२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस News Polar घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका News Polar इसिमोडको अध्ययन सार्वजनिक : भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन News Polar एलपी ग्यास अब डिलरमार्फतै किन्न संघको आग्रह News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल

वक्यौता (पोडकास्ट)

वक्यौता (पोडकास्ट)
अ अ+ अ-

वक्यौता मिलान गर्दै गरुलाँ । पहिला आफ्नो ख्याल गर्नू ।

उसले फेरि थप्यो— टेक गुड केयर अफ योरसेल्फ ! प्लिज ! प्लिज ! प्लिज टेक केयर ! कफी, तरकारी अनि वक्यौताको काम हुँदै गर्ला । 

यही एउटा वक्यौताले आजको दिन साह्रै राम्रोसँग बित्यो । केही समय हराएको, कसैलाई राख्न दिएको, लकरमा थन्क्याएको सुरक्षित गाडधन फर्कंदै छ ! यति खुसी सायदै भएकी थिएँ जीवनमा कहिल्यै । आज दिनभर अस्पतालमा बितेको समय पनि पत्तै भएन । कुनै एउटा शब्दले मान्छेलाई यतिबिघ्न खुसी कसरी दिन्छ हँ ? एउटा शब्द, जहाँ मैले संसार फेला पारेकी थिएँ— वक्यौता !

बिहान अस्पताल निस्कने समयमा कार्यालय हिँडेको जानकारी गराउँदा उसले भनेको थियो— ‘‘आफ्नो ख्याल गर्नु, वक्यौता मिलान गर्दै गरौंला ।’’

अघिल्लो दिन मैले गरेको गुनासोको एकमुष्ट जबाफ थियो— वक्यौता । 

मैले यसैगरी बुझेकी थिएँ । गतल बुझेँ कि सही, थाहा छैन । ऊसँगका हरेक प्रसङ्ग मायालु, सम्झन लायक, प्रेरणादायी छन् । किन ? कसरी ? केका लागि यतिबिघ्न माया लागिरहेछ मलाई ? थाहा छैन । सायद यस मामलामा म कमजोरै पो छु कि ? त्यो पनि थाहा छैन ! हुन त चासो राखेर पनि थाहा पाउन नसकेको विषय हो यो ।

“मर्न चिन्ता छैन । एक कप कफी पनि सँगै बसेर खान पाइनँ ! माथि पुगेर भेट भयो भने सम्झनु !”

मेरो गुनासोको जबाफमा भन्यो— “म त कफी नपाइने ठाउँमा पुग्छु होला । एकबारको जुनीमा प्राप्त सेवाको उपयोग नगर्नेलाई दोस्रो मौका हुन्न रे । यता कफी खाइएन, पछि यसकै दण्ड पाइन्छ होला ।”

सम्भावनाको ढोका बन्द भएको नमिठो अनुभूतिसाथ हिजोको दिन बिताएँ । दिनभर नरमाइलो लाग्यो । मन अमिलो भयो । नपाकेकोे पिँडालुले मुख कोक्याए जस्तै कोक्याइरह्यो छाती, दुखिरह्यो मुटु । दाहिने हातले बिस्तारै छामेँ । सायद उसको अंश कहीँ, कतै भए जस्तो लाग्यो । खोस्रिएर हेर्न मिल्ने भए ! उधार्न मिल्ने थिएन । मिल्ने भए हेरेरै भए पनि चित्त बुझाउँथेँ उसको अंशलाई आफ्नो मुटुमा देखेर । विश्वास बलियो भयो— ऊ मेरो मुटुमा कहीँ न कहीँ अवश्य छ !

उसको काख, उसको स्पर्श, उसको आश्वासन अब मेरा लागि कहाँ मिल्थ्यो ? मात्रै भर्चुअल अनुभूति थियो भागबण्डामा । त्यही अनुभूति पनि एकान्तमा महसुस गर्न गाह्रो !

