३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

टीकापुर उद्यान पर्यटकको आकर्षण स्थल

टीकापुर उद्यान पर्यटकको आकर्षण स्थल
अ+ अ-

टीकापुर । दसैँ–तिहारपछि कैलालीको टीकापुर उद्यान (पार्क) पर्यटकले भरिभराउ भएको छ । पार्कमा विशेषगरी देउसीभैँलो खेलेर वनभोज (पिकनिक) खान आउने बढी भरिन्छन् । यसका साथै देशका विभिन्न जिल्लाका आन्तरिक पर्यटक एकपटक घुम्नैपर्ने ठाउँ भन्दै पार्क हेर्न आउने गर्दछन् । आजभोलि पार्कमा दैनिक एक हजारदेखि तीन हजारसम्म पर्कटक पुग्ने गरेका छन् । पार्कमा देशका अधिकांश जिल्लाका मानिस पुग्छन् । पार्कमा पूर्व झापासम्मका पर्यटक आउने गर्दछन् ।

झापाबाट पार्क घुम्न आउनुभएका सुभाष शर्माको परिवारले पार्क निकै रमाइलो मानेको बताउनुभयो । “तिहारमा जम्मा भएका परिवार घुम्न भनेर आएका हौँ, टीकापुर पार्क र कर्णाली पुल चिसापानी हेर्नकै लागि यहाँ पुगेका हौँ”, उहाँले भन्नुभयो, “पार्कमा पुगेपछि स्व राजा महेन्द्र बसेको आवास पनि हे¥यौँ, पार्क किनारमा कर्णाली बगिरहेको रहेछ, यहाँ पुगेपछि शान्त महसुस हुनुका साथै रमाइलो भयो ।”

कपिलवस्तुको चन्द्रौटका हरिप्रसाद सुवेदीको परिवार पनि पार्कमा रमाइरहनुभएको थियो । “कति रमाइलो ठाउँ रहेछ, राज्य सञ्चालन भएको यो ठाउँ त्यत्तिकै शान्त र सुन्दर रहेछ”, उहाँले भन्नुभयो, “राजा बसेकोे घरभित्र अवलोकन गर्न पाउनुपर्ने थियो, गर्न पाइएन । साथै घरहरू रङ्गरोगन गरेको भए हुन्थ्यो ।”

नेपालगञ्जबाट कृष्ण रानासहित ४० जनाको समूह पिकनिक खान आएको थियो । उहाँहरूले पार्कमै पकाउने खाने गर्नुभयो । पार्कमा पकाएर खानेहरू त्यही नाचगान गर्ने, फोटो खिच्ने र रमाइलो गर्ने गर्दछन् । यसका साथै कर्णाली नदीमा ¥याफ्टिङको आनन्द लिएर फर्कन्छन् ।

निशा उखेडा र उनका ४५ साथी कञ्चनपुरको बेल्झाडीबाट पार्क घुम्न आउनुभएको थियो । उहाँहरूले पार्कमा अलौकिक आनन्द मिलेको महसुस भएको बताउनुभयो । “स्वर्गजस्तै लाग्यो, शान्त वातावरणमा चिरबिर चराको आवाज, कलकल कर्णाली बगेको आवाज, चिटिक्क सजाएका घर, फूल बगैँचा देख्दा छुट्टै आनन्द लाग्यो”, उखेडाले भन्नुभयो, “त्यसैमाथि ¥याफ्टिङको आनन्द । धेरै साथीको यात्रामा टाउको दुखेको थियो, यहाँ पुगेपछि सञ्चो भयो ।”

बाँके जिल्लाको बासगढीका रामबहादुर चौधरी सिराहा र सप्तरीबाट आएका सम्धी–सम्धिनी घुमाउन पार्क आउनुभयो । उहाँहरूले दिनभरि पार्कमा रमाइलो गर्नुभयो । “पार्क सुन्दर छ । उहाँहरूलाई घुमाउनकै लागि यहाँ ल्याएको हुँ”, रामबहादुर भन्नुहुन्छ, “पार्कमा रहेका रेलिङ मर्मत आवश्यक छ, बगैँचामा फूल थप्न आवश्यक छ, पूर्वाधार निर्माणमा ध्यान दिनुपर्छ ।”

स्थानीय भुवनेश्वर अधिकारी पार्कको विकासमा सबैको ध्यान जानुपर्ने बताउनुहुन्छ । “पार्कमा भीड हेर्दा रमाइलो लाग्छ, फर्कँदा पीडा हुन्छ”, उहाँ भन्नुहुन्छ, “पार्कमा पूर्वाधार विकास गर्न सकिएन, गेट हेर्दा राम्रो छ तर भित्र सरसफाइलगायतका कार्यमा पछाडि छौँ । राजनीतिक दलले पनि पार्क विकासमा ध्यान दिएको देखिँदैन ।”

