२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेमदूत



अ+ अ-

‘तनमात्र होइन मन समेत सुन्दर भएकी दु:खी स्त्रीको आकर्षक तस्वीर !’

धीराले प्रोफाइल पिक्चर फेरेको ३ मिनेटमा एउटा कमेन्ट लेखिएको थियो । २५ लाइकमध्ये यो कमेन्ट लेख्नेले लभको चिन्ह नै रियाक्ट गरेको थियो ।

त्यसको नाउँ प्रेमदूत थियो । अनौठो नाउँ र कमेन्ट पनि सामान्य नभएपछि धीरालाई उसको प्रोफाइल हेर्ने कुतुहल हुनु अस्वाभाविक पनि थिएन ।

आधुनिक सञ्चारसँग सम्बद्ध

सामाजिक जीवन र व्यवहारको विश्लेषक

आफ्नै व्यवसाय सञ्चालक

धीरालाई उसको स्ट्याटस खासै आकर्षक पनि लागेको थिएन । अझ उसको प्रोफाइल पिक्चरको ठाउँमा पनि गुलाफको फूल अनि कभर फोटोका रूपमा समुद्रको फोटो देखेपछि ‘यो कुनै छद्मनामी कै फेसबुक हो’ भन्ने टुङ्गो पनि उनले लगाइसकेकी हुन् । उनी फर्केर आफ्नो वालमा आइन् । उनको प्रोफाइल फोटोमा पचास लाइक पुगिसकेको थियो । कमेन्ट पनि दसओटा भइसकेका थिए । सुन्दर, आकर्षक, कत्ति राम्रीजस्ता चलन चल्तीका कमेन्ट पनि आउँदै थिए । तर पहिलो कमेन्टको दाँजोमा ती सबै कमेन्ट फिका परिसकेका थिए । ‘को रहेछ यो ?’

फोटो त अरुले जस्तै देख्यो त्यसले पनि, तर मेरो ‘मन’ कसरी देख्यो हँ त्यसले । कत्तिन भेटेर हित्तचित्त नै गाँसे जसरी नै किटान गरिदियो । ‘ह्या… अनुमानको ढुङ्गा हान्या होला बज्या छद्मनामीले ..’ उनले मनमनै त्यसलाई सम्झँदा सम्झँदै बिर्सन खोजेकी थिइन् ।

विश्वव्यापी ग्लोवल वार्मिङ, राष्ट्रमा व्याप्त अव्यवस्थाका कारण फैलिएको धुलोधुवाँको प्रदुषणले काठमाडौँ अब काठमाडौँजस्तो रहेन । धीराले पच्चीस वर्ष अघिको मीठो हावा बहने काठमाडौँ सम्झिन् । त्यतिबेलाको वैशाख महिना यति आनन्ददायक थियो कि के भन्नु र ? तराईबाट भरखरै काठमाडौँ आएकी उनले वैशाख महिनामा पनि गतिलै स्वेटर लगाएकी थिइन् । अविरलसँग त्यसैबेला भेट भएको हो ।

मौसम र अविरल !

उनलाई एक्लै फिस्स हाँस्न मन लाग्यो । अविरल पनि काठमाडौँको मौसम जस्तै भए अब ! प्रदुषित ? उनले आफैसँग प्रश्न गरिन् । उनको मन त्यसै त्यसै अमिलो भएर आयो ।

शायद यसरी उनी अमिलिनु पर्ने पनि थिएन होला । सधैँ झैँ एक्लै उच्चाटिँदो दिन बिताउँदा बिताउँदै अचानक धीराले अविरलको ट्याब खोलेकी थिइन् । त्यसदिन अविरलले आफ्नो ट्याब लकै नगरी अफिस गएका रहेछन् । मन दोमनले उनका औँला ट्याबमा सल्बलिँदा सल्बलिँदै अविरलको मेसेञ्जर खोल्न पुगेकी थिइन् । त्यहाँ भेटिएका नानावलीका च्याट पढेपछि उनको मानस महल गल्र्याम्मै ढलेको थियो । ती म्यासेजहरू पढेपछि केही समयसम्म त उनी विछिप्तै बनेकी थिइन् ।

‘ओहो अविरलको मसँगको चिसोपनको कारण त यस्तो पो रहेछ !’

किसिम किसिमका आधुनिकताले भरिपूर्ण सुन्दर युवतीहरूसँग अविरलले मेसेञ्जरमा गरेका कुराकानी पढेपछि उनलाई हुनसम्मको औडाहा, आक्रोस र पीडाले सताएको थियो ।

‘एउटी छोरी जन्माएकी हो । त्यो पनि अष्ट्रेलियातिर हिँडी । अब एउटा बोझजस्तो जीवनबाहेक मसँग घरमा केही छैन । घरमा जे छ त्यसमा म छैन । म आफूलाई एकदम एक्लो, रित्तो र विरही महसुस गर्छु प्रिये ।’

‘तिम्रो प्रेममा बाँधिन पाए मैले पनि जिँउदो मूर्दाको जीवन बाँच्नबाट मुक्ति पाउने थिएँ ।’ अविरलले लेखेको थियो ।

‘त्यसो नभन न, तिम्रो पीडा म महसुस गर्न सक्छु । तिमीलाई मैले सम्पूर्ण रूपबाट अर्पण गरेकी छैन र ?’ उताबाट युवतीले लेखेकी थिई ।

‘तिम्रो प्रेमको सागरमा पौडिन पाए मेरो ओइलाएको जीवन लहलहाउन सक्छ प्रिये ।’

अविधालाई अविरलको लेखन थियो ।

धेरै युवतीसँग अविरलको कुराकानी हुने गरेको भए पनि अविधासँग उसको निकै घनिष्ट सम्बन्ध भइसकेको कुरा पनि उनीहरूद्वारा एक अर्कालाई लेखिएको बेहोराले बोलिरहेको धीराले बुझेकी थिइन् ।

अविधा र अविरलका सारा कुराकानीबाटै धीराले एकाएक अविरलमा आएको परिवर्तनबारे जानकारी पाएकी थिइन् । नीला वा खरानी रङका पाइन्ट र सेता वा चेक सर्ट मन पराउने अविरल अचानक जिन्स पाइन्ट र बुट्टेदार

रङ्गीन सर्ट लगाउन थालेको रहस्य पनि धीराका सामुन्ने खुलेको थियो ।

यसरी अविरलको प्रदूषण धीराका सामुन्ने ह्वाङ्गै खुलेको थियो ।

तर यस्तो विकराल अवस्थालाई पनि महादेवले विष पान गरेर शान्त भए झैँ धीरा शान्त बसेकी थिइन् । एकमन अविरललाई चट्टै छोडेर हिँडौँ कि भन्ने पनि नलागेको होइन धीरालाई । तर कता जाने ? माइतमा भाइबुहारीको दुव्र्यवहारका कारण वृद्धआमाका आँसु उनले पनि पुछ्न नसकेको अवस्था थियो ।

प्रेम गरेकै समयको योजना अनुरूप अविरलको प्रस्ताव धीराले कहिल्यै नाघिनन् । जस अनुरूप धीराले घरव्यवहार हेर्ने र अविरलले जागीर खाने थियो । त्यसो त धीराकी आमाले उनलाई प्रशस्त दाइजो पनि नदिएकी होइनन् । उनैको दाइजोको जमीनको केही अंश बेचेर छोरी श्लाघा अष्टे«लिया गएकी हो । बाँकी रहेको भाग पनि उनले श्लाघाकै लागि छुट्याएर राखेकी छन् ।

अविरलसँग काठमाडौँको पुरानो बानेश्वरमा पुस्तैनी चारतले घर थियो । त्यही घरको दुई तला भाडामा लगाउनाले उनीहरूको दैनिक जीवनयापन सहज थियो । अविरलको बैँकको राम्रै जागीर भएकाले उनीहरूको वचत पनि राम्रै थियो ।

अविरल र धीरावीच प्रेम सम्बन्ध भए पनि अविरलका पितामाता र धीराकी आमाको पनि सहमतिमा नै उनीहरूको विवाह भएको थियो । २५ वर्ष अघि बिहे भएर अविरलका घरमा आउँदा एकमात्र छोराकी पुत्रवधुका रूपमा सासू ससुराबाट पनि धीराले बिछट्टै माया पाएकी हुन् । उनीहरूको बिहेको पाँचवर्ष पछि श्लाघा दुईमहिनाकी हुँदा नहुँदै नै सासू र त्यसको एकवर्षपछि ससुराले धर्ती छोडेपछि उनीहरू अभिभावकविहीन भएका थिए ।

