२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

बूढो कथाकार

बूढो कथाकार
अ अ+ अ-

समस्या यो थियो, सम्पादकले ढिलो म्यासेज पठाए । आदर्शले लेखेका सबै कथा ठाउँठाउँ दिइसकेका थिए । एकदुईवटा कथा बाँकी थिए ती कम्प्युटर बिग्रेपछि हराए । डेस्कटपमा थिए, सेभ हुन सकेनन् । एउटा खुसीको कुरो यो थियो, सम्पादकहरू कथा माग्न उसलाई अझै पनि खोजिरहेछन् । कथाप्रति उनी संवेदनशील छन्, कथा लेखनप्रति । अरू लेख्न उनलाई आउँदैन ।

एकदुईपटक उपन्यास लेख्ने प्रयास गरेका पनि थिए तर व्यर्थ । निष्कर्षतः उनले कथालेखन नै ठीक छ भन्ठाने र यतैतिर सीमित भए । कथा उनीसित थुप्रै छन् । माने थिए तर ती पछि सबै विषयगतरूपमा काम लाग्ने देखिएनन् । पहिलेपहिले त उनले कथा यसरी लेखे मानौँ सानो बच्चाको हातमा रङ्गीन पेन्सिल र कोरा कापी दिएर छाडिएको छ । केही लेख्ला भन्ने आश त थिएन । बच्चोले केरकार गरेर कापी नै बिगारिदियो । कथालेखन पनि उनका लागि त्यस्तै भइदियो । भन्ने हो भने, यो कथा पनि त्यसै कोटीमा पर्ने देखिएको छ । तै, प्रयास जरुरी छ । भनाइ पनि छ, लाटाको खुट्टा बाटोमा कहिलेकाहीँ परिहाल्छ ।

कथाप्रति उनी संवेदनशील छन् । कथालेखनप्रति । संवेदनशीलताले कथा त बन्दैन । नबने नबनोस्, कम्प्युटरको अगाडि बसिएको छ भनेपछाडि केही त लेख्नैपर्यो । केही नभए आफ्नै विषयमा । आदर्श बूढाले यस्तो सोच्नुपर्ने खण्ड थियो । उनी आफैँ कथानायकभन्दा कम थिएनन् । कथानायक भन्नाले ? अहिले जुन ठाउँमा उनी बसेका छन्, उनलाई धेरेले एउटा बूढो मानिसको हैसियत दिन्छन् । बूढो हुनु कम कष्टकर छैन ।

बूढो भएपछिका कष्टका कुरा उनी गरिरहेछन् । उनी कहिले बूढो भए ? यसको उनलाई हेक्का छैन । उनी आफूलाई बूढो मानिहाल्दैनन् । के गर्न सकिन्छ ? समयलाई उल्टो घु्माउन सकिन्न । टाइम मेसिनको कल्पना त गरेका छन् तर त्यसको आविष्कार हुनसकेको छैन । आदर्श एउटा यस्तो नाम उनका आमाबाबुले दिए । चिनाको नामै अर्कै छ । यसले उनी बूढा हुन् भन्ने जनिँदैन । आदर्श कुनै तन्नेरीको नाम हुनसक्छ । चिरयुवा । उनी स्वयम् यो सोच्छन्- आदर्श ? यो नामले मानिस सदाकाल तरुण ठहरिन सक्छ । नामैमा जादु छ । होइन, नामै काफी छ, यस्तो भनाइ छ विज्ञापनहरूमा ।

उनको व्यक्तित्वको के विज्ञापन हुनसक्छ ? कौसीमा उभिए भने छेउछाउकाले यो मान्न सक्छन्, जाने यात्राको दूरी नापिरहेछ । आँखा कमजोर छन् । टाढा हेर्ने चस्मा त छ तर हातको ओत लगाएर टाढा हेर्छ । त्यो देखेर मानिसहरू यो भन्ठान्छन्, यो बूढो कौसीमा उभिएर जानु्पर्ने यात्राको अनुमान लगाइरहेछ । अनुमान लगाउनुपर्ने जस्तो केही थिएन । मानिसहरू यो सुनिश्चितिमा थिए, बूढाको नम्बर लागिसकेको छ । तैपनि जीवट छ बूढो, कौसीमा निस्केर यात्रा नापिरहेछ ।

