• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौं–तराई/मधेस द्रुतमार्गको ३३.२० प्रतिशत निर्माण कार्य सम्पन्न ★   आफूखुसी औषधि सेवन घातक ★   १ अर्ब बजेट विनियोजन गर्नका लागि प्रधानमन्त्रीसँग सांसद प्रेमबहादुर आलेको आग्रह ★   पर्यटनविज्ञ अभिषेक विक्रम शाह हिमालयन युवा उद्यमीबाट सम्मानित ★   दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु ★   संसदलाई समस्या समाधानको थलो बनाऔँः सभामुख घिमिरे ★   जसपा, नेपालले सरकारलाई दिएको समर्थनले निरन्तरता पाउँछः मनिष सुमन ★   चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक ★   राष्ट्रिय सुरक्षाका लागि समन्वय र साझा बुझाइ हुनुपर्छः रक्षामन्त्री उप्रेती ★   वर्षाले डढेलो निभाउने आशा

अन्नपूर्ण पदमार्गमा बढे विदेशी पर्यटक



लमजुङ । मौसम खुलेसँगै विश्व चर्चित अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक पुनः देखिन थालेका छन् । दसैँको समयमा निरन्तर वर्षाले गत १९ गतेदेखि पदमार्गमा जान नसकेका पर्यटक यतिबेला भने मौसम खुलेसँगै केही दिनअघिबाट धमाधम आइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले बताउनुभयो ।

दसैँका बेलामा दैनिक ८० भन्दाबढी पर्यटक आए पनि मौसममा खराब आएसँगै शून्य जस्तै बनेको यस पदमार्गमा पुनः पर्यटकको चहलपहल देखिएको छ । यतिबेला दैनिक एक सयदेखि एक सय ५० जनासम्म पर्यटक आउन थालेको उक्त केन्द्रले जनाएको छ ।

गुरुङले भन्नुभयो, “अन्य समयभन्दा दसैँ तिहारमा बढी पर्यटक आउछन्, तर दसैँमा मौसम खराबीले आउन थालेका पर्यटक आउन नसके पनि यतिबेला फेरि बढेका छन् ।” पदमार्ग आसपासका व्यापार व्यवसायसमेत फस्टाउन थालेको उहाँको भनाइ छ ।

पर्यटक आगामी कात्तिक÷मङ्सिरसम्म मात्र यस पदमार्गमा आउछन् । पर्यटक अझै बढ्ने अपेक्षा पर्यटन व्यवसायीले गरेका छन् । यस पदमार्गमा पर्ने मस्र्याङ्दी गाउँपालिका वडा नंं ४ जगतका पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले भन्नुभयो, “दसैँका बेलामा सुनसान भएको व्यवसाय यतिबेला पर्यटक आगमनले सास फेर्ने फुर्सद पनि नभएको जस्तै हुन थालेको छ ।”

पर्यटकको चाप बढ्न थालेसँगै आफ्नो होटल विदेशी पर्यटकले भरिन थालेकाले उनीहरुको सेवामा समय बित्ने गरेको उहाँको भनाइ छ । मस्र्याङ्दी गाउँपालिका–४ स्यागेका पर्यटन व्यवसायी तुल्सी गुरुङले पनि यतिबेला पर्यटक खचाखच रहेको बताउनुभयो । “होटलमा पर्यटक भरिन थालेका छन्, योभन्दा बढी राम्रो व्यापार हुन्थ्यो तर केही दिनअघिको मौसमले गर्दा व्यवसायमा असर पुगेको छ” ,उहाँले भन्नुभयो ।

यसअघि होटलमा आउन बुकिङ गरेका २०÷२२ जनाको आठ गु्रपले बुकिङ क्यान्सिल गरेको उहाँले सुनाउनुभयो । पर्यटक सीमित समयका लागि समय छुट्याएर आएका हुन्छन् । तर १५÷२० दिनको मौसम खराबले गर्दा उनीहरु फर्किन पर्दा व्यवसायमा समेत असर पुगेको र आउन लागेका पर्यटकसमेत कम आएको उहाँले बताउनुभयो ।

पर्यटकहरु हिमाल, पहाडका दृश्य, यस क्षेत्रको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न आउने गर्दछन् । पर्यटक विशेष गरी थोराङला, लार्के र कालापास गर्ने गर्दछन् भने केही पर्यटक विश्वको अग्लो स्थानमा रहेको तिलिचो ताल हेर्न जाने गरेका छन् ।

उक्त पर्यटकीयस्थल साथै मनाङका खर्क अनि घाँसेमैदान हरियो हुने तथा फापर र उवा फूलेको दृश्यले पर्यटकलाई आकर्षित गर्ने गर्दछ । अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच वटा जिल्ला जोडिएका छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका वडा नंं ७ मा पर्दछ । पदमार्गमा आउने पर्यटकले गर्दा यस प्रवेशद्वारको होटल व्यवसायमा समेत पर्यटकको चहलपहल तीव्र हुन थालेसँगै व्यवसायी व्यस्त हुने गरेका छन् ।