काठमाडौं । १३ औँ संस्करणको साफ च्याम्पियनशिप फुटबल माल्दिभ्समा आयोजना हुने भएको छ ।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को सोमवार बसेको बैठकले अक्टोबरमा हुने साफ माल्दिभ्समा गर्ने निर्णय गरेको हो।
यसअघि प्रतियोगिताको जिम्मा पाएको बङ्गलादेशले कोभिड १९ सङ्क्रमणको कारण देखाउँदै साफ आयोजना गर्न नसक्ने जानकारी गराएपछि नयाँ आयोजकमा नेपाल र माल्दिभ्सले प्रस्ताव पेस गरेका थिए ।
आजको बैठकले नेपालमा कोभिड १९ को अवस्थालाई ध्यान दिँदै साफ च्याम्पियनशिप माल्दिभ्समा गर्ने निर्णय गरेको हो ।
आउँदो अक्टोबर १ देखि १३ तारिखसम्म आयोजना हुने १३ औँ साफमा नेपाल, भारत, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्काले खेल्नेछन् । यस्तै भुटानले सहभागिता जनाउने या नजनाउनेबारे तीन दिनभित्र निर्णय दिने बताइएको छ ।