आदर्शलाई यसको खास चासो छैन । कसले के भन्छ, छरछिमेककाले । सय थरीका सय थरी कुरा । होइन कुरा एउटै छ । बूढो । सय थरी पाइला एउटै चाल । त्यस्तैत्यस्तै छ । मानिसहरू उत्सुक छन् बूढो किन छ र के गर्दैछ ?भूमिका लामो भएको छ तर चाहिन्छ । कथा नत्र कसरी लामो बनाउने ? कथा ? बूढा कथा लेख्दैछन्, मस्तले । यो उनी अनाउन्स गर्न चाहन्छन् । अरे भाइ, तपाईंहरू मेरा कथा खोजेर पठन गर्नुहुन्न नत्र जीवनका विविध पक्षका अनुभवको विवरण पढ्न पाउनुहुन्थ्यो ।

आदर्श बूढा गफ दिइरहेछन् । उनलाई जीवनका के विविध अनुभव हुनु नि । कथा भनेर लेख्छन्, गफ मात्र । गफको पनि आफ्नै स्वाद ह्न्छ । एउटा एड्भेन्चर जस्तो । गफ कहाँ पुग्छ ? त्यसको रोचक पर्खाइ । बूढाका गफमा त्यस्तो केही हुँदेन । कममा पनि प्रेमप्रसङ्गको रोचकता हुनसक्थ्यो । बूढाको प्रेमप्रसङ्ग नै छैन । बूढाले सोझै भन्छन्- पन्ध्र वर्षमा मागिबिहे भयो । बिहेपछि प्रेम गरिएन ? त्यसबारे बूढा मौन बस्छन् ।

मानौँ कुनै ठूलै रहस्य छातीमा राखेर माथितिर जाने हुन् । छातीमा हालेर केही लैजानु छैन भन्ने भनाइको विरोधमा पथ्र्यो यो । तैपनि । प्रेमप्रसङ्ग थियो भने पनि कुनै गाडधन जसलाई उनी कसैलाई देखोउन चाहन्नन्, त्यस्तो भान पार्थे ।

वास्तवमा अहिले बूढा कम्प्युटरमा बसेका छन् । कम्प्युटरमा कथा नहुनु यो नितान्त असम्भव छ । केही टाइप गरिरहेछन्, लेख्नलाई केही गहिरो कुरो छ भनेझैँ । केही पङ्क्ति टाइप गरेर उनले त्यसलाई सेभ नगरी डिलिट गरिदिन पनि सक्छन् । त्यतिखेरै कतैबाट फोन आयो भने उनले त्यो उठाउँदैनन् । एकपटक ‘माफ गर्नुहोला तपाईंले सम्पर्क गर्न खोज्नु्भएको नम्बर व्यस्त छ’ भन्ने गराएरै छाड्छन् । उनको सिद्धान्त पनि छ, चाहिएकाले अर्कोपटक पनि फोन गर्छ ।

चाहिए पटकपटक गर्छ । व्यस्त हुनुको एउटा बहाना । यताको फोन नउठाएपछि त्यो स्वतःसिद्ध ह्न्छ, उताको मान्छे व्यस्त छ । पहिलो घन्टीमै फोन उठाएर हेलो गर्नाले मान्छे फोन नै कुरेर बसेको रहेछ भन्ने सन्देश जान्छ भन्छन् बूढा । बूढा आदर्शलाई यो भ्रम छ, फोन नउठाएमा ठूलो मान्छे भइन्छ । बूढो त भइसकियो अझ कति ठूलो मानिस हुने ? उनलाई कसैले ‘बा फोन किन नउठाएको’ भनेर सोधिहालेमा भन्छन्, ‘उठाएर भन्दे घरमा छैनन् ।’ कसैले बूढाको फोन उठाउँदैन । भएर पनि छैन भन्नुको अर्थ सोच्न राम्रो मान्दैनन् उनीहरू । घरैमा भएर पनि छैनन् भनिदिनू ? बूढासँग धेरैहरू असहमत छन् यसमा ।

