८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यमा सुधार नभएपछि सत्यमोहन जोशीलाई आईसीयूमा सारियो



फाइल फोटो
अ+ अ-

काठमाडौं । सँस्कृतिविद एवम् वाङ्गमय शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार नभएपछि आईसीयूमा सारिएको छ । जोशीको स्वास्थ्यमा सुधार नभएपछि आईसीयूमा राखेर उपचार थालिएको किष्ट मेडिकल कलेजले जानकारी दिएको हो ।

निरन्तर कमजोर महसुस हुने, खानामा अरुचि हुने जस्ता समस्या देखिएपछि उहाँलाई असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । उपचारको क्रममा रगत परीक्षण गर्दा उहाँलाई डेंगु संक्रमण पुष्टि भएको थियो । १०३ वर्षीय जोशीमा मुटु र प्रोष्टेटको समस्या छ ।

१७ दिनको अस्पताल बसाइको क्रममा शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछिल्ला तीन/चार दिनदेखि उहाँमा खानामा रुचि नभएको र बोल्न पनि नसक्ने अवस्थामा रहेको किष्ट मेडिकल कलेजले स्वास्थ्य बुलेटिनमा उल्लेख गरेको छ ।

जोशीलाई युरिन इन्फेक्सन र छातीमा निमोनिया पनि देखिएको र डेंगु संक्रमणले निकै गलाएको किष्ट मेडिकल कलेजले बताएको छ ।किष्ट मेडिकल कलेजले सत्यमोहन जोशी र उनकी पत्नीको निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

शताब्दी पुरूष डा.सत्यमोहन जोशीलाई भेट्न अस्पताल पुग्नु भएका त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले सामाजिक संञ्जालमा लेख्नुभएको छ- 

शताब्दी पुरुष सत्यमोहन जोशीका जेठा छोरा अणुराज जोशी एक्लै धुमधुमती बसिरहनु भएको थियो । किस्ट मेडिकल अस्पतालको ७३२ नम्बरको डिलक्श (क्याविन)पनि हामी पुग्दा चकमन्न थियो । शताब्दी पुरूषको आइसियुमा उपचार भइरहेकाले हामीलाई त्यहाँ जान अनुमति थिएन ।

हामी नइले अणुराज दाइलाई सम्झाइरह्यौँ । उहाँले भन्नुभयो- ‘आमालाई पो के भनौँ ? अहिलेसम्म बुबाको हालतको सबै कुरा मैले आमालाई भन्न सकेको छैन । बुबाको अहिलेको स्थिति थाहा पाउनु भयो भने उहाँ मुर्छा पर्नुहोला भन्ने मलाई पीर भयो । मेरी आमा पनि ९९ वर्षकी हुनुभयो नि !
फेरि अणुराज दाइ बोल्नुभयो- ‘बुबाले मलाई भन्नुभयो, ‘मेरो शरीर विद्यार्थीलाई बुझाएर तँ घर जा छोरा ! यहाँ तेरो काम छैन ।

स्मरणरहोस्- शताब्दी पुरूष डा.सत्यमोहन जोशी र उहाँकी धर्मपत्नी राधादेवी जोशीले मरोणपरान्त आफ्नो शरीर किस्ट मेडिकल कलेजलाई दान दिनुभएको छ ।

अणुराज दाइलाई सम्झाउदैँ गरेको क्षणमा मेरी गुरूदेवीले हामीलाई उभ्याएर फोटो खिचिदिइन् । अनि ‘बुबालाई सारोगारो भएमा हामीलाई कलगर्नु है दाइ !’ भनेर हामी अस्पतालबाट निस्क्यौँ ।