काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र राष्ट्रिय क्रिकेट टिमको पूर्व कप्तान पारस खड्काबीच भेटवार्ता भएको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनुभएका पारसलाई आगामी जीवनका लागि शुभकामना व्यक्त गर्नुभयो ।
भेटमा प्रधानमन्त्री देउवाले पारसलाई नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् भनेर शुभकामना दिनुभयो ।
‘दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारसलाई धन्यवाद’ देउवाले सामाजिक सञ्जालमा लेख्नुभएको छ ‘नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्। सरकारको साथ र सहयोग सधैँ रहने छ।’