उसले छलफलका सम्पूर्ण बुँदा टुङ्ग्याएको महसुस भयो, जुन कोरोनाले उत्पन्न गराएको भय र पीडाभन्दा बढी थियो । उसको जबाफले त्यही मुटु दुखायो, जहाँ मैले उसको अंश चोरेर राखेकी थिएँ । सायद उसलाई पनि दुख्यो उसैगरी ! आँसुले आँखा टिलपिल भए । कति छिटो थाहा पाउँछन् यी आँखा पनि, मनको पीडा ?

हृदयमा खिल बनेर बसेको सम्झना उर्लिएर आयो । थाम्न सक्ने हिम्मत भएन । वास्तवमा हिजो धेरै कुरा गर्न चाहेकी थिएँ ऊसँग । कोरोना अर्थात् कोभिड–१९ को त्रासबाट विश्व हल्लिएका बेला मेरो आत्मविश्वास कमजोर नहुने कुरै भएन । विगतका केही घटनाले पीडा दिइरहेथे । भर्चुअल नै सही, ऊसँग धोको पुग्ने गरी रुन चाहन्थेँ ।

आँसु पनि विश्वासको काखमा मात्रै झर्न सक्तो रहेछ । 

उसको मायामा ‘लकडाउन’ भएको झण्डै चार वर्षपछि मेरो सबथोक ‘डाउन’ भयो । सहरले पनि साथ दिए जस्तो ग¥यो— शान्त, स्तब्ध । आँधी आउनुअघिको शून्यता । आफन्तको मृत्युशोकमा डुबेजस्तो सन्नाटाले छोपिएर ।

मुलुकको ‘लकडाउन’ सँगै उसको र मेरो सम्बन्धको औपचारिक ‘लकडाउन’ घोषणाको दिन ।  मेरो प्रेम फुत्कँदै थियो, निर्धारित सीमाबाट भाग्ने कोसिस गर्दै । उसलाई जेलनेल मन पर्दैन । केको क्वारेन्टाइन ? चार वर्षको आइसोलेसनबाट फिर्ता हुन चाहिरहेको थियो । पुनर्जीवन पाएको थियो मेरो प्रेमले । नवपालुवा पलाउँदै थियो । म मेरो प्रेमलाई हुर्काउन चाहन्थेँ, बढाएर फुलाउन र फलाउन चाहन्थेँ ।

हो, प्रेममा अघोषित सङ्कटकाल चार वर्षअगिदेखि नै लागेको हो । अझ मैले आफै लाएकी थिएँ यो सङ्कट । लामो प्रतीक्षापछि त्यसबाट मुक्त हुन लाग्दा फेरि दुनियाँको सङ्कटकाल । कोरोना लकडाउन । त्यसैदिन कानुनले हाम्रो सम्बन्धको पनि औपचारिक लकडाउनको आदेश ग¥यो— ‘बच्चा आमाले नै राख्न पाउने, शिक्षादीक्षा बाबुको दायित्व हुने गरी सम्बन्ध विच्छेद !’

हुन त मैले मागेकै र रोजेकै पाएकी थिएँ । खुसी हुनुपर्ने तर फैसलासँगै दुखको भवसागरमा डुबेको अनुभूति ! जोसँग छुट्टिनका लागि चार वर्षअघि निवेदन दिएँ, आज उसैलाई गम्लङ्ङ अँगालो हालेर रुन मन लाग्यो । उसको मायालु स्पर्शका लागि लालायित भएँ । एकैछिन भए पनि उसको छातीमा शीर लुकाउन चाहन्थेँ । सायद ऊ पनि आफ्नो बाहुपासमा बाँध्न चाहन्थ्यो मलाई । अनि बिर्सन चाहन्थ्यो हामीबीचको तीतो विगत ।