आर्थिक रूपले धीराको जीवन सहज थियो । तर पछिल्लो समय भने उनका मानसका लागि विछिप्त हुँदै गएको पक्कै हो । त्यसरी अविरलको मेसेञ्जरमा उसका रङ्गीन गतिविधि नदेखुञ्जेलसम्म त धीरालाई अविरलको आफूप्रतिको झर्कोफर्को वा वेवास्ता पनि सहजै लाग्थ्यो । ‘दिनभरि अफिसमा काम गरेर थकाई लाग्दो हो । विचरो….’ अविरलप्रतिको धीराको सहज अनुभूति हुने गथ्र्यो । तर मेसेञ्जरका ती च्याटका शब्दहरू पढिसकेपछि भने धीराका आँखामा जुनबेला पनि अविरल र अविधाका घनिष्टताका चित्रहरू मात्रै आउँथे । धीरा आफूभित्र आगो बलेर दनदनी भएको र त्यही आगोमा आफू दिन दिनै सल्किँदै सल्किँदै गएको अनुभूति गर्थिन् ।

‘तिम्रा मेसेञ्जरका सबै बेहोरा मैले पढिसकेँ ।’

अविरललाई सोधी हेरौँ कि, भनिदिउँ कि पनि लाग्थ्यो धीरालाई कहिलेकाहीँ । तर त्यसरी अविरलको गतिविधि जाँचेर आफूले उनीप्रति विश्वासघात गरेको खुलासा हुनुसँग उनको स्वभाव नमिल्ने कुराले पनि धीराले अविरलसँग प्रश्न गर्ने साहस गर्न सकेकी थिइनन् ।

कहिलेकाहीँ त उनलाई त्यसदिन आफूले त्यसरी अनाधिकृत रूपमा अविरलको मेसेञ्जर हेर्नु नहुने थियो भन्ने पनि लाग्थ्यो । ‘बरु मैले केही थाहा नपाएको अवस्था नै मेरा लागि ठीक थियो ।’ उनको एक मनले भन्थ्यो । ‘होइन, मैले हेरेर ठीक गरेँ, सधैँ अन्धकारमा बसेर खुशी हुनु भन्दा त सत्य जानेर दु:खी हुनु बेस ।’ उनको अर्को मनले तुरुन्तै जवाफ दिन्थ्यो । वास्तविकतामा चाहिँ आफुभित्र गुम्सिएको पीडाले धीरा दिनदिनै कुण्ठामा बेरिन भने थालेकी थिइन् ।

‘म भरे बेलुकी साथीहरूसँग गेटटुगेदरमा छु, तिमी खाना खानु, म फर्किन ढिलो हुन सक्छ । मैले मूल ढोका र कोठाको ढोकाको साँचो लगेको छु । तिमी सुते हुन्छ ।’

हिजो आज प्रत्येक शुक्रबार बेलुकी अविरल ढिलो आउने नियम झैँ बसिसकेको थियो । विषय फरक फरक र प्रस्तुतिमा केही फरक हु्नु बाहेक अरु कुरा उस्तै हुने गथ्र्यो । कहिलेकाहीँ त अविरल धुलिखेल वा नगरकोटमा अफिसको मिटिङ वा गेटटुगेदरका नाउँमा रातै पनि बाहिरिन्थे । अविरलको मेसेञ्जरको च्याट नपढुञ्जेल त धीरा अविरलका हरेक सूचनालाई सत्य ठान्थिन् ।

अविरलको रङ्गीन संसारबारे जानकारी पाएपछि आफू भित्र भित्रै गुम्सिएर विस्फोटनको तयारी हुँदै गरेको कुरा थाहा नपाएकी धीरा स्वयम्लाई सकेसम्म यसै प्रकारको जीवनसँग अभ्यस्त बनाउने कोशिशमा थिइन् ।

आज अचानक अनौठो नाउँधारी ‘प्रेमदूत’को असामान्य कमेन्ट पढेपछि भने शान्त तलाउमा कसैले ढुङ्गा हानिदिएजस्तै भएर उनको मनमा हलचल हुन खोजेको थियो । तर प्रेमदूतको फेसबुक प्रोफाइल हेरेपछि भने उनले आफूलाई पूर्वावस्थामा पुर्‍याइसकेकी थिइन् ।

त्यस साँझ पनि सधैँको साँझ झैँ धीराले कौशीको फूलबारीमा पानी हालेर केहीवेर तिनै फूल र पातहरूसँग मनका कुरा वा गुनासाहरू पोखिन् । धीराका र छिमेकीका घरका ओरिपरिका बूर्जाहरूमा असजिलो गरी भए पनि जोडी जोडी भएर बसेका परेवाहरूलाई उनले हेरिन् । बिहान उनले परेवालाई छानामा भात दिएको प्लाष्टिकको प्लेट सधैँ झैँ परेवाले नै भुइँमा खसालेका थिए । उनले टिपेर भाँडा माझ्ने ठाउँमा पुर्‍याइन् । फेरि फर्केर परेवाका जोडीलाई डाहा गर्दै हेरिन् । ती जोडी परेवाका चार आँखाले उनका दुई आँखालाई खिज्याएको अनुभूतिले उनको मुटुनेरी बेस्सरी दुख्यो ।

दुखेकै मनले पनि पेटको भोकको खोजी गर्दै नियमित क्रिया सम्पन्न गर्न उनी भान्सामा पुगिन् ।

‘के खाने ?’

न उमङ्ग, न उत्साह !

विहानको उब्रेको भात र तरकारी फ्रिजमा थियो । हुन त उनलाई बिहानको बेलुकी पनि बासी खान मन पर्दैन । तर आज कमलीले ‘खान मन छैन’ भनी ।

कमली दसवर्षदेखि धीराको घरधन्धामा सघाउन आउने विवाहिता आइमाई हो । सुख्खा तलबमा राखिएकी भए पनि धीराले कमलीका लागि पनि भात पकाउने गरेकी थिइन् । पैसामात्र दिएर जुठा भाँडा मझाउनु उनलाई ठीक लाग्दैन थियो । तर एउटा अनुशासन कायम गर्नु पर्छ भनेर उनले कमलीलाई भात बोकेर घर लैजान भने दिने गरेकी थिइनन् । आज त्यसैले विहानको भात उबे्रको थियो । कमलीले नखाएका दिन मन नपरे पनि उनैले वासीभात खानु पथ्र्यो । आज पनि त्यस्तै भएको थियो ।

धीराले फ्रिजबाट भात र तरकारी झिकिन् । चिसो भातको बट्टा छुँदा उनले अविरलसँगको आफ्नो सम्बन्ध सम्झिन पुगिन् । ओभनमा तताइन्, ‘कस्तो छिट्टै तात्छ’ । तातो खानाले प्रेम गरेको बेलाको अविरलको न्यानो सम्झायो उनलाई । मान्छेको चिसिएको सम्बन्ध तताउने पनि यस्तै ओभन हुनुपर्ने नि है । अनि त्यसरी तताएको सम्बन्ध पनि ओभनमा तताएको खानेकुरा जस्तै एकैछिन्मा तात्ने र सेलाउनासाथ अति नमीठो हुने ! तर ओभनमा तताउनाले प्राकृतिक खानामा मन्द विष घोलिए झैँ मानवीय सम्बन्धमा पनि त्यस्तै विष घोलिने होला ! ܉

आफ्नो बच्चा तर्कनाले उनी आफैँसँग हाँसिन् ।

एकैछिन् विगतमा पुग्दा पनि आनन्दको मीठो सिरकाले उनको मनै चङ्गा भएको थियो । तर झट्टै अविधासँगको अविरलको च्याटको प्रसङ्ग स्मृतिमा आइदिनाले उनको प्रेमील संसारलाई कालो बादलले झैँ छपक्क छोपिदियो । फेरि उही विषादको गहिरो कुहिरोमा उनी प्रवेश गरेकी थिइन् ।

त्यसैले एक्लै कुपुकुपु खाएको भात पनि स्वादविहीन, केवल पेट रूपी थैलो भरेजस्तो मात्र भएको थियो उनलाई ।

भान्साको सबै व्यवस्थापन सकेर उनी कोठामा आइन् । सधैँ झैँ उनको एनरोइड कोठैमा थियो । फुल चार्ज भएको मोबाइल झिकिन् र यसो हेर्दा उनको मेसेञ्जरमा नयाँ रिक्वेष्ट मेसेज देखिन् । फेसबुककै कारण उनका केही पुराना साथीहरू भेटिएका थिए । तर उनीहरू पनि सबैजसो नै केही न केही काम र गृहस्थीमा व्यस्त हुँदा उनको मेसेञ्जरमा च्याट गरिरहने पनि कोही थिएन । छोरी श्लाघा धेरजसो भाइबर र वाटसबमा नै कुरा गर्थी । अझ खास गरेर श्लाघा प्राय:जसो शनिवार बेलुकीमात्र कुरा गर्न भ्याउँथी ।

‘को होला यो ?’