गुलाबको बगैँचा भनेर चिनिने टीकापुर पार्कमा यतिखेर स्थानीय तथा बाह्य पर्यटक भरिभराउ भएका छन् । दसैँ–तिहारपछि टीकापुर पार्कमा दैनिक सयौँ नागरिक पिकनिक खान र घुम्न आउने गरेका छन् । पार्कमा आउनेहरू पार्कमा पकाउने खाने, नाचगान गर्ने, फोटो खिच्ने र बेलुका घर फर्कने गर्दछन् । कतिपय नागरिक पार्क हेर्नकै लागि यहाँ पुग्छन् ।

शान्त वातावरण, चिटिक्क मिलाएका लन सजावट र मौसमी–बेमौसमी फूलहरू टीकापुर पार्कका आकर्षण हुन् । मुटुरोगबाट पीडित भएका राजा महेन्द्रले विसं २०२४ मा टीकापुरमा आएर करिब डेढ महिना शयन गर्नुभएको थियो । टीकापुर बसेर राज्य चलाउन अप्ठ्यारो भएपछि राजा काठमाडौँ फर्कनुभयो र टीकापुर क्षेत्रमा सहर विकास गर्न र कर्णाली किनारमा पार्क बनाउन उहाँले निर्देशन दिएको स्थानीय बताउँछन् ।
विसं २०२८ मा भौतिक योजना तथा निर्माण मन्त्रालयअन्तर्गत टीकापुर विकास समिति स्थापना गरी तीन हजार एक सय ७३ बिघा जमिन दिएर सहर विकास गर्ने अधिकार सरकारले दिएको थियो । लाखौँ लगानी भएका र करोडौँ खर्च भइसकेका यी पूर्वाधार टीकापुर विकास समिति हटेपछि नगरपालिकाको स्वामित्वमा छन् । त्यतिखेर विकास समितिले आफूसँग भएको जग्गा घडेरीका रूपमा बिक्री गर्दै पार्क संरक्षणका लागि खर्च जुटाउँदै आएको थियो । विकास समिति हटेपछि विसं २०६४ मङ्सिर ५ गतेबाट पार्क नगरपालिकाको स्वामित्वमा आएको हो । नगरपालिकाको स्वामित्वमा गएपछि बजेटको अभावमा लगानी भने सोचेजति हुनसकेको छैन ।

टीकापुर बजारबाट चार किलोमिटर टाढा कर्णाली नदी किनारमा पार्क छ । पार्क ८५ बिघा क्षेत्रफलमा फैलिएको छ जसमध्येको बङ्गला क्षेत्र, नर्सरी र बगैँचाले करिब १३ बिघा जमिन ओगटेको छ । टीकापुर विकास समितिले नै पार्क क्षेत्रमा महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम बाटिका, ऐश्वर्य उद्यानलगायत करोडौँ रुपैयाँ लागतका पूर्वाधार खडा गरेको हो ।

पार्कमा बनाइएको काठका रेलिङ कुहिनु र भत्किनुका साथै आरोग्य गृह र विश्राम बाटिका पनि जीर्ण हुँदै गएपछि हरेक वर्ष नगरपालिकाले मर्मत गर्दै आएको छ । करिब चार दशकसम्म टीकापुर विकास समितिको सहयोगमा चलेको टीकापुर बृहत् उद्यान नगरपालिकाले सञ्चालन गरेपछि पार्कको गेट निर्माण, टिकट काउण्टर, पिकनिकस्थल बस्ने चौतारीलगायतका केही पूर्वाधार बने तर, बजेट अभावमा ठूला पूर्वाधार र लगानी भने गर्न सकेको देखिएन ।

प्रमुख प्रशासकीय अधिकृत मङ्गलबहादुर शाही पार्क व्यवस्थापनमा असुविधा नहोस् भनी टीकापुर नगरपालिका लागिरहेको बताउनुहुन्छ । “पूर्वाधार निर्माणमा प्रयासरत छौँ, पार्क हाम्रो गौरव मात्र होइन पहिचान पनि हो । पूर्वाधार विकास गर्दै लैजाने हो”, शाहीले भन्नुभयो, “गत वर्ष महेन्द्र आरोग्य गृह पुनःनिर्माण गर्याँै, यस वर्ष ऐश्वर्य उद्यान पुनःनिर्माण हुन्छ ।”

उहाँ पार्क प्रदेश, सङ्घको पनि गौरव भएकाले पार्कमा सङ्घ, प्रदेशको पनि सहयोग हुनुपर्ने बताउनुहुन्छ । “सबैले सहयोग गरुन् भनी नगरपालिका लागिरहेको छ”, उहाँले भन्नुभयो, “लगानी भएमा पार्कलाई थप व्यवस्थित गर्न सकिन्छ ।”