२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवेकशील साझा पार्टीका दुई केन्द्रीय सदस्य एमालेमा प्रवेश



अ+ अ-

काठमाडौं । विवेकशील साझा पार्टीका दुई केन्द्रीय सदस्य नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।

महासचिव शंकर पोखरेलले आज पार्टी कार्यालय, च्यासल, ललितपुरमा उहाँहरूलाई स्वागत गर्नुभयो ।

एमाले प्रवेश गर्नेहरूमा आशिष रेग्मी र सञ्जय बराल हुनुहुन्छ । दुबै जना विवेकशील साझाको केन्द्रीय नेतृत्वमा रहेर आर्थिक विभाग लगायत विभिन्न जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

उहाँहरूलाई स्वागत गर्ने क्रममा महासचिव पोखरेलले पार्टी प्रवेशले एमालेप्रतिको आकर्षण निरन्तर रहेको कुरालाई पुष्टि गर्ने वताउनुभयो । एमालेले घोषणापत्र मार्फत मतदातामा आफ्नो नीति लैजाँदै गर्दा भावी नेतृत्वको सवाल पनि टुङ्ग्याएर जाँदा निर्वाचनपछि नेतृत्वको विषयले सिर्जना हुनसक्ने विवादको अन्त्य हुने विश्वास लिएको स्पष्ट गर्नुभयो ।

नेतृत्वको सवालमा पार्टीमा अन्तरसङ्घर्ष पेचिलो बन्ने गरेको विगत अनुभवबाट नीतिका आधारमा नेतृत्व स्थापित गर्ने मान्यतामा अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारिएको र यसको जनतामा अत्यन्त सकारात्मक प्रभाव देखिएको महासचिवले बताउनुभयो ।

महासचिव पोखरेलले नवप्रवेशीहरूलाई योग्यता र क्षमता अनुसार पार्टीले उचित जिम्मेवारी दिने बताउनुभयो । उहाँले पार्टी प्रवेशबाट एमालेको निर्वाचनमा बहुमत हासिल गरी सरकार निर्माण गर्ने र ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा नवप्रवेशी आशिष रेग्मीले विवेकशील साझा पार्टी जुन उद्देश्यले स्थापना गरिएको थियोे त्यो उद्देश्यबाट भड्केको हुँदा आफू पार्टी निर्माणमा योगदान गर्ने नितान्त सैद्धान्तिक पक्षलाई महत्व दिएर एमाले प्रवेश गरेको बताउनुभयो ।

त्यसैगरी अर्का नवप्रवेशी वरालले लोककल्याणकारी राज्य स्थापनाको मान्यता राख्ने वताउँदै त्यो एमालेबाट मात्र सम्भव रहेको निष्कर्षका साथ एमालेमा प्रवेश गरेको बताउनुभयो ।

पार्टी प्रवेश कार्यक्रममा उपमहासचिव बिष्णु रिमाल पनि उपस्थित हुनुहुन्थ्यो ।