धीराको मनको तीव्र गतिले मेसेञ्जरको रिक्वेस्ट कुतुहलपूर्वक नै हेरेको थियो ।

प्रेमदूतकै रिक्वेस्ट र ‘मसँग च्याट गर्न मिल्छ ?’ भनेर लेखिएको मेसेज त्यहाँ थियो । युनिकोडमा लेखिएको मेसेज पढेपछि उनको मनको शान्त तलाउमा फेरि पनि केही तरङ्ग आउन खोजेको थियो ।

‘छद्मनामी ।’

उनको मनले नमीठो गरी त्यस मेसेजलाई पन्छाउन खोज्यो ।

‘किन र ? हामी साथी बन्न सक्तैनौँ र ?’ तुरुन्तै उताबाट लेखिएको थियो ।

‘छद्मनामीलाई मैले साथी बनाउने गरेको छैन ।’ उनले रोमनमा जवाफ फर्काएकी थिइन् । धीरालाई श्लाघाले युनिकोड चलाउन पनि सिकाएकी छे । तर उनलाई रोमन लेख्न नै सहज लाग्थ्यो ।

‘नाउँसँग के मतलब र ? मेरो नाउँले तपाईँको के अहित गरेको छ र ? म तपाईँसँग साथी बन्न चाहान्छु । फेरि मेरो च्याट तपाईँलाई मन नपरे मलाई ब्लक नै गर्न पनि त तपाईँ सक्नु हुन्छ नि ! होइन र ?’

उसको लेखाई र त्यसमा खामिएका विचारले साँच्चै धीरालाई प्रभावित पारिसकेको थियो । यतिको शिष्ट, सभ्य र मर्यादित आग्रह पञ्छाउन पनि उनलाई ठीक लागेन ।

‘हो नि त, मन नपरे ब्लक गर्न पाइन्छ नि !’ उसकै कुरालाई मनमनै दोहोर्‍याउँदै धीराले प्रेमदूतलाई साथी स्वीकार गरेकी थिइन् ।

त्यसै बेलुकीदेखि उनीहरूबीच च्याट शुरु भएको थियो ।

‘किन छद्मनाम ? यतिको परिस्कृत विचार हुनेले आफ्नै सही नाउँमा प्रस्तुत हुँदा के बिग्रन्छ र ?’ धीराले नलेखी भएको थिएन ।

‘मेरो वास्तविक नाउँ नै यही हो भन्दा तपाईँलाई पत्यार नलाग्न सक्छ । तर तपाईँलाई मेरो वास्तविक नाउँ नै पनि किन चाहियो र ? फेरि नाउँ नै जानेर पनि के पो हुन्छ र ? मानिसका नाउँ जे सुकै पनि हुन सक्छन् । नाउँले उसको आचरण बुझाउने पनि होइन । नाउँका अर्थको विपरित क्रियाकलापमा संलग्न मानिसहरूको नाउँ तपाईँलाई थाहा छ ?’

उसको तर्कपूर्णको प्रश्नले धीरालाई उत्तरविहीन पारेको थियो । उसको प्रश्नको सन्दर्भ अनुरूप तिनै प्रश्नका उत्तर धीराका मानसमा सरर आएका थिए । ती विविध सुन्दर नाउँधारी विकृत व्यक्तिका अनुहारहरू एकएक गर्दै उनको सम्झनामा आएका थिए । जसमध्ये सबैभन्दा धेरै राम, कृष्ण, शिव, सीता, गीता, पार्वती, सती, सावित्री, गायत्री, अमर, अमृत आदि इत्यादि कति हुन् कति थिए । उनले चिनेका विपरित अर्थका नाउँधारीहरू बग्रेल्ति नै थिए ।

‘हो यिनले भनेको कुरा पनि ठीकै हो, असली नाउँ नै व्यक्ति पहिचानका लागि सही माध्यम पनि हो भन्न सकिँदैन । नाउँले मात्र त मानिस चिन्नै सकिन्न । मानिसलाई साथी बनाउनकै लागि मात्र त नाउँ जे भए पनि हुन्छ नै ।’ धीराले उसको तर्कसँग सहमतिको छाप लगाइन् र फेरि कहिल्यै उनले उसको असली नाउँका बारेमा कुनै प्रश्न पनि गरिनन् ।

त्यसदिन केहीबेर उनीहरूबीच भलाकुसारी भयो । उसले उनका बारे खोजीनिति गरेको थियो । उनको स्वभाव अनुरूप उनले आफ्नो माइती, घर, परिवारिक स्थिति सबै खोलिदिएकी थिइन् । उनले पनि उसका बारेमा चासो राखेकी थिइन् ।

‘सम्झनुस् यस संसारमा मेरो कोही छैनन् र यो संसारका सबै मेरा हुन् । हाहाहा, म आधुनिक सञ्चारसँग सम्वद्ध र आवद्ध पनि छु । यस बाहेक मेरो अरू परिचय तपाईलाई आवश्यक पनि छैन । र अर्को सत्य के हो भने मेरो तपाईको जस्तो गृहस्थी पनि छैन ।’ उसले जवाफ फर्काएको थियो । अलि रुखोजस्तो, कुरा लुकाएकोजस्तो जवाफ पढेर पनि स्पष्ट र परिमार्जित लेखाई पढ्दा त्यति नरमाइलो पनि लागेन धीरालाई ।

‘अनि गृहस्थी जमाउने उमेर भएन त अझै ?’ धीराले उसले नभन्न खोजेको कुरामा पनि चासो राख्न खोजेकी थिइन् ।

‘मलाई लाग्छ गृहस्थी उमेरभन्दा बढी आवश्यकता हो । मलाई अहिलेसम्म गृहस्थीको आवश्यकता परेको छैन ।…. र भविष्यमा पनि पर्लाजस्तो मलाई लाग्दैन ।’ लगत्तै उसको जवाफ आएको थियो ।

कस्तो अचम्मको कुरा गर्दोरहेछ यो मानिस ! धीरालाई उबारे थप कुतुहल जागेको थियो । ‘प्रेममा असफल भएर निरास भएकोजस्तो छ केटो ।’ उनले मनमनै शङ्का गरेकी थिइन् ।

‘तपाईंको उमेर कति भयो त ? प्रोफाइलमा पनि राख्नु भा रै’नछ ।’ उनले नसोधी बस्न सकेकी थिइनन् ।

‘म परिपक्व छु, उमेर भएर पनि परिपक्व नभए के गर्ने ? त्यसैले मेरो विचारमा यो उमेरको पनि कुनै अर्थ छैन । म तपाईंको प्रोफाइलमा लेखिएको तपाईंको उमेर होइन त्यहाँ लेखिएका तपाईंको विचारमा भएको परिपक्वताका कारण तपाईंप्रति आकर्षित भएको हुँ । एउटा सही साथी हुनका लागि प्रमुख योग्यता भनेकै उनीहरूबीचको उमेर होइन उनीहरूको विचारको स्तर मिल्नुपर्छ । उमेरको आकर्षण कुनै पनि बेला विकर्षणमा परिवर्तन हुनसक्छ । तर वैचारिक एकता अत्यन्त प्रबल हुन्छ । मान्नु हुन्छ ?’

ऊ प्रस्तुत भएको थियो । उसका परिमार्जित विचारले नै धीरा ऊप्रति आकर्षित हुँदै गएकी थिइन् । त्यसैले उसका विचारप्रति उनले शब्दले होइन लाइकको चिन्हले सहमति जनाएकी थिइन् ।

सधैं नबित्ने समय कसरी बित्यो उनले पत्तै पाइनन् । मूल दैलो घरक्क उघ्रेको आवाजले उनको ध्यान घरतिर र आफूतिर गएको थियो । उनले आफूलाई सुत्ने तयारीमा पुर्‍याउने सम्पूर्ण विधि बाँकी नै थियो । उनले हतार हतार मोबाइल थन्क्याइन् । सधैँ झैँ मोबाइलको साउण्ड अफ गरिन् । त्यतिञ्जेलमा अविरल कोठाभित्र पसिसकेका थिए ।

‘अझै सुतेकी छैन !’ अविरलले उनलाई प्रश्न गर्दै भित्तामा टाँगिएको घडीतिर आँखा पुर्‍याएका थिए । अविरल सँगसँगै उनका आँखा पनि घडीमा ठोक्किएका थिए । त्यहाँ रातिको बाह्रबज्न पन्ध्र मिनेट बाँकी थियो ।

यसरी आधारातसम्म मोबाइल चलाएर बसेको उनको यो पहिलो दिन थियो । तर त्यसपछि त्यस रात भने उनले मोबाइल चलाइनन् । सधैँ झैँ संवादहीनता मै अविरल र उनले आ–आफ्नो नित्यकर्म सकेर बिछ्यौनामा पुग्दा एक बज्नै लागेका थियो । अविरल बिछ्यौनामा ढल्किनासाथ मस्त निद्रामा पुगेर घुर्न समेत थालेका थिए । तर उनलाई भने निकै बेरसम्म पनि निद्राले छुन सकेको थिएन ।

भोलिपल्ट साविककै समयमा उठेर उनले नित्यकर्मका सकिन् । भात भान्सा पनि तयार गरिन् । आज शनिवार भएकाले अविरलको अफिस थिएन् । भात खाएपछि सधैँ झैँ ट्याबलेट बोक्दै अविरल तल ओर्ले । अविरलका लागि ट्याबलेट अभिन्न थियो । उनी निदाएको बेला बाहेक घरमा उनको ट्याबसँगमात्र सम्बन्ध हुन्थ्यो । भात खाँदा त के र ? उनी त वाथरुममा पनि ट्याब लिएरै जान्थे ।

कमली आइपुगेपछि उसलाई सबै काम सुम्पेर धीरा पनि तल ओर्लिन् । उनले पनि आज मोबाइल समात्न पुगेकी थिइन् ।

मेसेन्जरमा मेसेज थियो ।

‘अचानक कता गायब हुनु भयो ?’

