा मैथिल परम्पराअनुसार जन्ती र घरगाउँले तथा सम्धीसम्धीबीचको हाँस ख्यालठट्टा सहभागीका लागि मनोरञ्जक हुने गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) का साहित्य विषयका सहप्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।

प्राचीन मिथिलाको विवाह पद्धति, चालचलन र रीतिथिति सम्झाउने यो सांस्कृतिक पर्वको शाख ओइल्याउन दिन नहुने पाका मैथिलको भनाइ छ । यसका लागि नयाँ पिढीका मैथिल युवाले अग्रसरता लिनुपर्ने महोत्तरीकै बलवा नगरपालिकाको धमौरा बस्तीका बासिन्दा मैथिल संस्कृति र परम्पराका जानकार ७० वर्षीय कामेश्वर झाको सुझाव छ । रासस