त, कम्प्युटरमा टङ्कण चलिरहेछ । आदर्श कथा लेख्ने प्रयासमा छन् । कथाकारको नाताले यस्तो मानिन्छ, उनीसँग कथाहरू छन् । अहिले उनी कथा त लेखिरहेछन् आफैँलाई पात्र बनाएर । कथा भइरहेको छैन । आफूलाई अचानोमा राखेर गिँड्ने प्रक्रिया जस्तो हो यो । गिँडेर के निस्कने हो र ? घामले पाकेजस्ता छन् बूढा । यो भनाइ उनी आफूप्रति व्यङ्ग्य गर्दा सोच्छन् । तैपनि केही उनको मान्यता त छ । कथा माग्छन्, सम्पादकहरू । दिनको एउटा कथा उनले लेख्न सक्नुपथ्र्यो । औँलाहरू कीबोर्डमा क्द्न सकसकाइरहेका त हुन्छन् तर कुदेर जाने गन्तव्य छैन । अक्षरहरू पिटिरहेछन् केही निस्केला भन्ने आशमा ।

एक दिन बूढा कीबोर्डमाथि घोप्टिएर रोइरहेथे । घरकाहरूमा खैलाबेला मच्चियो । कममा पनि रोइरहेको त छन् । उनीहरू यो आश गर्दा हुन्, अन्त्यमा कीबोर्डमाथि घोप्टेको घोप्ट्यै हुनेहुन् कि ? रोएको ठीकै छ । रुनु किन पर्यो ? भरापूरा परिवार छ र केही कुराको अभाव छैन । यसरी रुनुको अर्थ के ? नाटक गर्छन् बूढा । उनी कम्प्युटरमाथि घोप्टो परेर रोइरहेको देखेर एउटा अलि प्यारो नातिले सोध्यो-  ‘हजुरबा कम्प्युटर बिग्रियो ?’ कम्प्युटर बिग्रेमा बनाउन उसले लैजान्थ्यो । बिचौलियाझैँ राम्रै रकम कुम्ल्याइहाल्थ्यो । ‘मुलुक बिचौलियाले खाए ।’ ब्ढालाई यो थाहा हुँदैनथ्यो, उनले कटु सत्य बोलिरहेछन् । नाति तर्सन्थ्यो, कतै हजुरबाले थाहा त पाएनन्, उसले कम्प्युटर मर्मत गर्दा निकै ठूलै रकम खाएको । मुलुकै खानेमा नाम दर्ज हुने हो कि ?

बूढा आदर्शका अन्य संस्मरणयोग्य प्रसङ्ग कमै छन् । बुढेसकालको संस्मरणयोग्य घटना यो थियो, कम्प्युटरमाथि घोप्टो परेर रोएको । यही एउटा प्रसङ्गलाई उनी निकै तन्काएर उल्लेख गर्न चाहन्थे । कथाको मुख्य थिम नै यसैलाई बनाउन चाहन्थे । क्वाँक्वाँ रोएका त होइनन् तर एकदुईपटक सुँक्कसुँक्क गरेका हुन् । अरू घटना सोचेर साध्य छैन । बिहान कौसीबाट उनी मर्निङ्वाकमा निस्कने स्त्रीहरूमाथि आँखा गाड्थे । आँखा गाड्थे भन्नुभन्दा हेर्थे भन्नु उपयुक्त हुन्छ । आँखा निष्तेज थिए । ती स्त्री- गृहिणीहरूमा लायककी कोही छ कि भनेर निरीक्षण परीक्षण पनि गर्थे । सबै विशुद्ध गृहिणीजस्ता देखिन्थे । कसैमा लावण्य हुँदैनथ्यो । सबै छोराछोरी हुर्काउनमा तन्मय र पतिको अनवरत सेवा गरि रहनाले लखतरान परेजस्ता । कोही त यस्तो देखियोस् जसलाई हेरेरमन हरियो भइजाओस् । बूढामनमा एउटा भय लिएर कौसीबाट हट्थे । कतै बिहान बिहानै आँखा सेक्ने काम गर्छ बूढो भन्ने आरोप नलागोस् । मर्ने वेलामा यो कलङ्कको कात्रो ओढेर जान नपरोस् ।