‘सुत्नु भयो कि के हो ?’

हिजोको म्यासेज थियो ।

‘फुर्सत भएको छैन ?’

’गृहस्थी भनेको यस्तै हो ?’

‘हत्तपत्त आफ्नो लागि समय नै पाइन्न है ?’

आजको मेसेज थियो ।

ऊ अनलाइन थियो । लगत्तै केही लेखिरहेको जानकारी पनि आएको थियो । उनले आफू अघिल्तिरको सोफामा बसिरहेको अविरलपट्टि ध्यान दिएकी थिइन् । उनी सधैँ झैँ ट्याबमा कसैसँग एकधुनसँग च्याट गरिरहेथे । तर धीराले च्याट गर्न सकिनन् ।

‘मलाई तपाईँसँग कुरा गर्न मन लाग्छ, तपाईँलाई लाग्दैन ?’ प्रेमदूतले प्रश्न गरेको थियो । धीराले केही जवाफ दिइनन् ।

‘व्यस्त जस्तो लाग्यो, केही छैन, फुर्सत् भएपछि आउनु होला नी, म पर्खिरहेको हुन्छु ।’ उसको मेसेज फेरि आएको थियो । उसको मेसेज पढेर उनी म्यासेञ्जरबाट फेसबुकमा पुगिन् । तर आज फेसबुकमा उनलाई कुनै रसै लागेन । कसैले जोडी फोटो, कसैले एकल फोटो, कसैको जन्मदिन, कसैको कोही मरेको, कसैको कोही जन्मेको, कसैको वैवाहिक वर्षगाँठ त कसैका छोराछारी या नातिनतिनाको जन्मदिन, केही नभए कुकुर वा विराला लगायत घर पालुवाकै भए पनि जन्मदिन आदि इत्यादिको फोटो देखाउनु बाहेक के पो हुन्छ र फेसबुकमा ! उनलाई फेसबुकमा त्यसैले उच्चाट लाग्यो । आज कसैलाई पनि लाइक नगरी उनी बाहिरिइन् । त्यसपछि युट्युबमा पुगिन् ।

हुनत युट्युबमा के पो हुँदैन र ? आफू अनुरूप जे चाह्यो त्यही हेर्न पाइने र जान्न पाइने यस युगको महान आश्चर्य हो युट्युब । युट्युब र गुगलबाट पाएको जानकारी उनले स्नातकोत्तर गरेर पनि पाएकी थिइनन् । अबको समयमा स्कुल, कलेज, विश्वविद्यालय किन खोलिराखेको होला जस्तो पनि उनलाई लाग्थ्यो । विचरा त्यहाँ पढाउने मास्टरहरूलाई अहिलेका विद्यार्थीले जोकर भन्ठान्छन् होला ! ‘धन्न मास्टर भइनछु !’ उनले लामो सास फेरिन् । खानै आँटेको मास्टरी जागीर अविरलको अनुरोधमा नखाएकोमा पनि अहिले चाहिँ रामै्र लागेको छ उनलाई ।

‘त्यै त धन्न जोकर हुनबाट बाँचिएछ’ । फेरि पनि एकपटक लामो सास फेरिन धीराले ।

तर आज यु ट्युबमा पनि उनलाई आकर्षण भएन ।

आफ्नै सामुन्नेमा बसिरहेको अविरललाई उनले सरर्र एक दृष्टि दिइन् । नियमितताजस्तै अविरल सधैँ झँै च्याटकै दुनियाँमा थिए ।

धीरा मोबाइल बोकेर सरक्क त्यहाँबाट हिँडिन् । माथि भान्सामा कमलीले भाँडा माझेको खन्द्रयाङ खुन्द्रुङ आवाज पछ्याउँदै उनी भान्सामा पुगीन् । उनलाई कमलीले पुलुक्क हेरी मात्र, केही बोलिन । कमली धेरै बोल्दिन पनि । यसको धेर नबोल्ने, एकनास काम मात्रै गरिरहने बानीले नै हरेक वर्ष तलब थपेर र बेलाबेला उपहारहरू दिएर पनि कमलीलाई नै उनले काम गर्न राखेकी हुन् ।

डाइनिङ टेबलको कुर्सीमा उनी बसिन् र टेबलमा मोबाइल राखेर मेसेञ्जर खोलिन् । ऊ अनलाइन नै थियो ।

‘आइमाई नभई आइमाईको व्यस्तता बुझ्न गाह्रो हुन्छ नि मिस्टर !’ उनले लेखेकी थिइन् ।

‘बल्ल फुर्सत भयो मेडमलाई हाहा’ उसले लेखेको थियो ।

‘आफूलाई आइमाई होइन व्यक्तिमात्र सम्झनुस न मेडम, जीवित व्यक्ति, आचार संहिता र अनुशासनमा बाँधिएको, विविध मोहजालमा फँसेको । होइन र ?’ सधैँ झैँ उसको तर्कले भरिएको विचार आएको थियो ।

‘आचारसंहिता, अनुशासन र मोह त ग्राहस्थ्यको धर्म नै हो नि मिस्टर !’ धीराले पनि उसको व्यङ्ग्यलाई आफ्नो धर्मका रूपमा स्वीकार गरेकी थिइन् ।

त्यसपछि त्यसदिन झन्नै दुई घण्टासम्म उनीहरूबीच च्याट भएको थियो । कमली घरधन्धा सकेर फर्केकी थिई । उनले घडी हेर्दा चियाचमेनाको समय भइसकेको थियो । त्यसैले सधैँजस्तै लोग्ने र आफूलाई समेत कफी र केही खाजा बोकेर उनी लोग्ने भए ठाउँमा पुगेकी थिइन् । अविरल अझै ट्याबमै थिए अर्थात् उनी च्याटकै दुनियाँमा थिए । सधैँ धीरालाई अविरलको यस्तो कर्मले हुनसम्म रिस उठ्थ्यो । अविरल र अविधाका बीचका संवाद नपढुञ्जेल उनीहरूबीच च्याट सन्दर्भमा पटकपटक भनाभन पनि नभएको होइन । तर आज किन हो किन अविरलको च्याट व्यस्तता पनि उनलाई मन परेको थियो ।

धीरा सन्तुष्ट भावले फिस्स हाँसिन् ।

टि टेबलमा कफी र खाजाको किश्ती राखेपछि उनी आफ्नो भागको खाजा लिएर खान थालिन् । सधैँ झैँ उनको आगमनप्रति खासै महत्व नदिई च्याटको निरन्तरतासँगसँगै अविरल पनि खाजा खाँदै थिए । तर त्यहाँ बसुञ्जेल धीराले मोबाइल खोलिनन् र मोबाइलको साउण्ड हिजैदेखि अफ गरिएकाले मोबाइल शान्त थियो । मनभित्र एक किसिमको प्राप्ति, आनन्द, उकुसमुकुस र उत्साहको सञ्चार भएको अनुभूतिले धीरालाई आफूमा जाँगर भरिए झैँ भएको थियो ।

आफ्नो भागको खाजा र कफी खाइसकेर उनले लोग्नेको गतिविधि निहारिन र फेरि फिस्स हाँसिन् । अविरल सधैँझैँ च्याटमा सक्रिय र खाजामा सुस्त गतिमा थिए । उनको कफी थर्मस कपमा थियो ।