वकिलले सुनायो न्यायाधीशको सङ्क्षित फैसला । उसको अनुहार नियालेँ, विषादका धर्का कोरिएको । निन्याउरो अनुहार । ओँठ, मुख सुके, आँसुले आँखाका डिल भरिए । टिठलाग्दो उसको अनुहार मैले यसअगि कहिल्यै देखेकी थिइनँ । हो, ऊ पनि फैसलाबाट खुसी थिएन तर ऊभित्रको पुरुषले अभिव्यक्ति दिएन ।

अदालती प्रक्रियाका क्रममा समयले पटक पटक भेट जुराएको थियो हाम्रो ।

“हिजोआज त वकिलले नबोलाएको दिन उराठलाग्दो हुन्छ । हजुरसँग भेट्न पनि नपाउने । कफी खान पनि नपाउने ।” एक दिन उसले भनेको थियो— “वकिलकहाँ आउन नपरेको दिन काम सकेपछि कम्तीमा अफिसबाट घर फर्कने बेलामा फोन गर्नु है म्याम । दिनभरिको थकान मेटिन्छ ।”

जब मैले सम्बन्धविच्छेदका लागि प्रक्रिया अगि बढाएँ । ऊ मलाई नामले होइन, ‘म्याम’ को सम्बोधन गथ्र्यो— आदरार्थी, उच्च आदरार्थी । वास्तवमा मप्रति उसको सम्बोधन देखावटी होइन, हृदयको केन्द्रबाटै मेरो सम्मान गर्छ ऊ । अहिलेको बुझाइ हो यो मेरो । सायद म गलत छैन किनभने आफैले आफैंलाई गरेको परीक्षा र दिएको नम्बर हो यो ।

तर मलाई उही पुरानै नामले बोलाएको सुन्न मन छ— छुन्नु !

मलाई उसको त्यही सम्बोधन प्रिय छ । एक पटक मात्रै उसले पुरानै सम्बोधन गरोस् भन्ने भावसहित हेरिरहेँ । ऊ निःशब्द ओझेल भयो अदालत परिसबाट । अघिअघि हाँसीखुसी औपचारिकतासाथ बिदा हुन्थ्यौँ हामी तर त्यसदिन… न ऊ बोल्न सक्यो न त म । महाशून्यबीच हामी आपसबाट टाढियौं ।

व्यस्तताले झण्डै एकसाता यता सँगै बसेर कफी खाने अवसर मिलेको थिएन । मेरो मनले भनिरह्यो— ‘कम्तीमा अन्तिम पटक सँगै बसेर एक कप कफी खाउँ न प्लिज ।’

विश्वका सयौं मुलुकमा कोरोना सङ्क्रमण फैलिएर त्रास बढिरहेका बेला नेपालमा पनि त्यसको भय छरपस्ट भइसकेको थियो । जीवन र प्रेमको महत्व बुझ्दै गएको मेरो अन्तर्मनले फेरि भन्यो— ‘कम्तीमा एक कप कफी त खाऊँ !’

तर ऊ अदालत परिसरबाट बाहिरिइसकेको थियो । सायद टाढैबाट उसले भन्यो होला— ‘वक्यौता नै राख्नु अहिलेलाई !’

जतिबेला ऊ लडिरहेको थियो ममाथि राज गर्न । म लडिरहेकी थिएँ ऊमाथि राज गर्न । दुई शरीर एकै मुटुबीच झुटो स्वाभिमानको लडाइँ । अस्तित्वको भन्दा पनि अहम्को लडाइँ ! विकास र आधुनिकताको लडाइँ ! अधिकार र समानताभन्दा स्वच्छन्दताको लडाइँ । विश्वासको सङ्कट !