आदर्श बूढाले आइमाईका कुरा झिकेर प्रसङ्गान्तर गर्न खोजेनन् । अरू छाडौँ, मुख्य प्रसङ्ग यही थियो- बूढा कम्प्युटरको कीबोर्डमाथि घोप्टो परेर रोइरहेछन् । नाति छेउमा उभिएर सोधिरहेछ- ‘हजुरबा, के भो ? कम्प्युटर बिग्रियो ?’ घरकाहरूलाई यो भय पनि थियो, कम्प्युटर बिग्रैकै रहेछ भने केही रकम खर्चनु पर्नेछ । बूढा छन् कि यो कम्प्युटर छ । त्यो पनि बूढो भइसकेको छ । कम्प्युटरको व्यस्तताले बूढालाई एक ठाउँ जमेर बस्ने गराइदिन्छ नत्र घरभरि डुलेर अनेक फत्तुर थाप्न भ्याउँछन् । त्यसैले ‘चाँडै कम्प्युटर बनाएर ल्याइदेओ’ भनेर घरका जति सबै कराउँछन् । पैसा पनि सहजै उपलब्ध गराउँछन् । बिचरा कम्प्युटर ! बूढाको त्यति चिन्ता गर्नु छैन, जति उनको कम्प्युटरको ।

नातिले घचघच्याएर सोधिराखे पछि बूढाले कीबोर्ड माथिबाट टाउको उठाए । आँखा राता भएका थिए । बूढाको बायाँ आँखा बढी रातो हुन्छ । रोए पनि नरोए पनि । आफैँ भन्छन्- ‘कम्प्युटरले आँखा खाने भो ।’ बायाँ कि दायाँ ? उनले त्यो खुलस्त गरेनन् । कसैले यसमा खासै यसो उसो भन्दैन । यति चाँडै आँखा गइहाल्ला ? राता आँखा भए पनि काला आँखा भए पनि कम्प्युटर चलिरहोस् । घरमा शान्ति रहन्छ ।

बूढाले अन्यमनस्क हुँदै भने- ‘केही होइन, म किन रोएछु आफैँ लाई थाहा छैन ।’ बूढाको यो जबाफ अस्वाभाविक थियो । आफूले टाइप गरेको एकएक अक्षर केलाएर प्रुफिङ् गर्नसक्नेले किन रोएछु भन्ने थाहा नपाउनु, यो त भएन । प्रुफ रिडिङ् सकिएपछि बूढा खितित्त हाँस्छन् । लडाइँ जितेझैँ । अहिले म किन रोएको भन्ने थाहा छैन भन्नु सरासर ठगी थियो । रुनुको भित्री कारण केही हुनसक्थ्यो । नभनेसम्म थाहा पाउन सकिन्न । कोरानाको भयले सताएदेखि मनोविमर्श गर्न सकिन्छ भनेर प्रचारमा त छ । बूढालाई कोरोनाले छोपेकै छैन । कोरानाको भय पनि छैन, स्टे होम, स्टे सेफ ।

कोरोनाको महामारीबीचमा बसोबास भएझैँ ‘मनोबल उच्च राख्नोस् बाबा’ भनेर जेठो छोरोले भनेकोभन्यै गर्छ । बूढा केही जबाफ दिन्नन् । ‘यति वर्षसम्म मनोबल उच्च राखेर तिमीहरूलाई हुुर्काएँ- बढाएँ’ भिनिदिऊँ भन्ने झोँक पनि नचल्ने होइन । आफ्नै सन्तानले वक्र मानसिकताका रहेछन् हाम्रा बा भन्ने हुन् कि ? यस कोरोनाको महामारी त उति वेला हाम्रा पालामा थिएन । के जबाफ दिनु ? ‘हुन्छ हुन्छ । मलाई थाहा छ’ भन्दैबूढा जानिफकारले झैँ टाउको मात्र हल्लाउँछन् ।

त, यो रुनु जो छ, त्यसको कारण उनले खोलेनन्, बायाँ आँखा बढी रातो भए पनि। त्यस आँखाले बढी रातो भएर यो देखाइरहेथ्यो, बूढा अवश्य रोएका हुन् । रोएर मात्र कारण खुल्दैन । बच्चो नरोई आमाले दूध पनि चुसाउन्नन् भन्ने बूढालाई थाहा थियो । यति वेला आमा सम्झेर पनि साध्य थिएन । आमाले चुसाएको दूधको कुरो त परै । नातिले पनि ढिपी कसेजस्तो थियो । हातमा आउन लागेको धेरथोर रकम फुत्किने डर भएको छ ।