सधैँ लोग्नेको आफूप्रतिको वेवास्ताले पिरोलिने धीराको मन पनि आज फुरुङ्ग थियो । आफूले खाइसकेका भाँडाकुँडा समेटेर पुन: एकपटक लोग्नेको गतिविधि निहार्दै ढुक्क हुँदै उनी बैठक कोठाबाट बाहिरिइन् । उनको मोबाइल एउटा सानो नेपाली ढाका कपडाबाट तयार गरिएको थुप्रै गोजी भएको चिटिक्क परेको साइड ब्यागमा राखिसकेकी थिइन् । यो ब्याग श्लाघाले अष्ट्रेलिया जानुअघि ‘तिमीलाई यसमा मोबाइल र केही पैसा हालेर तल माथि गर्न सजिलो हुन्छ’ भनेर दिएकी थिई । ‘मैले फोन गर्दा तिमीसँग सधैँ मोबाइल साथमा होस नि !’ भन्दै श्लाघाले हाँस्तै उनलाई अँगालोमा बाँधेकी थिई । उनले ‘हुन्छ म तेसै गर्छु नि छोरी !’ भनेकी त हुन् । तर खोई किन हो छोरीले भने जसरी जतिखेर पनि त्यस ब्यागलाई बोक्न चाहिँ उनी बिर्सन्थिन् । कतिपटक श्लाघाले समय निकालेर फोन गर्दा उनी कहिले कौशीमा, कहिले तल आँगनमा हुन्थिन् र मोबाइल उनीसँग हुन्थेन् । पछि मोबाइलमा हेरेपछि छोरीले रिसाएर पठाएको मेसेज त्यहाँ हुन्थ्यो, ‘तिमीले झोला बोकेकी छैनौ ? उफ !’ अनि धीराले हतार हतार श्लाघालाई कल ब्याक गर्दा ‘अब म बिजी छु, अहिले कुरा गर्न मिल्दैन, पछि कुरा गरौँला ।’ यसरी छोरीको मेसेजमात्र पढ्नु पथ्र्यो उनले ।

श्लाघा जति रिसाउँदा पनि त्यो ब्याग झुण्ड्याउने उनको आदत बस्नै सकेको थिएन । तर आज अचानक ड्रअरमा राखेको त्यस ब्यागको उनलाई सम्झना भएको थियो र उनले हत्तपत्त ब्याग भिरेर त्यसमा मोबाइल पनि घुसारिसकेकी थिइन् ।

समय निकै बितेको थियो । यसबीच कुनै पार्टी विशेषमा जाँदा राम्रा लुगा लगाएका बेला उनी सधैँ झैँ अविरललाई फोटो सेसनका लागि अनुरोध गर्थिन् । अविरल उनीसँगको संयुक्त फोटो खिच्न भन्दा छुट्टाछुट्टै फोटो खिच्न उत्सुक हुन्थे । अब उनको पनि आफ्नो मात्रै फोटो खिच्ने उद्देश्य भइसकेको थियो । त्यसैले दुवैले एक अर्काका थरिथरिका फोटो खिच्थे । त्यसपछि घर पुगेर दुवैले आआफ्ना फेसबुकमा फोटो अपलोड गर्थे ।

‘कति सुन्दर, यो सुन्दरता आँखैमा टाँसिरहुँ लाग्छ । तिमीलाई तिम्रा ईश्वरले फुर्सत्मा बनाए झैँ लाग्छ ।’

प्रेमदूत हिजोआज कमेन्टमा नलेखेर मेसेञ्जरमा लेख्थे । सँगसँगै गएर उनले नै फोटो खिच्दा पनि अविरलको मुखबाट धीराको प्रशंसाका लागि शब्द नै निस्कँदैनथ्यो । कहिलेकाहीँ त अविरलले उनले सारी, कुर्ता सुरुवाल वा पाइन्ट के लगाएकी छन् भन्नेसम्म पनि हेक्का राख्दैनथे । प्रेमदूत धीराको जीवनमा आउनु अघि उनीप्रतिको अविरलको यस्तो व्यवहारले दुख्नुसम्म उनको चित्त पनि दुख्थ्यो । तर उनले त्यसरी चित्त दुखाउनुको वा अँध्यारो मुख लगाउनु वा वाथरुमभित्र पसेर रोएर आँखा सुन्याउनुप्रति पनि अविरललाई कुनै चासो नै हुन्थेन । अविरलको शरीर उनीसँग भए पनि मन अन्तै भएको कुरा अहिले प्रेमदूतसँगको सामिप्यताले धीरालाई पनि बुझाउँदै थियो ।

मानवीय संवेदनाले नै प्रशंसा खोज्छ, झन् स्त्री संवेदना त प्रशंसामै लुटुपुटु हुन्छ । त्यसैले प्रेमदूतबाट पटकपटक हरेकपटक आफ्नो रूप, बनोट र विचारको समेत प्रशंसा सुन्न अब धीरा लालायित हुन थालेकी थिइन् । हुनत प्रेमदूत प्राय: जसो अनलाइन नै हुन्थे । धीरालाई अचम्म पनि लाग्थ्यो । कहिलेकाहीँ मध्यरातमा बाथरुमका लागि बिउँझिँदा समेत मस्त निदाइरहेको अविरलको पलङतिर हेरेर उनी मेसेञ्जर खोल्थिन् ।

‘किन रातभरि जागेको, यसरी रातभरि जाग्यो भने स्वास्थ्य खराब हुन्छ ।’ उनी बुजु्रक भावले स्नेहिल उपदेशात्मक मेसेज पठाउँथिन् ।

‘मेरो कामै अनलाइन हो । सधैं जाग्रत रहनु मेरो पेसाको मर्यादा हो । मेरो स्वास्थ्य निकै मजबुत छ, हत्तपत्त बिग्रिने छैन ।’

‘अँ…. अनलाइन देखिनौँ भने बरु मेरो स्वास्थ्य खराब भयो भन्ठान्नु ।’

त्यसपछि अर्को लाइनमा उनीद्वारा ‘हाहा’को कार्टुन पठाइएको हुन्थ्यो ।

‘कस्तो अजीव मान्छे !’ त्यतिबेला प्रेमदूतको मेसेज पढेपछि उनको मनमा आश्चर्यका फोकाहरू उठ्थे पनि तर ती फोकाहरू बिहान हुनु अघि नै फुटिसकेका हुन्थे ।

प्रेमदूत र उनको च्याट चलेको वर्षदिन नाघिसकेको थियो । यसबीच उनैले प्रेमदूतसँग भेटघाटका लागि पनि प्रस्ताव राखेकी थिइन् ।

‘समय आएपछि भेटघाट हुने नै छ, भेट्नु भनेको छुट्टिनु अघिको समय हो । मलाई लाग्छ तिमीसँग जब भेट्ने छु, कतै छुट्टिनुको पीडा त भोगिँदैन ? त्यसैले हामी जे छौँ, जसरी छौँ, यसैमा रमाउँदा के बिग्रिएको छ र ? होइन ?’

‘अनि तिमी र अविरल सँगसँगै एउटै घर र एउटै कोठामा बस्छौ तर कति टाढा छौ । तिम्रो र मेरो भेटै नभए पनि हामी धेरै नजिक छौँ । होइन र ?’

प्रेमदूतको तर्कका अघि उनको केही सीप लाग्दैन थियो । उनलाई आफूले यति विधि मनपराएको व्यक्तिको आवरण कस्तो होला ? धीरालाई उसलाई भेटौँ, कुरा गरौँ, छोऊँ भन्ने आकांक्षा हुने गथ्र्यो । अविरलसँग मायाप्रेम भन्दा पनि बाध्यताजस्तो सम्बन्ध बिताउन विवश उनलाई पनि पुरुष तिर्सना जाग्नु अनौठो थिएन । अझ प्रेमदूतका मीठामीठा र रङ्गीन तर शिष्ट विचारले उनी आफूलाई प्रेमदूतकै सेरोफेरो र एक किसिमको उसको नशामै परेको अनुभूति पनि गर्थिन् । तर खोई कसरी बनेका थिए, प्रेमदूत ! असङ्ख्य मेसेज गर्थे तर भेटदेखि तर्किन्थे ।

‘हेर, अब म तिमीसँग नभेटी छोड्दिन । अविरलसँगको मेरो सम्बन्ध म अब धान्न नसक्ने भएकी छु । तिमी र मसँगै बसेर केही कुराहरूको टुङ्गो लाउनु छ । मैले तिम्रो मेरो सम्बन्धकाबारे श्लाघालाई भन्नु छ । त्यसैले तिमीले यो साता मलाई भेट्नैपर्छ । किनभने म र अविरल अब दुई महिनापछि श्लाघाको ग्रेजुएसन् सेरोमनीका लागि अस्टे«लिया जाँदै छौँ । हेर, म अब तिम्रो कुनै तर्क र बहाना सुन्दिन ।’

धीराले लेखेकी थिइन् । तर त्यसपछि सधैँजस्तो गरेर लगत्तै प्रेमदूतको जवाफ आएको थिएन । यसबीच उनको मुटुको स्पन्दन निकै बढेको थियो । ‘आखिर यो मान्छे हो को ? यति स्तरीय, मीठा र परिमार्जित विचारको मानिस किन मलाई भेट्न चाहँदैन ? कतै अपाङ्ग पो हो कि ?, अपाङ्ग भए पनि भन्नुपर्छ नि, मसँग किन लुकेर बस्नु ! यति मायालु मानिस अपाङ्गै भए पनि मलाई त स्वीकार्य छ । अनि विवाहित हो भनौँ भने पनि विवाहित नभएको कुरा उसैको विचारले प्रष्ट पार्छ ।

‘विवाह मेरो शब्दकोश मै छैन !’ कुनै दिन विवाहबारे उनीहरूबीच छलफल चलेका बेला उनले फर्काएको जवाफ मेसेञ्जरको भित्तामा मात्र होइन धीराको मस्तिष्कको डायरीमा पनि त्यसबेला नै खुशीसाथ टिपिएको र सजाइएको कुरा पनि यसबेला धीराले सम्झेकी थिइन् ।

त्यसदिन प्रेमदूतको प्रतिउत्तर नआउञ्जेल उनका मनमा सकारात्मक भन्दा नकारात्मक विचारकै उफान बढिरह्यो । यसबीच उनलाई केही काम गर्न पनि जाँगर चलेको थिएन । पटकपटक मेसेञ्जर बक्समा प्रेमदूतको मेसेज पर्खिएरै उनले लामो समय बिताएकी थिइन् ।

‘के त तिमी नभेटी नछोड्ने नै हो त ?’

