• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo
Latest
★   देशमा केही नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु होः उपप्रधानमन्त्री लामिछाने ★   पुरानो पार्टीका भद्दा नक्कल गर्न भएन भन्नेमा हामी सचेत छौँ – उपसभापति वाग्ले ★   ‘खल्तीमा राजीनामा पत्र बोकेर हिँडेका छौँ, सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला भयो’ ★   अमेरिका २०२६ विश्वकपका लागि सिधै छनोट ★   एमसिसीअन्तर्गत बन्ने रातमाटे सबस्टेसनको ठेक्का लाग्यो ★   न्यूजिल्यान्डको पहिलो जित  ★   काठमाडौँ उपत्यकामा आज साँझदेखि केही शीतल हुने ★   मेलम्ची बाढीलाई फर्केर हेर्दा र विज्ञको बुझाई ★   दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको दोस्रो अडिटमा सुरुङको काम सुरु ★   दक्षिण अफ्रिकासँग १ रनले हार्यो नेपाल

कसरी सुरक्षित गरिँदैछ शताब्दी पुरुषको पार्थिव शरीर ?



काठमाडौँ । जिउँदो इतिहासका साक्षीका रूपमा १०३ वर्षको उमेरमा आज महाप्रस्थान गर्नुभएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई अध्ययन अनुसन्धानका लागि अस्पतालमा राखिने भएको छ ।

पारिवारिक सहमतिअनुसार स्व जोशीको शवलाई दाहसंस्कार नगरी चिकित्साशास्त्र सम्बन्धी अध्ययनका लागि ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालमा राखिने भएको हो । अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले जोशीको पार्थिव शरीरलाई मेडिकल चिकित्सा प्रणालीअनुसार अध्ययन अनुसन्धानका लागि अस्पतालमा राखिने राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिले जोशीको पार्थिव शरीरलाई नबिग्रिने हिसाबले केमिकल र औषधि प्रयोग गरेर सुरक्षितरूपमा ‘प्रिजर्भ’ गरिएको छ । ‘प्रोफेसर’ को भनाइअनुसार उहाँको शरीरलाई चिरकालसम्म कुनै पनि तत्वले बिगार्न सक्दैन । उहाँको शरीरबाट चिकित्सा प्रणाली अनुरूप कसरी ज्ञान र सीप लिन सकिन्छ, त्यो आर्जन गर्नेछौँ ।” जोशीको पार्थिब शरीरलाई परिवारले किष्ट शिक्षण अस्पताललाई पूर्णरूपमा हस्तान्तरण गरेको छ ।

“चिकित्सा प्रणाली अनुरुप के–के गर्नुपर्ने हो, शरीरको कुन भागको अध्ययन अन्वेषण गर्ने र उहाँको शरीरलाई चिकित्सकीय प्रणालीमा के–कसरी प्रयोग गर्ने भन्ने विज्ञहरुको रायअनुरुप अघि बढ्छौँ । ‘प्रिजर्भ कन्डिसन’ कति समय रहन्छ भन्ने अहिले भन्न सकिन्न”, उहाँले भन्नुभयो ।

अस्पतालले जनाएअनुसार स्व जोशीको शरीरको हरेक भागलाई अध्ययन अनुसन्धान गरिनेछ । स्व जोशीको चाहनाअनुरुप चिकित्सा प्रणालीमा अनुसन्धान हुनेछ ।

‘मेरो शरीरको चिकित्सा प्रणाली अनुरुप अध्ययन होस्’ भन्ने उहाँको चाहना थियो सोही अनुरुप सम्पूर्ण अङग प्रत्यङ्गको सूक्ष्मरूपमा अध्ययन अन्वेषण गरिन्छ’ स्व जोशीको भनाई उधृत गर्दै अस्पतालका निर्देशक बज्राचार्यले भन्नुभयो । उहाँले जोशीबारे चिकित्सा शिक्षा मात्र नभई हरेक क्षेत्रमा अध्ययन गर्न चाहनेलाई अनुसन्धान गर्ने अवसर दिइने बताउनुभयो । स्व जोशीको शरीरको विस्तारै अध्ययनको प्रक्रिया शुरु गरिने र विशेषज्ञ चिकित्सकहरुबाट शरीरको हरेक भागको अध्ययन हुनेछ ।

कहाँ राखिन्छ पार्थिव शरीर ?
किष्ट शिक्षण अस्पतालले जोशीको पार्थिव शरीरलाई अस्पताल परिसरकै आधारभूत साइन्स भवनको हलमा राख्ने निर्णय गरेको छ । अस्पतालका निर्देशक बज्राचार्यले जोशीको शरीर अध्ययनका लागि अस्पतालको बेसिक साइन्स ल्याब रहेको भवनमा राखिने बताउनुभयो । अस्पतालमा जोशीको शरीर रहे पनि सर्वसाधरणले भने हेर्न पाउने छैनन् । मेडिकल क्षेत्रका अनुसन्धानकर्ताले अनुमति लिएर मात्रै हेर्न र अध्ययन गर्न पाउने निर्देशक बज्राचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “परिवारले नै हामीलाई गोपनीयता र सम्मानस्वरूप राखिदिनुस् भन्नुभएको छ र मेडिकल ‘इथिक्स’को पनि कुरा हुन्छ ।”

आज बिहान सात बजेर नौ मिनेटजाँदा दुःखद निधन हुनुभएका जोशीको चिकित्सा प्रणाली पूरा गरेर मध्याह्न अस्पतालमा आधा घण्टा श्रद्धाञ्जलिका लागि राखिएको थियो । त्यसपछि ललितपुर महानगरपालिका प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलिका लागि साँझसम्म राखियो । त्यहाँ प्रधानमन्त्री, मन्त्रिगण, विभिन्न राजनीतिक दलका शीर्ष नेता, साहित्यकार एवं शुभेच्छुक सर्वसाधारणको उल्लेख्य सङ्ख्यामा उपस्थिति थियो । स्व जोशीलाई राष्ट्रिय सलामी अर्पण गरी अन्तिम बिदाइ गरिएको थियो ।

श्रद्धाञ्जलिपछि परिवारले जोशीको पार्थिव शरीर किष्ट अस्पताललाई पूर्णरूपमा हस्तान्तरण गरेको छ । अन्त्येष्टि नगरिए पनि त्यसबाहेकका अन्य संस्कार विधिपूर्वक पूरा गरिने उहाँका जेठा छोरा अणुराज जोशीले बताउनुभयो । आफूहरुको इच्छाअनुरुप बुबाको शरीर अस्पतालाई दिइएको उहाँले उल्लेख गर्नुभयो ।

“मरणोपरान्त अस्पतालमा अध्ययन गर्नका लागि शरीर दान गर्ने बुबा (स्व जोशी) को इच्छा अनुरुप लेखेरै दिनुभएको थियो, मैले पनि हस्ताक्षर गरेको हुँ, सोही अनुरुप शवअस्पताललाई हस्तान्तरण गरिएको छ”, उहाँले भन्नुभयो, “बुबाको इच्छा त केही नगर्नु भन्ने थियो, ९९ वर्षीया आमाको पनि सोही इच्छा छ तर, अन्तिम दाहसंस्कार बाहेक भोलिदेखि अन्य संस्कार गर्छौँ होला । पुरोहितसँग सल्लाह गरेर बाँकी काम सक्छौँ”, उहाँले भन्नुभयो ।