समाजमा लामो समयदेखि कोरिएको घेरामा मलाई बाँधेर ऊ आफन्तका अगाडि सर्वोच्च स्थानमा विराजमान हुन चाहन्थ्यो । मेरो निरीहतामा राज गर्ने उसको चाहनाको प्रतिकार गर्न उत्रिएँ म । अहम्को लडाइँ दुर्घटनामा परिणत भयो । ‘अधिकार’ प्राप्तिको भ्रममा ‘कर्तव्य’ तिर सोच्नै सकिनँ मैले । कूटनीतिमा लेखिएका भन्दा नलेखिएका सर्त महत्वपूर्ण हुन्छन् दीर्घकालीन प्रभाव पार्ने । नलेखिएका सर्तले नदेखिने गरी कमजोर पक्षलाई आत्मसमर्पण गराएको हुन्छ । लिखित दस्ताबेज नभएका तर परिवारका सदस्यमा आआफ्नो मन र मुटुमा अन्तरनिहित कतिपय नियम–विनियमहरु उलङ्घन गरेँ मैले । समावेशी, समानुपातिक, समविकास आदिइत्यादिको अगुल्टोले कतिको मन पोल्यो । कतिको विरासत उजाड्यो । एकोहोरो बुद्धि घुमाउँदा विवेकमा बिर्को लागेको पत्तै भएन । मेरो आफ्नै छाप्रो बाँकी रहेन !
सायद तत्कालीन प्रश्न सही थियो, अवतरणको बाटो गलत ! गलत बाटोले सही गन्तव्य कसरी पु¥याउला र ?

अधिकारको अहङ्कारले सम्बन्ध विच्छेदको मुद्दा अदालत पुग्यो तर अदालतले नै झुलाइदियो चार वर्ष । भन्छन्, ‘कानुन अन्धो हुन्छ’ अनेक अदालती प्रक्रियाकै कारण भनेको होला— ‘न्यायका नौ सिङ’ ।

अदालतका तिनै सिङका प्रक्रियाले हामीलाई जीवन र जगत् बुझायो राम्ररी । परिवार, नाता, सम्बन्ध, कर्तव्य र अधिकारकाको नयाँ परिभाषा सिकायो । अहम्को आतङ्क र घृणाले सिर्जना गरेको दूरीले आपसी अन्तर्मनको दृश्य देखायो ।

थप एकजनाको पुष्टिसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ६ पुगेको थियो । काठमाडौंबाहिरै किन नहोस्, सङ्क्रमितको सङ्ख्या बढ्नु हामी स्वास्थ्यकर्मीका लागि थप चुनौतीको विषय हो । 

सर्वसाधरणमा सङ्क्रमित बढेसँगै भय र त्रास बढ्नु स्वाभाविक हो । उनीहरुसँग सतर्कताका अनेक उपाय थिए तर मसँग काममा जानुको विकल्प थिएन । स्वास्थ्यकर्मीले सधैं आफैंलाई जोखिममा राखेर बिरामीको उपचारमा रातोदिन खट्नुपर्छ । अझ सरुवा रोग विशेषज्ञहरुका लागि त यो सधैं चुनौतीको विषय हो ।

चुनौतीपूर्ण पेसा मैले त्यतिबेलै रोजेकी थिएँ, आज जिम्मेवारीबाट पछि हट्ने कुरै भएन । सेवा गर्नु मेरो कर्तव्य हो, बाँच्नु अधिकार । फेरि पनि अधिकारको र कर्तव्यबीचको लडाइँ !

जागिर छोड्न आमाले दबाब दिइरहनुभएको थियो तर ऊ भन्थ्यो— “सङ्कटको बेला कर्तव्य बिर्सन हुँदैन । सुरक्षित बन्नुहोस्, सर्तक रहनोस् । काम नछोड्नोस् । सिङ्गो मुलुक सङ्कटमा परेका बेला स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण हुन्छ । आफ्नो भूमिकालाई नजरअन्दाज नगर्नोस् ।”

करिअर र परिवारमध्ये एक रोज्नुपर्ने सवाल नै विग्रहको कारक थियो त्यति बेला । अहिले ऊ मलाई कर्तव्य र जिम्मेवारीबोध गराइरहेको थियो । यसैमा म खुसीले पुलकित थिएँ अनि सबै कुरा बिर्सिएर दिनभर बिरामीको उपचारमा जुट्थेँ ।