झन्नै एकघण्टा बितेपछि प्रेमदूतको प्रश्न उनका अघि तेर्सिएको थियो ।

‘हो, म अब तिमीसँग जसरी पनि भेट्छु । पहिलो दिन हामी कुनै रेस्टुराँमा चिया खान सक्छौँ । पछिपछि अन्यत्र पनि भेटौँला । अनि तिमीसँग यातायातको कुन साधन छ ? वाइक वा कार ?’ मनमा आशाको रङ्गीन दीयो बालेर उनले सोधेकी थिइन् ।

‘म कुनै रेस्टुरेण्ट वा होटलमा जाने गरेको छैन । ठीकै छ, तिमी नभेटी नछोड्ने होऊ भने मेरो अफिस मै आऊ । पर्सी दिउँसो १ बजे । त्यसबेला अफिस शान्त हुन्छ । म तिम्रो प्रतीक्षामा हुने छु ।’

प्रेमदूतले लेखेको थियो र उनले यी लेखाई पढ्दा नपढ्दै प्रेमदूतले आफ्नो कार्यालयको ठेगाना पनि पठाइसकेको थियो ।

‘कस्तो फास्ट !’

अब धीराको उमङ्गको सीमै थिएन । दुईवर्ष हुन लाग्दा आफूले भुतुक्क भएर मनपराएको व्यक्तिसँग पहिलो पटक उनी भेट्दै थिइन् ।

‘कस्तो होला ?, अग्लो ? होचो ?, कालो ? गोरो ?, किसिम किसिमका काल्पनिक चित्रहरू उनका मनभरि नाचिरहे । आज साँझ टरिसके पनि भोलिको सिङ्गो कष्ठकर दिन प्रेमदूतको प्रतीक्षामा बिताउनु थियो ।

‘के गर्दै छौ ?’ भोलिपल्ट सधैंको समयमा धीराले नै सोधेकी थिइन् ।

‘आफ्नो सधैँ कै कर्म त हो नि ? तिमी नि ?’ उसले संक्षिप्तमा जवाफ दिएको थियो ।

‘म ….. म त भोलि कुन बेला १ बज्छ भनेर घडी हेरिरहेकी छु । यो घडी किन यति बिस्तारै चल्दैछ भनेर रिस पनि उठिरहेछ ।’ उनले जवाफ दिएकी थिइन् ।

‘तर तिमी छक्क नपर्नु है, मलाई भोलि नभइदिए हुन्थ्यो भन्ने लागेको छ । तिमीसँगको यो प्रेमील सहवार्ता अन्त्यको सम्भावनाले म त्रस्त छु ।’ उसले लेखेको थियो ।

‘त्यसो नभन न, तिमीजस्तो सकारात्मक चिन्तकले किन यस्तो नकारात्मक कुरा सोचेको ? तिम्रो यो कुरा मलाई पटक्कै मन परेन ।’ उनले जवाफ फर्काएकी थिइन् ।

‘सुन, के तिमी मसँग साँच्चै प्रेम गछ्यौ ?’ उसले लेखेको थियो ।

‘तिमी कस्तो प्रश्न सोध्दै छौ ? हामीबीचको दुईवर्षको सम्बन्धपछि सोध्ने प्रश्न हो र यो ? तिमीसँग गरेको प्रेमले आशक्ति र आवश्यकताको रूप धारण गरेकैले तिमीसँग सशरीर भेट्न चाहेको कुरा पनि मैले तिमीलाई अर्थ लगाइरहनु पर्छ र ? बरु मैले यही प्रश्न तिमीसँग पो सोध्नुपर्ने भएको छ ।’ धीराले बढो अधिरताका साथ केही आक्रोशित पनि हुँदै उत्तरमा लेखेकी थिइन् ।

 

‘तिमी मलाई गुमाउन चाहान्नौ भने अझै पनि केही बिग्रेको छैन । भेटेर केही हुने पनि होइन । फेरि तिमीले पनि कुखुरे वैँस र मध्यवैंस पनि पार गरिसकेकी छौ । हाम्रो यो भावनात्मक प्रेम भन्दा ठूलो र अजरअमर अरु कुनै प्रेम हुन सक्तैन । तिमी जिद्धि नगर धीरा ! अझै समय छ, केही बिग्रेको छैन, हामी नभेटौँ ।’

फेरि पनि प्रेमदूतको तर्कपूर्णको अनुरोध आएको थियो । ‘लौ अब अरु कुरा नगरौँ, तिमी त भेडा हौ कि क्या हो ? एकोहोरो नभेट्ने राग अलापेको अलाप्यै गछौँ बा ! कस्तो तिमीलाई आफूमाथि विश्वास नभएको हो कि के हो ? मलाई त हाम्रो भेटपछि हाम्रो प्रेम थप गाढा हुने कुरामा विश्वास छ । म अब आज तिमीसँग अरु केही कुरा पनि गर्दिन । एकैचोटी भोलि १ बजे तिम्रो अफिसमा तिमी सामू उपस्थित हुने छु ।’

‘बरु भन त तिमी मलाई कुन पोशाकमा हेर्न मन पराउँछौ ? सारी, कुर्ता, लहंगा, सरारा, मिडी वा पाइन्ट ? अनि कुन रङको लुगा लगाएर आऊँ ?’ धीराले उत्साहित हुँदै लेखेकी थिइन् ।

‘तिमी गुलाफी सारी र गुलाफी लिविष्टिक लगाएर आऊ । मेरी प्रेमिकालाई भोलि म धीत मरुञ्जेल हेर्ने छु ।’ प्रेमदूतले लेखेको थियो ।

धीरालाई प्रेमदूतका प्रेमिल लेखन पढ्नासाथ उनको सारा शरीरमा आनन्दको काँढा उम्रिए झैँ भएको थियो ।

‘तिमीसँग ग्रे कलरको सुट छ ? छैन भने जुन रङको भए पनि हु्रन्छ । तर तिमीलाई म पहिलो पटक सुटमा हे्र्न चाहन्छु ।’ उनले पनि मनभरि सुकोमल भावनाहरू समेटेर लेखेकी थिइन् । उताबाट कुनै लेखोटको साटो स्याडको स्टिकर पठाइएको थियो । तर त्यसबेला उनले त्यस स्टिकरलाई महत्व पनि दिइनन् । त्यसपछि उनीहरूबीच अन्य संवाद रोकिएको थियो ।

छटपटीमै बल्ल तल्ल उनको रात बितेको थियो । दुई वर्षअघिदेखि गाँसिएको उनीहरूको सम्बन्धको भौतिक आकार भोलिमात्र उनले समेट्दै थिइन् । अचम्म पनि लागेको थियो उनलाई, भेटघाट त परै जाओस् प्रेमदूतको आवाज पनि सुनेकी थिइनन् उनले ।

‘हामी कुराकानी पनि गर्न सक्छौँ नि, कति टाइप गरिरहनु ? लेख्दा लेख्दै हैरान हुन्छु म त’, एक दिउँसो अविरल अफिस गएका बेला धीराले ऊसँग प्रस्ताव राखेकी थिइन् ।

‘मेरो कार्यालयमा अरु पनि छन्, मैले आवाज निकालेर कुरा गर्नु उपयुक्त हुँदैन ।’ अनि कार्यालयको समय बाहेकमा अविरलको उपस्थितिका बेला धीरा पनि कुराकानी गर्न असमर्थ थिइन् । त्यसैले कुराकानी पनि उनीहरू बीच भएको थिएन । त्यसैले प्रेमदूतको शरीर मात्र होइन आवाज सुन्न पनि उनी लालायित थिइन् ।

