५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभाले बिजनेस पाएन



अ+ अ-

काठमाडौं । पहिलो पटक प्रतिनिधि सभा विघटन भएपछि २०७७ फागुन ११ गतेको सर्वोच्चको फैसलाबाट पुनस्र्थापित भयो । अदालतको आदेशअनुसार फागुन २३ बाट प्रतिनिधि सभाको अधिवेशन आह्वान भयो । करिब डेढ महिना चलेको अधिवेशनमा सदनले बिजनेस पाउन सकेन ।

पहिलो बैठकमै पेस हुनुपर्ने अध्यादेशसमेत राजनीतिक दलहरूको विवादका कारण पेस भएनन् । परिणामस्वरूप वैशाख ६ गते अधिवेशन नै अन्त्य गरियो ।

दोस्रो पटक विघटन भएको प्रतिनिधि सभा पनि अदालतले पुनस्र्थापना गर्यो । सङ्घीय संसद्का दुवै सदनको अधिवेशन साउन ३ देखि चलिरहेका छन् तर चालू अधिवेशनमा पनि प्रतिनिधि सभा भने बिजनेसविहीन छ । राष्ट्रिय सभाले पछिल्ला दुई बैठकमा अघिल्लो सरकारले अगाडि बढाएका र समितिमा सहमतिसाथ अगाडि बढेका विधेयकलाई कार्यसूची बनाएको छ । अन्य बैठकमा भने राष्ट्रिय सभा पनि बिजनेसविहीन नै थियो ।

हालसम्म प्रतिनिधि सभाका पाँच बैठक बसिसकेका छन् तर बैठकमा सदनको मूल्य दायित्वमा केन्द्रित हुन सकेको छैन । कानुन निर्माणको प्रक्रिया सुरु गर्न बैठकले सकेको छैन । आयोगका वार्षिक प्रतिवेदन, राष्ट्रपति कार्यालयको पत्र तथा शोक प्रस्तावहरूमा प्रतिनिधि सभा बैठक सीमित छन् । एउटा बैठकमा भने कारागारसम्बन्धी विधेयकमा राज्य व्यवस्था तथा सुशासन समितिले प्रतिवेदन पेस गरेको थियो ।

अधिवेशन प्रारम्भ भएको पहिलो दिन साउन ३ गते प्रतिनिधि सभामा दुई बैठक बसेका थिए । पहिलो बैठकमा विभिन्न १५ अध्यादेश पेस भए । यस्तै अधिवेशन आह्वान, सरकार परिवर्तनको जानकारीबारे राष्ट्रपति कार्यालयको पत्र नै कार्यसूची थियो । त्यस्तै शोक प्रस्तावको कार्यसूची पनि थियो । सोही दिनको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएका थिए ।

साउन ८ को बैठकमा महालेखाको प्रतिवेदन कार्यसूचीमा थियो । साथै राज्य व्यवस्था समितिका तर्फबाट कारागार विधेयकको प्रतिवेदन पेस गरिएको थियो । साउन १२ गते निर्वाचन आयोगको प्रतिवेदन र शोक प्रस्ताव नै कार्यसूची बन्यो । यस्तै साउन साउन १५ गते नेपाल सरकारको वार्षिक प्रतिवेदन एक मात्र कार्यसूची प्रतिनिधि सभामा थियो । साउन १९ को बैठकमा मुस्लिम आयोगको प्रतिवेदन र शोक प्रस्ताव मात्र कार्यसूचीमा थियो ।

राष्ट्रिय सभामा पनि पछिल्लो दुई बैठकबाहेक कार्यसूची प्रतिवेदनमै सीमित थियो । साउन ३ गते राष्ट्रपति कार्यालयको पत्र कार्यसूची थियो । यस्तै साउन ७ गते न्याय परिषद्को प्रतिवेदन बैठकको कार्यसूची बन्यो । साउन १३ गते दुई विधेयक कार्यसूचीमा समावेश भए पनि अन्तिममा हटाइएका थिए । साउन १८ गते भने सभाले नेपाल हवाई सेवा प्राधिकरणलगायतका दुई विधेयक पारित गर्यो ।

किन छैन बिजनेस ?
सदनलाई बिजनेस दिने मुख्य दायित्व सरकारको हो । सरकारले ल्याउने विधेयक र त्यसपछिका प्रक्रिया सदनका मुख्य कार्यसूची हुन् । यस्तै विभिन्न सन्धि सम्झौता पनि सदनका कार्यसूची बन्ने गर्छन् तर पछिल्लो समय सदन निरन्तर बिजनेसविहीन छ ।

सत्तारूढ दल नेपाली काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले सदनले अब चाँडै बिजनेस पाउने विश्वास व्यक्त गर्छिन्। मन्त्रिपरिषद्को पूर्णता र केही परामर्शपछि विधेयकहरू अगाडि बढ्ने भुसाल बताउँछिन्।

उनी भन्छिन्, “बिजनेस अब सदनले पाउँछ । विधेयकहरू अगाडि बढ्नेछन् । आवश्यक विमर्श पनि भइरहेकै छ । ”