सोधेको सोध्यै गर्न पनि सकिरहेको छैन । बूढाभन्न अबेर लाउँदैनन्- ‘तेरा बाको खप्पर देख्दैनस् !’ भनेर । निम्नकोटीको भाषा प्रयुक्त नगरे पनि टार्न ‘अरे यार, हेरिलेन, तेरै अगाडि त छ’ भनेर भनिदिन सक्छन् । यसो भनेर बूढा चुप लाग्न सक्छन् । अनि उठेर बाहिर कौसीमा उभिन जान सक्छन् । उनीबाट वेलावेलामा स्पष्ट जबाफ आउने गर्दैन । खान बसेर थालमा भात थपिदिने हो कि होइन भनेर भान्सेले सोधिराखेको हुन्छ तर बूढा जबाफ दिन अनकनाइरहेका हुन्छन् । यो तय गर्न सकिरहेका हुँदैनन् भात थपेपछि तुर्न सकिने हो कि होइन, भात नथपुँ भने आफू अघाए जस्तो लागिरहेको पनि छैन । यस्तो दुबिधाले उनलाई गाँजेको हुन्छ । गाउँबाट पढाइदिने भनेर ल्याइएको ठिटो जो पढेर हुर्केर ठूलै भए पनि घर छाडेर जान सकेको छैन, त्यो भान्से पन्युँमा भात लिएर जबाफ पर्खिबसेको हुन्छ ।

कम्प्युटर बिगे्रका ठहर हुँदैन । बूढाले कम्प्युटर बिग्रेको भए तीनचारचोटि त के कहिलेकाहीँ कीबोर्डमाथि मुड्की नै बजार्दै चिच्च्याएर भन्ने थिए- ‘ब्रान्डेड कम्प्युटर ल्याइदेओ भनेको टेरे पो । यो थोत्रो…’ बूढाचिच्याएको तिखो हुँँदैहुँदैन । एउटा याचनाजस्तो केही टिठ त्यसमा मिसिएको हुन्छ । ब्रान्डेड ल्याइदिने त थिए । बूढाले जेजे टाइप गरेर कताकता पठाउँछन् त्यो कसैले देख्न- पढ्न पाउँदैन न त्यसबापत केही रिटर्न पनि आउँछ । त्यसैले यै थोत्रो ठीक छ । माथिबाट यो नाति पनि छ, जसले ब्रान्डेड कम्प्युटर ल्याएमा आफैँले हजुरबालाई फकाइवरि अधीनस्थ गराउने विचार गरेको छ । ब्रान्डेडतिर कसैको सोच गएको

छैन । बूढा रोए । बान्डेड नलाइदिएकोले ?यो अनिष्ट हुने लक्षण हो कि भनेर सबैको मनमा त्रासले ठाउँ लियो । बूढा हेर्नमा सिँगाने वा लुरे अशक्त थिएनन्, सुकिला फूर्तिला थिए । त्यति भए पनि आज उनका आँखामा आँसु थिए । आँसुसिक्त आँखाले उनलाई कोही मलाई बचाओ भन्ने याचना गरिरहेको तुल्याइरहेथ्यो । कसैले अगि सरेर केही भनेन । नाति पनि अलि तर्सियो । बूढा आँखामा आँसु लिएरै हाँसे । दाँत छिद्रा परेको थिए । बूढा साँझबिहान नियमित मन्जन गर्थे यद्यपि उनको सास गनाउँथ्यो, जति मन्जन गरे पनि । मात्र कति राहतको विषय थियो भने, बूढा कसैको छेउ पर्दैनथे । फोनैमा पनि धेरै बोल्दैनथे । नातिलाई थाहा थियो । कहिलेकाहीँ भनिदिन्थ्यो- ‘हजुरबा, हजुरको सास आज बढी गनाएको छ ।’ बूढाअलि सतर्क हुन्थे । गर्न केही सकिँदैनथ्यो । साँझ यो गनाउने सास सम्झेर अलि बढी च्यापेर दाँतमाथि ब्रस दल्थे ।

