• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

पहिरो पन्छाउन स्थानीय सरकार र सुरक्षा निकायको सक्रियता



कर्णाली । गत असोज १९ गतेदेखि अविरलरूपमा परेको वर्षापछिको बाढी र पहिराले कर्णाली राजमार्गको जुम्ला–कालिकोट खण्ड एक हप्तादेखि पूर्णरूपमा बन्द छ । राजमार्ग अवरुद्धका कारण आवागमन पनि ठप्प भएको छ ।

राजमार्गको अवरोध हटाएर आवागमन सहज बनाउन आज जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरी नेतृत्वको टोली र स्थानीय सरकारका प्रमुखहरूसहित जुटेका छन् । नेपाली सेना नन्दा बक्स गण जुम्लाका गणपति रविन थापाले जुम्लाको तिला गाउँपालिका रारालिहीमा तीन किलोमिटर खण्डमा गएको पहिरो पन्छाउन सुरु गरिएको बताउनुभयो ।

क्षतिग्रस्तस्थल पुगेर सडक डिभिजन कार्यालयले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको निगरानीमा राजमार्ग खुलाउने काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी केसरीले जानकारी दिनुभयो । राजमार्ग खुलाउन प्रजिअ केसरी, गणपति थापा, सशस्त्र प्रहरी ३३ नं गणका प्रहरी उपरीक्षक चित्राङ्गत दाहाल, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख नरेन्द्र चन्द स्थलगतरुपमा आफैँ खट्नुभएको छ ।

अवरोध हटाउनका लागि प्रयोग गरिएका ‘स्काभेटर’ सहित प्रहरीसमेत खटाइएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली राजमार्गको जुम्ला खण्डको रारालिहीमा तीनवटा ‘स्काभेटर’ ले लगातार काम गरिरहेका छन् । यसका साथै ‘ब्रेकर’ले समेत काम गरे पनि ठूलो ढुङ्गाहरू खसेकाले ‘ब्लाष्टिङ’ गर्नुपर्ने अवस्था भएको छ ।

गणपति थापाले भन्नुभयो, “ब्लाष्टिङ गर्नका लागि माथिल्लो निकायसँग अनुमति मागिसकिएकाले काम छिट्टै सुरु गर्दैछौँ । यो काम अझै दुई–तीन दिन लाग्ने देखिएको छ ।”

जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार नाग्म–गमगढी राजमार्गको भूगोलपाटा, बाँजागाड, बड्की, देवारगाउँ, आचार्य लिही सडकखण्डमा पहिरो जाँदा आठ–दश स्थानमा सड्क अवरुद्ध भएको छ । हिमा गाउँपालिकामा पर्ने त्यस क्षेत्रमा स्थानीय तहको सक्रियतामा सडक सञ्चालनका लागि काम सुरु गरिएको छ ।

नाग्म–गमगढी राजमार्ग खुलाउन जुटे स्थानीय सरकार

नाग्म–गमगढी राजमार्ग खुलाउन स्थानीय सरकारका प्रमुखहरू जुटेका छन् । सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सिञ्जामा सडक सञ्चालन गर्न ‘स्काभेटर’ले काम भइरहेको जानकारी दिनुभयो । हिमा क्षेत्रमा बाढीपहिरो गएकाले त्यस क्षेत्रमा चाँडै पहिरो पन्छाए सिञ्जा गाउँपालिकाको अवरोध हटाउन सहज हुने उहाँले बताउनुभयो ।

कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यका अनुसार कनकासुन्दरी क्षेत्रको राजमार्गमा स्थानीय तहले ‘स्काभेटर’ लगाएर पहिरो पन्छाउने काम भइरहेको छ । उहाँले जुम्लामा सबैभन्दा बढी मानवीय क्षति कनकासुन्दरीमा भएको छ । उक्त गाउँपालिकामा पहिरो र बाढीबाट नौ जनाले ज्यान गुमाएका छन् । सो गाउँपालिकामा सात घर पूर्णरूपले क्षति भएको उहाँले जानकारी दिनुभयो ।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार हिमा गाउँपालिकामा क्षेत्रमा पहिरो पञ्छाउने काम भइरहेको छ । केही स्थानमा बाटोको निसाना नै नभएकाले नयाँ बाटो खोल्नुपरेको उहाँले बताउनुभयो । अध्यक्ष शाहीले ‘स्काभेटर’मा तत्काल इन्धन सकिएकाले काम अगाडि बढाउन अवरुद्व भएको बताउनुभयो ।

नेपाली सेना २४ नं बाहिनीका अनुसार कर्णाली राजमार्गको कालिकोट खण्डको नाग्गगाड, सेरावाडा, राँचुली, सेरीघाटमा पहिरो खसेको छ । सो क्षेत्रमा काम गर्न सेना सक्रिय भएको छ । नाग्म–गमगढी राजमार्गको मुगु खण्डको दर्जन स्थानमा पहिरो जाँदा पनि त्यहाँको आवागमन बन्द भएको छ । सात घुम्ती, पिना, टोप्ला, झ्यारी ताल्चा, तुमा, गमगढीमा गएको पहिरो हटाउने पहल भइरहेको नेपालीले सेनाले जनाएको छ ।