तर, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई बिजनेस दिन नसकेकोमा सरकारको कमजोरी बताउँछन् । भट्टराई भन्छन्, “विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले बिजनेस नै दिएन भन्ने दल नै अहिले सरकारमा छ । हामीलाई लागेको थियो, अब त धमाधम बिजनेस आउँछ । अहिले त उहाँहरू नै संसद् निष्प्रभावी बनाउन लागेको देखियो । अध्यादेश छन् । विधेयकहरू छन् । राष्ट्रिय महत्वका धेरै विषय छन् । तिनमा छलफलसमेत छैन । ”

विजनेस दिन किन समस्या ?
सरकारले पूर्णता नपाएका कारण कतिपय विधेयक तत्काल अगाडि बढाउन विभागीय मन्त्री छैनन् । समितिमा हुने छलफलमा भाग लिन मन्त्री नहुँदा विधेयकको प्रक्रिया द्रुत रूपमा अगाडि बढेको छैन । विभागीय मन्त्री भएका मन्त्रालयले अगाडि बढाएका विधेयक पनि कतिपय अवस्थामा अगाडि बढ्न सकेका छैनन् ।

बिजनेसबारे यसअघि सभामुख अग्नि सापकोटाले पनि मन्त्री र सत्तापक्षका नेताहरूको ध्यानाकर्षण गराइसक्नुभएको छ । यस्तै प्रतिपक्षका प्रमुख सचेतक तथा सचेतकहरूले पनि बिजनेसबारे सभामुखको ध्यानाकर्षण गराइसकेका छन् ।

मन्त्रिपरिषद्को पूर्णतासँगै सरकारलाई विधेयक अगाडि बढाउन प्राविधिक समस्यासमेत छ । सर्वसम्मत रूपमा अगाडि बढ्न सक्ने अवस्थाका विधेयकमा सरकारलाई प्रक्रिया अगाडि बढाउन बाधा नभए पनि रणनीतिक महŒवका र समितिमा दलीय पोजिसन बनेका विधेयक अगाडि बढाउन भने ढुक्कसँग विधेयक पारित गराउन सक्ने अवस्था सरकारसँग छैन ।

विश्वासको मतको प्रक्रियामा दलीय ह्विप उल्लङ्घन भए पनि सर्वोच्चको फैसलाअनुसार सांसदलाई कारबाही हुन सक्ने अवस्था थिएन । राष्ट्रिय महŒवका विधेयक र अन्य बिजनेसमा भने अब सांसदलाई दलहरूले ह्विप लगाउने अवस्था छ । यस्तो अवस्थामा दलीय ह्विपको असर विधेयक पारितमा पर्ने देखिन्छ । अहिले सरकारलाई काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाल र एमालेको माधव नेपाल समूहले समर्थन गरेको छ । विधेयक पारितको प्रक्रियामा काँग्रेस, माओवादी एकै स्थानमा भए पनि आन्तरिक विवादका कारण जसपाको पूर्ण सहयोग नपाउने अवस्था छ भने एमालेको समूहले ह्विप उल्लङ्घन गरेर विधेयकमा मतदान गर्छ वा गर्र्दैन भन्ने प्रश्न रहेको छ । मत विभाजनको अवस्थामा विधेयक पुर्याइए पारितमा जटिलता छ ।

कति छन् विधेयक ?
सङ्घीय संसद्का दुवै सदनमा विभिन्न चरणमा ५५ विधेयक विचाराधीन छन्स जसमा प्रतिनिधि सभामा ३६ र राष्ट्रिय सभामा १६ विधेयक छन् । संसद् सचिवालयका अनुसार दर्ता र वितरण विधेयकको सङ्ख्या १७ छ । यस्तै समितिमा विचाराधीन १५, सभामा विचाराधीन १९ र एउटा सभाबाट अर्कोमा पठाइएका सन्देशसहित टेबल हुनुपर्ने विधेयक सङ्ख्या छवटा छन् ।

प्रतिनिधि सभामा लामो समयदेखि नागरिकता विधेयक, सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सर्तसम्बन्धी लगायतका विधेयक छन् । कर्जा सूचनासम्बन्धी विधेयक, भन्सार विधेयक, सार्वजनिक खरिद ऐन संशोधन विधेयक, प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐन संशोधन विधेयक पनि विचाराधीन छन् । यस्तै कारागारसम्बन्धी विधेयक पनि प्रतिनिधि सभाअन्तर्गत समितिमा विचाराधीन छ ।

यस्तै सुरक्षण मुद्रण, प्रतिलिपि अधिकार, सार्वजनिक प्रसारण सेवा स्थापनासम्बन्धी विधेयक राष्ट्रिय सभामा विचाराधीन छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक, भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकलगायत विचाराधीन छन् ।

यस्तै सदनमा एमसीसीसँग भएको सहायता सम्झौता, क्योटो अभिसन्धि, माराकेस सन्धि, नेपाल र चीनबीच भएको सीमा तथा व्यवस्थापन तथा कानुनी सहायतासम्बन्धी फरक–फरक सम्झौता विचाराधीन छन् । अन्तरदेशीय सङ्गठित अपराधविरुद्धको महासन्धि (पार्लेमो प्रोटोकल) पनि सदनका आगामी सम्भावित कार्यसूचीमा रहेका छन् ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।