बूढा कम्प्युटर छाडेर उठे । बाहिर कौसीमा राखेको मेचमा गएर बसे । मन अलि खिन्न थियो । अवसाद उनी पाल्दैनथे । आज केहीबेर उनलाई अवसादले पनि च्याप्यो । यति वर्षसम्म उनले यो सत्य अनुभूत गर्नसकेका रहेनछन् । आज एकाएक भयो । एउटा दुर्घटना जस्तो । अकस्मात् उनले त्यो साक्षात्कार गरे । बूढाले स्वयम्लाई भने- ‘यो विषयलाई अतिरञ्जित गर्नु छैन ।’ विषय के थियो ? उनले कसैलाई भनेकै छैनन् । अरूले पनि धेरै कोट्ट्याएर सोधेनन् । बूढाहरू कहिलेकाहीँ मानसिक तनावमा हुन्छन्, स्वतः रुन थाल्छन् । यस्तो धारणा लिए सबैले । यो सोचेर बूढा अलिकति फिस्स हाँसे । उनी रुनुको विषय भन्नलायक पनि थिएन । अप्ठ्यारो ठाउँमा घिउकमिलाले चिलेको पनि होइन । बूढाले आफूलाई सम्हाले । कथा आफ्नै थियो । कथामा पात्र पनि उनै थिए । तसर्थ उनले कथा धेरै लम्ब्याउन चाहेनन् । अरू लम्ब्याइरहन उनलाई जाँगर पनि चलेन । आफ्नै दुखेसो कति लेख्नु  ? विषय र पात्र उनै थिए ।

तर विषय के थियो ? यो थाहा भयो, पात्र त उनी आफैँ थिए । तर विषय ?कौसीमा बसैकोबस्यै उनले यताउता हेरे । चारैतिर हेर्न उपयुक्त मानेनन् । यताउति हेरे मात्रै पनि उनलाई घरका कसैले चियो गरेर हेरिरहेको त छैन भन्ने थाहा हुन्थ्यो । उनी नै घरको मुख्य पात्र थिए । अझ आज रोएको देखेर त उनलाई हिरोको दर्जा दिएका थिए कि ? हिरोहरू कमै रुन्छन् तर भिलेनहरू बढी रुवाउँछन् । यसरी रोएकोमा नातिले कहिले कुरीकुरी भनेर गिज्याउने छ भन्ने उनलाई लागिरहेथ्यो । विषय के थियो रुनुको त्यो उसलाई पनि थाहा हुने थिएन । उनी भन्नै चाहँदैनथे । भनेर पनि फाइदा छैन । लाभहानिभन्दा पनि त्यो नितान्त व्यक्तिगत कुरो थियो । कसैलाई भने पनि उनीहरू बुझ्न सक्छन् भन्ने उनलाई किमार्थ विश्वास थिएन । घरकाहरू उनलाई माया गर्थे र आदर पनि । ‘सम्मान’ उनले यसमा जोड्न आवश्यक ठानेनन् । तर उनको यो समस्या बुझ्ने समझ घरकाहरू राख्न सक्दैनथे, आवश्यक पनि थिएन । यो सोचेर उनी अलि हल्का भए । मन हलुङ्गो भयो ।

आफूलाई धेरै महत्त्व दिएका कारणले त्यसरी रुनु परेको पो हो कि भन्ने उनमा विचार आयो । बूढा त्यसमाथि पनि घोइरिए । धेरै महत्त्वाकाङ्क्षी भएर पो हो कि ? सबै कुरा हुनसक्छ । हुननसक्ने केही छैन । मानिसको मन न हो । उनले सोचे-  यसरी म कथालाई तन्काउँदै छु । एकपटक एकजना सम्पादकले भनेको थिए- ‘कथा छोटोमा लेख्नोस्, धेरै तन्काउने होइन ।’ कथा चाहियो भनेपछि अलि तन्काएर लेखिदिए उपयोग गर्न सजिलो हुन्छ । बूढाको धारणामा कथा भनेपछि अलि लामो गरी तन्काइएको हुन्छ भन्ने छ र त्यसैलाई सम्पादकहरू मान्यता दिन्छन् । गाँस हाल्नुहाल्नु अलि ठूलै गाँस हाल्नु ।

बाहिर पानी परिदियो । यो वर्ष मनसुनले बढी समय लिएको छ । बाढीपहिरो, धनजनको क्षति । यो अर्कै विषय हो तापनि यसले समाचार हेरपिच्छे मन खिन्न बनाइरहन्छ । बूढाले सोचे, उनी रोए किन ? बाढीपहिरोमा परेर स्वजन र तिनका घर बगाएकाले पनि होइन । संवेदनशीलता त्यसका लागि पनि चाहिन्छ । उनी किन रोए ? उनलाई सम्झन अलि लाज पनि लाग्यो । तर मनमा एउटा कुरीकुरी पनि भइरह्यो, कथा लेख्न सकिएन भनेर त्यसरी एक्कासि रुनु किन ? कथा न हो । आज नआए भोलि आउँछ । बूढाको मनमा यो डर थियो, कथा अब लेख्न सकिन्न कि ?