जब घर पुग्छु, म चिकित्सकभन्दा बढी आमा बन्छु । छोरीको वरिपरि मृत्युको छायाँ घुमेको देख्छु अनि त्यो छायाँ आफै भए जस्तो लागेर फेरि एकपटक उसलाई सम्झन्छु । अथाह पीडाले आफैं थिचिन्छु ।

आलोकाँचो विगतको निर्णयबाट पछुताउनुसिवाय के नै छ र बँचेको ? छोरी छामछुम गर्दै छातीमा टासिन्छिन् । म छोरीको भविष्य सम्झिएर शून्यमा हराउँछु । मभित्रको मातृत्व कमजोर भएपछि अहिले छोरीलाई आमाका साथ छोडेर आफू साथीसँग डेरामा बस्न थालेकी छु । ‘मलाई क्षमा गर ! मैले यो कुरा तिमीसँग लुकाइरहेकी छु । फेरि पनि म तिमीलाई खुलस्त पार्न चाहन्छु, लुकाउन्नँ । तर यो कुरा तिमीलाई भन्ने हिम्मत नै छैन मसँग । म सम्पूर्ण रुपमा कमजोर भएकी छु ।’

अचम्म लाग्छ, कुनै बेला सोच्थेँ— “आफ्ना कुनै कुरा तिमीलाई थाहा नदिउँ । गोप्य राखुँ जीवनका निजी पक्षहरु । मेरा हरक्रियाकलाप र घटनासँग तिमी जानकार हुन आवश्यकै छैन ।”

कुन दिनदेखि विचार बदलियो, ठ्याक्कै थाहा छैन तर केही समयअघिदेखि सुख–दुख, साना–ठूला सबै कुरा तिमीलाई भनूँभनूँ लाग्छ । पलपलको काम अनि अनुभूति साट्न मन लाग्छ । तिमी यी सबको पछाडि मलाई कमजोर भएको ठान्छौ होला । मलाई यो पनि स्वीकार छ । म तिम्रो अगाडि आफूलाई सधैं कमजोरै बनाउन चाहन्छु न्यानो छहारीको आशामा, कर्तव्यको राजमार्गमा । 

जब मान्छे कसैको मायामा कमजोर हुन्छ, ऊ सर्वत्र कमजोर हुँदो रहेछ । इस्टमित्र अनि समाजले कर्मठ, धैर्यवान्, क्षमतामान् आदिइत्यादि जे विशेषण जोडोस् तर म तिम्रो मायामा कमजोर रहेछु ! अहिलेको सङ्कटले अनुभूति गराएको विषय मात्रै होइन यो । मैले यी चार वर्षमा तिम्रो मायाको शक्ति महसुस गरिसकेकी छु । त्यो माया, जुन केवल मेरा लागि थियो । अधिकारको दम्भ होइन, म कर्तव्यको अँगालोमा बाँधिनँ चाहन्छु ।

सङ्कट तर संयमको यो घडीमा छोरीको सुरक्षाका लागि मैले घर छोड्नुको विकल्प थिएन । मृत्यु वरिपरि घुमिरहेको यो त्रासदीमा कम्तीमा परिवारका सदस्य एकै ठाउँमा बस्न पाए…

म काममा गए पनि छोरीलाई छातीमा टाँसेर बसिरहेका हुन्थ्यौ तिमी । ‘एउटा बाबुले आफू मरेर पनि सन्तानलाई मृत्युको मुखबाट बचाउँछ’ भन्ने विश्वासका साथ म काममा खटिन्थेँ सायद !