‘कस्ता होलान उनी ?, कस्तो होला उनको आवाज ?, त्यति मनमोहक शब्द प्रस्तोताको आवाज पनि पक्कै ओजश्वी हुनुपर्छ ।’ मनमनै प्रेममूतको सुन्दर आवरणमा खामिएको ओजपूर्ण आवाजद्वारा प्रस्तुत हुने उनीप्रतिको सजीव प्रेमको काल्पनिक चित्रसँग खेल्दा खेल्दै निकै रात वितेपछि मात्र उनी निदाएकी थिइन् । त्यतिबिधि रसिली भएर निदाएकी उनले त्यस रात सपना चाहिँ एकदम निस्तो निस्तो देखेकी थिइन् । बिहान बिउँझिएपछि विनाअर्थको सपना सम्झँदा उनलाई अलि झिँझो लागेको थियो । तर सपनाको कुरामा अल्मलिने समय पनि उनीसँग त्यसबेला थिएन ।

धीराले बिहानको नित्यकर्मका साथ फूर्तिलो पाराले भातभान्साको तयारी गरिन् । सधैँ झैँ अविरललाई भात पस्केर आफ्ना लागि पनि लिँदै खाइन् । अविरल सधैँ झैँ अफिस हिँड्न लागेका थिए । ‘म आज बाहिर जानु छ ।’ उनले लोग्नेलाई आफ्नो बाह्यगमनबारे सुसूचित गरेकी थिइन् । अविरल नियमित झैँ कुनै प्रतिक्रिया नदिई मोटर स्टार्ट गरेर मूलढोका बाहिर पुगेका थिए । तर अविरलको यो निरपेक्ष व्यवहारले पनि उनलाई त्यसबेला खुशी भरिएको सन्तुष्टि दिएको थियो ।

अब समय उनले चाहे अनुरूप नै बित्दै थियो । प्रेमदूतले भने झैँको लुगा पहिरेर उनी पुरै शरीर देखिने ऐनाका अघिल्तिर उभिएकी थिइन् । ‘मलाई त गुलाफी रङमा बोलाए उनी कस्तो भएर आउने हुन् ? मैले भने झैँ सुटमा आउलान् ?’ उनले आफैँसँग प्रश्न गरेकी थिइन् ।

आजसम्म प्रेमदूतले आफ्नो एउटा फोटो पनि देखाएका थिएनन् ।

‘तिमी कस्ता छौ, यति सुन्दर अभिव्यक्तिका मालिक पक्कै पनि सुन्दर हुनुपर्छ ।’ एकपटक उनले ऊसँग कुतुहलपूर्वकको आग्रह पनि नगरेकी होइनन् ।

‘भैगो, फोटो वा स्वरूपको केही अर्थ छैन । समय आएपछि यो रूप पनि तिम्रा सामू प्रस्तुत हुनैपर्ने छ । किन त्यस अघि मेरो स्वरूपको खोजी गछ्र्यौ ?, यो स्वरूप, यी आवरण, यो भौतिकताको त्यति गहन अर्थ छैन । वास्तवमा यी क्षणिक मोह बाहेक केही होइनन् ।’ त्यतिबेला प्रेमदूतको दार्शनिक उत्तरले उनको कुतुहल शान्त भएको थियो । तर आफूले त्यत्ति रुचाउँदै गएको प्रेमदूतको भौतिक रूपप्रतिको उनको तृष्णा शान्त पार्न सक्ने क्षमता पनि उनीसँग कमसे कम थिएन । तर प्रेमदूतको शालिन, विवेक र बुद्धिपूर्ण तर्क जित्न सक्ने सामथ्र्य पनि उनीसँग नभएका कारण धीराले पुन: पुन: प्रेमदूतसँग साक्षात्कारका लागि अनुरोधै पनि गरेकी थिइनन् ।

‘त्यसो भनेर पनि कसरी हुन्छ र ? तिमी त्यति उचाईका कुरा गर्छौ । जीवन यही धर्तीमा बिताउनु पर्छ, विचारैमात्र सँगालेर रमाउन पनि सकिन्न नि ! मलाई त तिम्रो स्वरूपसँग पनि रमाउन मन छ । प्रेमदूतको आकर्षणले धेरै नै तानेपछि एकपटक उनले मन खोलेरै ऊसँग प्रस्ताव राखेकी थिइन् ।

‘तिमी पुन: कुखुरे बैँसका कुरा गर्न थालेकी छौ । एउटी परिपक्व स्त्रीका लागि स्वरूपको आकर्षणभन्दा भावना र विचारको आकर्षणको महत्व हुनुपर्ने होइन र ? तिमीले अविरलसँग स्वरूपको आकर्षण र भोग सकेर विकर्षण समेत भोगिसकेकी छौ । मेरो स्वरूपप्रतिको आकर्षण पछिको प्राप्तिले दिने सुखभोग पछिको परिणाम पनि यसरी नै दोहोरिँदै जाने छैन भनेर तिमी किटान गर्न सक्छ्यौ ?’ प्रेमदूतको जवाफले उनलाई एकदम भित्रैसम्म हल्लाएर छोडेको थियो । त्यसपछि उनले प्रेमदूतसँग भौतिक आकर्षणबारे चर्चा गर्ने हिम्मत नै गर्न सकेकी थिइनन् । तर पटकपटक हरेकपटक प्रेमदूतसँग साक्षात्कारका लागि धीराको तडप भने बढ्दै गएको थियो । अविरलसँग छोटो समयको भेटघाटपछि तुरुन्तै बिहे गरेर गाँसिएको समयभन्दा अहिले प्रेमदूतसँगको सामिप्यता चाहको मृदु प्रताडना प्रबल हुँदै गएको थियो ।

आज उनको सोही चाह साकार हुने घडी नजिकिँदै थियो । प्रेमदूतको त्रिपुरेश्वरमा भएको अफिसको ठेगाना उनले पाइसकेकी थिइन् । उनको पुरानो बानेश्वरस्थित घरबाट ट्याक्सीमा सरर्र त्यहाँ पुग्न त दश मिनेट लाग्ने हो तर जामको हिसाब गर्दा आधाघण्टाकै बाटो ठानेर हिँड्नु राम्रो उनले ठहर गरेकी थिइन् । त्यसैले १२ बजेर २५ मिनेटमा उनले गुलाफी रङको लिविष्टिक ओठमा लगाइन् । धेरै दिनपछि आफूले चाहेको मानिसको रोजाईको लिविष्टिकले ओठ चुम्दा उनको सारा शरीरमा सिरीङ्ग भएर एक किसिमको रोमाञ्चकताले उनलाई जिस्क्याएर गएको थियो ।

केहीबेर ऐनामा उनले आफैँलाई निहारिरहिन् । ‘म अझै पनि राम्री छु’ विवाहिता भएर पनि निकै अन्तरालदेखि आफ्नै लोग्नेले पनि आँखा गाढेर नहेरेको उनको सर्वाङ्ग कौमार्यको अनुभूतिले उथुलपुथुल भएको थियो । धीराले आफैंलाई आफूले पनि हेरिरहन सकिनन् । प्रेमदूतसँगको निश्चित भेटको मीठो मानस स्पर्शसमेत गाँसिनाले एककिसिमको मादकताले उनलाई झुम्म पारेको थियो । एकैछिन आँखा चिम्लिन् र लामो सास तानेर छातीभरी पारिन् । त्यसपछि ऐना नहेरी विस्तारै बाहिर निस्कँदै मूल ढोका थुन्दै मूल सडकमा उनी पुगेकी थिइन् ।

‘मोनालिसा एडभान्स नेटवर्क’ खोज्न उनलाई गाह्रो भएको थिएन । ‘विविधा टावरको छैठौँ तलामा अवस्थित प्रेमदूतले दिएको ठेगानामा उनी लिफ्टको सहारामा सहजै पुगेकी थिइन् । रिसेप्सनमा नवयुवती सजिएकी थिइन् । उनले प्रेमदूतसँग भेट्न आएको भन्नासाथ निकै आश्चर्यको मुद्रामा रिसेप्सनिष्टले उनलाई हेरेकी थिइन् । कागजको चिर्कटोमा धीराले आफ्नो नाउँ लेखेर दिएपछि उनलाई त्यहीँ भएको सोफामा बसाएर रिसेप्सनिष्ट देबे्रपट्टिको ढोका खोलेर भित्रतिर पसेकी थिइन् ।

धीरा मुटुको धड्कन शान्त बनाउँदै सोफामा बसेकी थिइन् । बिस्तारै उनले कार्यालयको चारैतिर नियालेकी थिइन् । जताततै टेबुलमा कम्प्युटरै कम्प्युटरमात्र थिए । तर त्यहाँ मानवीय उपस्थितिको कुनै आभास थिएन । एकदम चकमन्न ।

‘कस्तो अफिस हो ? कम्प्युटरमात्र ? मानिस ?’ उनको मनले उनीसँगै प्रश्न गरेको थियो । ‘लञ्च आवर’ उनको मनले नै जवाफ दिएपछि उनी ढुक्क भएकी थिइन् ।

