काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोना महामारीको तेस्रो लहर छिट्टै शुरु हुने लक्षण देखिएको भन्दै सचेताको लागि आब्हान गर्नुभएको छ । शनिबार एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले सरकारको एक्लो प्रयासले मात्र महामारीसँग लड्न सम्भव नभएको जनाउदै कोराना रोकथाम र नियन्त्रण गर्न सबैको सामूहिक प्रयास आबश्यक रहेको बताउनु भयो ।
अतिआवश्यक परे मात्रै घरबाहिर निस्कन आग्रह समेत गर्नुभएको छ । भिडियो सन्देशमा प्रधानमन्त्री देउवाले मास्कको उचित प्रयोग गर्न र भौतिक दूरी कायम गर्न आह्वान समेत गर्नुभएको छ । प्रधानमन्त्री देउवाले सम्पूर्ण राजनीतिक दल र निजी क्षेत्रलाई भिडभाड हुने भेला आयोजना नगर्न समेत आग्रह गर्नुभएको छ ।
सम्वोधनको पूर्णपाठ
नमस्कार
तपाईं हामी सबै अहिले कोरोना महामारीको सामना गरिरहेका छौं । कोरोना महामारीको तेस्रो लहर नेपालमा पनि छिट्टै शुरु हुने लक्षण देखिन थालेका छन् । सरकारको एक्लो प्रयासले मात्र कोरोना महामारीसँग लड्न सम्भव छैन । हामी सबै मिलेर मात्र यो महामारीलाई पार लगाउन सकिन्छ ।
त्यसैले म यहाँहरुसँग आग्रह गर्दछु । अत्यन्त आवश्यक परेका बेला मात्र बाहिर निस्कौं, बाहिर निस्कनु अघि नाक र मुख राम्ररी छोपिने गरी मास्क लगाऔं, भौतिक दूरी कायम गरौं, बेला बेलामा साबुनपानीले हात धोऔं, स्वास्थ्य सचेतनासम्बन्धी मापदण्डहरु सबै पालना गराैँ ।
यो महामारी नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी माध्यम खोप हो । अहिले विभिन्न उमेर समूहलाई खोप लगाउने कार्यक्रम जारी छ । खोप लगाउन जाँदा सामान्य दूरी कायम गरेर लाइनमा बस्न सबैलाई अनुरोध गर्दछु ।
सम्पूर्ण राजनीतिक दलहरु, निजी क्षेत्र, गैर सरकारी संस्थालाई पनि भेला हुने कार्यक्रम नगर्न र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर मात्र आफ्नो पेशा व्यवसाय तथा अन्य गतिविधि सञ्चालन गर्न आग्रह गर्दछु ।
मलाई पूर्ण विश्वास छ, हामी सबैको साझा प्रयासले छिट्टै महामारी नियन्त्रणमा सफल हुनेछौं ।
धन्यवाद ।











