एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले लिड्स युनाइटेडलाई उसकै मैदानमा ४-२ गोलले पराजित गरेको हो ।
खेलको ३४ औं मिनेटमा ह्यारी म्यागुएरले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा ब्रुनो फर्नान्डेजले गोल गर्दै म्यान्युको अग्रता दोब्बर पारे ।
तर, खेलको ५३ औं मिनेटमा रोड्रीगो मोरेनो र ५४ औं मिनेटमा राफिन्हाले गोल गर्दै लिड्सलाई २-२ को स्थितीमा ल्याए ।
यता, खेलको ७० औं मिनेटमा फ्रेडले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई ३-२ को अग्रता बनाए भने ८८ औं मिनेटमा एन्थोनी एलांगाले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई ४-२ गोलको जित दिलाए ।
जितसँगै २६ खेलबाट ४६ अंकसहित म्यान्चेस्टर युनाइटेड तालिकाको चौंथो स्थानमा रहेको छ भने लिड्स २४ खेलबाट २३ अंकसहित १५ औं स्थानमा रहेको छ ।
यस्तै आइतबार राति नै भएको अर्को खेलमा लेस्टर सिटी वल्भ्ससँग २-१ गोलले पराजित भएको छ ।
खेलको नवौं मिनेटमा रुवेन नेभीसले गोल गर्दै वल्भ्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।
४१ औं मिनेटमा एडेमोला लुकम्यानले गोल गर्दै लेस्टरलाई १-१ को बराबरीमा ल्याए ।
तर, खेलको ६६ औं मिनेटमा ड्यानियल पोडेन्सले गोल गर्दै वल्भ्सलाई जित दिलाए । जितसँगै २४ खेलबाट ४० अंकसहित वल्भ्स तालिकाको सातौं स्थानमा रहेको छ भने २३ खेलबाट २७ अंकसहित लेस्टर सिटी तालिकाको ११ औं स्थानमा छ ।