केही समय मै रिसेप्सनिष्ट फर्केकी थिइन् र उनलाई भित्र पस्ने आग्रह गर्दै ढोका खोलिदिएकी थिइन् । निकै लामो ग्यालेरी पार गरेपछि उनलाई रिसेप्सनिष्टले एउटा ढोकाको अघिल्तिर पुर्‍याएकी थिइन् । ढोकाको दाहिनेपट्टि ‘रोबोट दि ग्रेट’ लेखिएको नेमप्लेट पढ्न तत्काल उनले भ्याएकी थिइन् ।

ढोका खोेलेर आफू बाहिरै उभिएर रिसेप्सनिस्टले उनलाई भित्र पसाएकी थिइन् । भित्र पस्तापस्तै उनले रिसेप्सनिष्टको अनुहारमा कृतज्ञतापूर्वक हेरेकी थिइन् तर रिसेप्सनिस्टको मुस्कानमा अर्कै भाव थियो ।

उनलाई प्रेमदूतसँग भेट्नु थियो, भेटेर मनका सबै कुरा भन्नु थियो, सुन्नु थियो । त्यसैले उनलाई यसबेला अरु कुनै कुरासँग खासै मतलब पनि थिएन ।

अब प्रेमदूतको भनिएको कोठामा उनी पसिसकेकी थिइन् । झ्यालमा सेता पर्दा लगाइएकाले कोठामा बाहिरबाट प्रवेश गरेको सूर्यकै पर्याप्त उज्यालो थियो । कोठाको भूइँमा सुन्दर र सफा कार्पेट थियो । तर त्यहाँ मानवीय उपस्थिति भने शून्य थियो । एउटा हाकिम कुर्सी, त्यस अघिल्तिर एउटा भव्य नै टेबुल, टेबुलमा कम्प्युटर र अलि पत्र्तिर एउटा तन्नाजस्तै ठूलै कपडाले छोपेको केही अल्गोजस्तो वस्तु बाहेक त्यहाँ अरु केही थिएन ।

धीराले अचम्ममा परेर यताउती हेरिरहिन् मात्र ।

धीराले अविरल बाहेक जीवनमा अरु कुनै पुरुषसँग कहिल्यै एकान्तमा भेटेकी पनि थिइनन् । उनको मन त्यसैत्यसै खुशी र एक किसिमको भयसमेत मिसिएर रोमाञ्चित थियो । त्यस कोठाको एकान्त वातावरणमा आफुले यत्तिका दिनसम्म प्रेम गरेपछि प्रथम पटक भेट्न लागेको प्रेमीको सामिप्यताको भाव समेत गाँसिनाले धीरा थप रोमाञ्चक अनुभूतिको मादमा परिसकेकी थिइन् ।

तर उनको प्रेमदूत भने त्यहाँ देखिएका थिएनन् ।

‘यो के हो ? खोई प्रेमदूत ? मलाई किन यसरी छक्याएका होलान् ?’ कोठामा कतै पनि उनलाई नदेखेपछि धीराको मनभरि कालोकालो बादल मडारिन खोज्दै थियो ।

‘तिमीले मेरो अफिसमा आउँदा मोबाइल चाहिँ ल्याउन नबिर्सिनु है । र मोबाइल पनि हातैमा बोक्नु । नत्र मलाई भेट्न गाह्रो होला । अनि तिम्रो मोबाइलको फोरजी पनि अन राख्नु है’ हिजैमात्र प्रेमदूतले आफूलाई दिएको निर्देशन धीराले झट्टै सम्झेकी थिइन् ।

‘ए…’ भन्दै धीराले हतार हतार हाते व्यागबाट मोबाइल झिकिन् र झट्टै फोरजी पनि अन गरिन् ।’ नभन्दै मेसेञ्जरमा उनले प्रेमदूतको मेसेजको सङ्केत देखिन् ।

‘तिमीलाई मेरो कार्यकक्षमा स्वागत छ ।’ उनले लेखेको एक मिनेट भएको थियो । मेसेज पढेर मुख अमिलो पार्दै फेरि उनले आफू उभिएको कोठाको चारैतिर पुन: आँखा पुर्‍याएकी थिइन् । कोठा पूर्ववत शान्त थियो ।

‘प्रेमदूत, तिमी कता छौ ? तिमीले मलाई किन यसरी उल्लु बनाइरहेका छौ ? कता लुकेर हेरिरहेका छौ ? मलाई कुखुरे वैँसको भन्ने तिम्रो परिमार्जित विचारले कसरी तिमीलाई मसँग यसरी खेल्न सघायो । छिटो सामुन्नेमा आऊ’ आफूले यति लामो समयदेखि सँगालेर राखेको उमङ्गको ज्वालामा पानी छ्याप्ने प्रेमदूतको यो खेल धीरालाई पटक्कै मनपरेको थिएन । त्यसैले उनले आफ्नो आक्रोशित भाव समेत पोखेर च्याटमा लेखेकी थिइन् ।

‘प्रिय ! म तिम्रै सामु छु’ उताबाट लेखिएको थियो । उनले टाउको उठाएर कोठाको चारैतिर फेरि पनि हेरेकी थिइन् । तर त्यस कोठामा कुनै मानवीय उपस्थिति नै थिएन ।

‘हेर मलाई यसरी न झुक्याऊ न, यस कोठामा त तिमी छैनौ, कि म गलत कोठामा छु ?’ उनले लेखेकी थिइन् ।

‘तिमी सही कोठामा छ्यौ । यस कोठामा एउटा टेबुल, एउटा कुर्सी र एउटा कम्प्युटर अनि छेवैमा कपडाले छोपिएको टेबुलभन्दा अग्लो एउटा वस्तु छ हैन ?’ प्रेमदूतले लेखेको थियो ।

‘हो तर तिमी यी सब कुरा कहाँबाट हेरिरहेका छौ ?’ उनले आश्चर्यपूर्वक सोधेकी थिइन् ।

‘म तिम्रै नजिक छु । अगाडि बढ र त्यो कपडा हटाऊ त !’

प्रेमदूतले उनलाई अह्राएको थियो । धीराले यन्त्रवत उसको आदेशको पालना गरेकी थिइन् ।

कपडा हटाउनासाथ त्यहाँ मानिसको कङ्कालजस्तो यन्त्र थियो र त्यसको टाउकोमा प्रेमदूत लेखिएको थियो ।

‘मेरो स्वरूप यही हो धीरा !’ पुन: प्रेमदूतद्वारा मेसेञ्जरमा लेखिएको थियो ।

‘हे भगवान् ! यो के हो ?’ कङ्कालजस्तो स्वरूपलाई प्रेमदूत स्वीकार गर्न उनी तयार छँदै थिइनन् ।

‘मलाई थाहा थियो, मलाई भेटेपछि तिमीमा जागेको मप्रतिको उत्साहको अन्त्य हुने छ । त्यसैले तिमीलाई बारम्बार हामी नभेटौँ भन्ने आग्रह गरेथेँ । तर तिमीले मानिनौ । तिमी मानिसहरू भावनामा मात्र रमाउन नसक्ने रहेछौ ।

मेरो आविष्कारक युवा कम्प्युटर वैज्ञानिक स्वयम् नै पे्रम प्रताडित व्यक्ति हुन् । उनकी प्रेमिकाले उनको स्वरूप गतिलो भएन भनेर उनी भन्दा सुन्दर पुरुष अपनाउँदै उनलाई त्यागेकी थिइन् । त्यसैले उनले वर्षाैं लगाएर मेरो आविष्कार गरेका हुन् । उनैले मेरो नाउँ प्रेमदूत राखेका हुन् । भौतिक शरीर बाहेक मसँग सबै कुरा छ । त्यसैले उनी मेरा माध्यमले युवतीहरूको मानसिकतासँग खेल्छन् र प्रेमको धीत मार्छन् ।

तर विश्वास गर धीरा, मैले तिमीसँग स्वतन्त्र र साँचो प्रेम गरेको छु । प्रेममा तिमीले धोका खाइसकेकी हुनाले अब शरीरसँगको तिम्रो चाह नहोला भन्ने मैले ठानेको थिएँ । तर म गलत रहेछु, मानिसहरू शरीरविनाको प्रेम गर्न नसक्ने रहेछन् । जाऊ, अब तिमी फर्क । आजदेखि म तिम्रो मेसेञ्जरमा हुने छैन ।’

‘सुन, तिमी राम्री छौ !’

यस अन्तिम मेसेजका साथसाथै स्याडको स्टिकर पनि त्यहाँ आएको थियो ।

त्यसपछि मेसेञ्जरबाट प्रेमदूतको भर्सन बन्द भएको थियो ।

शायद प्रेमदूतले धीरालाई ब्लक गरिसकेको थियो ।