• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
Latest
★   भावुक हुँदै सन्दीपले भने – मेरो सपना पूरा नभए पनि मेरो देशको सपना पूरा भएको… ★   काकाकुल अँधेरीगाउँ ★   विश्वको सबैभन्दा लामो रेल, एक कुनाबाट अर्को ठाउँमा पुग्न घण्टौं लाग्ने ★   म्याग्दीमा ‘मगर भाषा, थाली तथा कौडानाँच’ प्रशिक्षण ★   गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट, बुधबार पेशी ★   बुकीमै बसेर यार्सागुम्बाको खोजी ★   विश्वको सबैभन्दा लामो जाम, १२ दिनसम्म जाममा फस्नुपरेपछि… ★   अत्यधिक गर्मीले वीरगञ्जका विद्यालय तीन दिन बन्द ★   वायुसेवा निगमसहित पन्ध्र सरकारी संस्थान घाटामा ★   सन्दीप लामिछानेको भिसाको पहलका लागि क्यान अध्यक्ष चन्दले भेटे परराष्ट्रमन्त्री

जुत्ता चप्पल सिलाएरै फेरिएको जयबहादुरको जीवनशैली



पाल्पा । जुत्ता चप्पल सिलाउने व्यवसायलाई सम्मानजनक नजरले नहेर्ने गलत प्रवृत्ति हाम्रो समाजमा छ । जुत्ता चप्पल सिलाउने मात्रै नभई मजदुरी होस् या जुनसुकै पनि सानो काम गर्ने गरिब, विपन्न वर्गलाई समाजले राम्रो दर्जामा राख्न सक्दैन ।

कतिपयले समाजमा इज्जत नहुने, डर र लाजका कारण झट्ट काम गर्न मन पराउँदैनन् । जयबहादुर नेपालीलाई भने जुत्ता चप्पल व्यवसायले दाममात्रै नभई समाजमा राम्रो चिनिने अवसर मिलेको छ । उहाँले दुई दशक अघिदेखि यो व्यवसायलाई अङ्गाल्नुभएको हो । अहिले पनि निरन्तरता दिइराख्नुभएको छ ।

“पुराना च्यातिएका फाटेका जुत्ता चप्पल हातमा लिएर सियो र धागोले सिलाएको देख्दा धेरैले थु थु र घृणा गर्न थाले”, उहाँले भन्नुभयो, “अहिले भने व्यवसायबाट राम्रै कमाउन थालेपछि सबैले प्रशंसा गर्न थालेका छन् ।” रामपुर ५ स्थित बेझाड बजारको एक कच्ची घरको सानो कोठामा सियो र धागोबाट सुरु गरेको व्यवसाय अहिले सटर भाडामा लिएर व्यवस्थित तरिकाले चलाउनुभएको छ । विदेशतिर जानुभन्दा गाउँघरमै केही गरौँ भन्ने मनसायले पुराना च्यातिएका फाटेका जुत्ता चप्पल सिलाउने कार्य सुरु गरेको अहिले यसबाटै राम्रो आम्दानी गर्न सफल भएको उहाँ बताउनुहुन्छ ।

काम सानो ठूलो भन्ने हुँदैन, हातमा सीप भयो भने जुत्ता चप्पल सिलाएर लाखौँ कमाउन सकिने उहाँको अनुभव छ । बिहानदेखि राति अबेरसम्म पसलमा जुत्ता चप्पल सिलाएरै समय बितिरहेको छ । व्यवसाय फष्टाउँदै जाँदा हाल दुई जनालाई रोजगार दिनुभएको छ ।

यसै व्यवसायबाट छोराछोरीलाई उच्च शिक्षा, परिवारको खर्च सजिलै धान्दै आइरहेको उहाँको भनाइ छ । दुई जनालाई मासिक तलब, घरपरिवारको गुजारा सबै खर्च कटाएर मासिक रु ५० हजार बढी आम्दानी गर्न सफल भएको उहाँले बताउनुभयो । “समाजले के भन्छ भनेर बसियो भने जीवनमा प्रगति गर्न सकिँदैन, आफूले जे काम जानियो त्यही काम गर्ने हो, परिवारको साथमा बसेर मैले जुत्ता चप्पल सिलाएरै राम्रो कमाई गरेको छु, यसमै म सन्तुष्टि र खुसीसाथ जीवन व्यतीत गरिरहेको छु”, उहाँले भन्नुभयो ।

काममा इमान्दारिता र मेहनत गरियो भने पैसा कमाउन दुःख छैन । विवाह, पार्टी, स्कुल, कलेजका जुत्ता आफँैले तयार पार्नुहुन्छ । दैनिकजसो ५० भन्दा बढी ग्राहक पसलमा सेवा लिन पुग्छन् । सानो लगानीमा परिवारको साथमा रमाउन पाउँदा धेरै खुसीका साथ जीवन अगाडि बढेकोमा यस व्यवसायमा उहाँ गौरव गर्नुहुन्छ ।

ग्राहकको भीडले नेपालीलाई काममा अहिले भ्याइनभ्याइ छ । पुराना काम सँगसँगै आफैँले नयाँ जुत्ता चप्पल पनि तयार पार्न थालेपछि व्यापार व्यवसाय बढ्दै गएको छ । नयाँ कामबाट भन्दा पुराना कामबाट धेरै फाइदा लिन सकिने उहाँको अनुभव छ । मेहनत गरियो भने अरबको खाडीमा कमाएको धनको तुलनामा दोब्बर बढी कमाइ स्वदेशमै गर्न सकिन्छ भन्ने सबैका उदाहरणीय पात्र बन्नुभएको छ, ४८ वर्षीय जयबहादुर नेपाली । व्यवसायमा यस क्षेत्रमै सफल पात्रका रुपमा कहलिनुभएको छ । आफूले सक्दासम्म व्यवसायलाई धान्ने उहाँको अठोट छ ।

उहाँको व्यवसायमा रोजगार पाउँदा वसन्त नेपाली पनि उत्साहित हुनुुहुन्छ । दुबई, मलेसिया देशमा काम गरेर घर फर्कनुभएका वसन्तले दुई वर्ष अघिदेखि यहीँ काम गरी राख्नुभएको छ । उहाँले दैनिक रु एक हजारभन्दा बढी रकम कमाइ गरिरहनुभएको छ । रासस