यो सहर गाउँ जस्तो कहाँ छ र ? सुख, सयल र विदेशी सिकाइले घरभित्रै धारो, किचनसँगै जोडिएको ट्वाइलेट । सिङ्गमर्मरको आलिसान घरअगाडि एक टुक्रो जग्गा बाँकी छैन । आज मलाई तिम्रो गाउँको घर खुब सम्झना आइरहेछ ।

ठूलो आँगनको एक छेउमा ढकन लाएको इनारसँगैको चापाकल । अर्कोपट्टि गाईगोठ । गाईगोठभन्दा अलि परको शौचालय । यदि यहाँ पनि यस्तो व्यवस्था हुन्थ्यो भने जरुर म आफ्नै कोठामा जान्थेँ । आँगनको

छेउमा जुत्ता राखेर चापाकलमा नुहाइधुवाइ गरी भित्र पस्थेँ । मन ढुक्क हुन्थ्यो । बाहिरका भाइरस ढोकाबाहिरै छोडेर आएको आत्मविश्वासका साथ छोरीलाई छातीमा टाँसेर निदाउन सक्थेँ ।

कोरोनाको सङ्क्रमणका नयाँनयाँ तथ्य पत्ता लाग्दै गएका बेला के ठीक र के बेठीक, छुट्याउनै गाह्रो भएका बेला आपूm ढुक्क नबनी छोरीसँगको साथ र स्नेह स्वीकार्न सकिनँ मैले ।

जीवनको मायाले हताशिएका लाखौं नेपाली आफ्नै गाउँ फर्किएका छन् । परिवारसँग अन्तिम भेटका लागि व्यग्र उनीहरु महाकाली नदीमा हेलिएर नेपाल प्रवेश गरेको सुन्दा मुटु भक्कानो पर्छ । सीमामा अलपत्र परेका नेपालीले ‘आफ्नो देश फर्कन पाऊँ’ भनी नाराबाजी गरेको समाचारले मन भत्भती पोल्छ । 

कति निरीह बनेका छौं हामी यतिबेला । यो दुःख र त्रासको घडीमा सबैलाई चाहिएको छ आफन्त अनि मायालु काख ।

विज्ञान र प्रविधिको उच्चतम प्रयोगमा रमाएर मेसिन बनेका हामी अहिले मान्छेको साथ खोजिरहेछौं । पारिवारिक आत्मीयता, माया, ममता, कर्तव्य, मानवीयताको परिभाषा खोजिरहेछौं । जसलाई विज्ञान, आविष्कार र प्रविधिले निकै पछाडि छोडेको सर्वत्र महसुस गरिएको थियो ।

धनदौलत, आलिसान घर अनि विलासिताका हरेक साधन आज फिक्का लागेका छन् । धर्मप्रति अनास्था गर्ने जस्तै नास्तिकको मुखबाट पनि अनायासै आउने गरेको छ— “प्रभु ! रक्षा गर !”

आफ्नो देश, आफ्नो परिवार भेट्न त हो नदीमा हेलिएर भए पनि आफ्नो माटो टेक्न खोजेको, उसले जसरी पनि भेट्नु छ— आफ्नो परिवारलाई, प्रियजनलाई, आमाबुबालाई, श्रीमतीलाई, प्रेमिकालाई, छोराछोरी, दाजुभाइ, दिदीबहिनी, भाइभतिजा, इष्टमित्र, छरछिमेकी । 

म पनि आज आफन्तभित्रको आफन्ती साथ खोजिरहेकी छु । काख खोजिरहेकी छु म तिम्रो । जुन मेरा लागि उत्साह, ऊर्जा, उत्प्रेरणा सबथोक हो । दुनियाँको टिप्पणीसँग बहकिनु रहर मात्रै, तिम्रो माया सत्य रहेछ । कोरोना सङ्क्रमणको वहानामै सही, म आज त्यही वक्यौता फिर्ताको पर्खाइमा छु । 

वक्यौता ! जसलाई धेरै समयअघि मैले तिमीसँग छोडेकी थिएँ ।