२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

धानका बालामा चामलभन्दा भुस धेरै



अ+ अ-

मलेखु । यतिबेला सबैतिर धान काट्ने चटारो छ । पाकेको धान भित्र्याउने र अर्को बाली लगाउनका लागि माटो तयार गर्न किसानलाई भ्याइनभ्याइ छ । तर, धान काट्ने बेला धादिङ नीलकण्ठ नगरपालिकाका किसान भने चिन्तामा छन् ।

धानको बालामा भुस मात्रै फलेपछि धादिङ नीलकण्ठका किसान चिन्तित बनेका हुन् । झट्ट हेर्दा झपक्कै धान फलेको जस्तो देखिए पनि बालामा चामल नफलेको किसानहरुको भनाइ छ ।

नीलकण्ठ नगरपालिका(७ को हाँडीखोला आसपासका करिब ६५ रोपनी पाखा खेतमा लगाएको धान बिग्रिएको स्थानीय किसान विष्णुलाल श्रेष्ठले बताउनुभयो ।

नीलकण्ठ नगरपालिका कृषि शाखाबाट अनुदानमा लिएको सावित्री र सुख्खा(२ जातको धानमा चामलको खाना नलागेको हो । अहिले धान झुल्ने बेला आधाभन्दा धेरै बालामा चामल नफलेपछि किसानलाई खाद्यान्न सङ्कट पर्ने चिन्ताले सताउन थालेको छ ।

“फूल खेल्ने बेलासम्म बोट राम्रै थियो, धान राम्रो फल्नेमा ढुक्क थियौंँ,” श्रेष्ठले भन्नुभयो, “तर, अब वर्षभरी खान पनि नपाइएलाकी भन्ने डर भयो ।”

धान उत्पादन कम हुने भएपछि किसानहरुले क्षतिपूर्ति अथवा राहतको अपेक्षा गरेका छन् । ६ महिना दुःख गरेर लगाएको धानमा चामलको साटो भुस फल्दा परिवार धान्न गाह्रो पर्ने चिन्ता किसानलाई छ । बालामा चामल नफलेकोबारे धान झुल्ने बेला मात्रै थाहा पाएको किसानको भनाइ छ ।

२० प्रतिशत पनि उत्पादन लिन नपाउने अवस्था सिर्जना भएको किसान इन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । कृषि प्राविधिकहरुले भने प्राविधिक कमजोरीकै कारण धानमा रोग लागेको बताएका छन् ।

धान पाक्ने बेला मात्रै रोग देखिएकोले उपचारसमेत सम्भव नभएको कृषि प्राविधिकको भनाइ छ । यो रोगबाट बाली बचाउन सुरुदेखि नै माटोको उपचार गर्नुपर्ने नीलकण्ठ नगरपालिकाका कृषि शाखा अधिकृत समुद्र श्रेष्ठले बताउनुभयो ।