९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सुर्खेत उपत्यकामा खानेपानीका लागि पहिराको चुनौती

सुर्खेत उपत्यकामा खानेपानीका लागि पहिराको चुनौती
अ अ+ अ-

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा खानेपानीको सङ्कट गहिरिँदो छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले अहिले एक दिनको अन्तरमा उपभोक्ताको धारामा पानी उपलब्ध गराउँदै आएको छ । वीरेन्द्रनगरमा वर्षात्का समयमा ‘छेलोखेलो’ गरेर उपभोक्ताका धारामा पानी आउनुपर्ने थियो ।

कर्णाली प्रदेशको राजधानीसमेत रहेको उपत्यकाले खानेपानीको उच्च सङ्कट व्यहोरिरहेको छ । बर्सेनि पहिरोले खानेपानीको मुख्य प्रसारण लाइन बगाउँदा उपत्यकामा खानेपानीको उच्च सङ्कट हुने गरेको हो । अन्य समयमा समेत खानेपानीको हाहाकार हुने उपत्यकाको खोनपानीका लागि पहिरो थप चुनौती बनेको छ ।

पहिराका कारण हरेक वर्ष पाइप लाइनसँगै खानेपानीका अन्य संरचनामा क्षति पु¥याउँदा सेवा प्रवाहमा चुनौती भइरहेको उक्त संस्थाका अध्यक्ष कूलमणि देवकोटाले बताउनुभयो । उहाँले यस वर्ष पनि पहिरोले मुख्य पाइप लाइनमा ठूलो क्षति पु¥याएको जानकारी दिनुभयो ।

“पहिरोले खानेपानीका संरचना बिग्रिँदा बर्सेनि ठूलो क्षतिसँगै सेवा प्रवाहमा समस्या हुन्छ”, अध्यक्ष देवकोटाले भन्नुभयो, ‘‘झुप्रा खोलाबाट ल्याएको मुख्य प्रसारण लाइनमा पहिरोले क्षति पु¥याएपछि केही दिनयता उपत्यकाको खानेपानी वितरणमा कठिनाइ भइरहेको छ । यही असोज २ गते राति गएको पहिरोले वीरेन्द्रनगर–१३ स्थित भञ्ज्झ्याङमा १६ मिटर पाइप लाइन बगाएको थियो ।”

पहिरोले उक्त स्थानमा तीन सय एमएमको डिआइ पाइप र अन्य संरचना भत्काएको थियो । उक्त ठाउँमा अहिले एचडिपिइ पाइप जडान गरेर पानी ल्याउने प्रयास भइरहेको छ । मुख्य पाइप लाइन नै पहिरोले बगाएपछि १० दिनयता विकल्पका रूपमा संस्थाले खुर्सानीबारी खोलाबाट सुर्खेत उपत्यकामा पानी आपूर्तिको व्यवस्था मिलाएको छ ।

“मुख्य प्रशारण लाइन मर्मत भइरहेको छ, मुख्य पाइप लाइन सञ्चालन नभएसम्मका लागि वैकल्पिक व्यवस्था गरेका छौँ । उपभोक्तालाई खानेपानी पु¥याउन वैकल्पिक उपायका रुपमा केही दिनका लागि खुर्सानीबारी खोलाबाट पाइप लाइनमा पानी हालिएको छ”, उहाँले भन्नुभयो, “त्यसबाट प्रतिसेकेन्ड ५० लिटर पानी आइरहेको छ ।”

प्रतिसेकेन्ड ८६ लिटर पानी आपूर्ति भइरहेको पाइपलाइन पहिरोले फाल्दा मर्मतमा मात्रै झन्डै पाँच लाख खर्च हुने देखिएको अध्यक्ष देवकोटाले बताउनुभयो । भिरालो भू–बनोटबाट खानेपानीको लाइन ल्याइएकाले पहिरोले फालेका संरचना निर्माणमा प्रत्येक वर्ष रु पाँच÷सात लाख खर्च हुने गरेको छ

भिरालो जमिनका कारण बर्सेनि पहिरोले संरचनामा क्षति गर्दै आएको संस्थाका संस्थाका इञ्जिनीयर बालाराम तिवारीको भनाइ थियो । उहाँका अनुसार हाल क्षति भएको मुख्य प्रसारण लाइनको मर्मत सकिए पनि त्यसमा पानी सञ्चालन गर्न भने अझै केही दिन लाग्ने छ । मुहानमा समेत पहिरोले क्षति पु¥याएको छ ।

त्यहाँसम्म मर्मतका लागि पुग्न र सामग्री ओसार्न पहुँच मार्गमा पनि ठाउँठाउँमा गएको पहिरो पन्छाउने काम भइरहेको इञ्जिनीयर तिवारीले जानकारी दिनुभयो । “ती सबै अवरोध हटाएर आगामी शुक्रबारसम्म मुख्य लाइनमा पानी हाल्ने तयारी छ”, उहाँले भन्नुभयो, “खानेपानीको सङ्कट रहेकैबेला पहिरोले संरचनामा क्षति गर्दा सेवा प्रवाहमा चुनौती भएको छ ।”

अन्य समयमा पनि सुर्खेत उपत्यकामा पर्याप्त खानेपानी छैन । यहाँ बढ्दो जनसङ्ख्यासँगै खानेपानीको सङ्कट चुलिँदै गएको छ । हिउँदमै पानीको हाहाकार हुन्छ । झन्डै तीन लाख जनसङ्ख्या रहेको उपत्यकामा मागअनुसार पानी पुग्दैन । पहिले सुक्खा समयमा मात्रै खानेपानीको समस्या हुने उपत्यकामा अहिले बर्सात्मै हाहाकार मच्चिन्छ ।

सुर्खेत उपत्यका खानेपानी संस्थाका अनुसार औसतमा प्रतिव्यक्तिले एक सय २० लिटर दैनिक पानी खपत गर्ने हिसाबले उपत्यकामा दैनिक तीन करोड ३६ लाख लिटर पानी आपूर्ति हुनुपर्छ । बर्सात्का समयमा दैनिक एक करोड २७ लाख लिटर पानी आपूर्ति गर्नसक्ने क्षमताका मात्रै संरचना छन् । बर्सात्मा औसत ४९ लाख लिटर पानी आपूर्ति हुन्छ ।

“मौसम प्रतिकूलताका कारण संरचनाको क्षमताअनुसार पानी आपूर्ति हुँदैन, स्रोतमा पनि त्यसैअनुसारको पानी उपलब्ध हुन्छ तर पूरै पानी आउनका लागि मौसम अनुकूल हुनुपर्छ”, अध्यक्ष देवकोटाले भन्नुभयो, “पहिरोको दीर्घकालीन रोकथाम र खानेपानी आयोजनाको नियमितताका लागि पहल थालिएको छ ।” रासस