• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   ज्ञानेन्द्र शाह सत्ताच्यूत हुनुमा कमल थापा र भेषबहादुर थापाको हात छः डा. सुरेन्द्र केसी ★   दरबारनिकट डा. सुन्दरमणि दीक्षितको दाबीः ‘दरबार हत्याकाण्ड दिपेन्द्रले गराए, कारण लभ अफयर’ ★   ओलीको असन्तुष्टिः सरकारले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्यायो ★   यी हुन् टी–२० विश्वकप जित्ने मुख्य तीन दावेदार ★   सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ ★   सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर ★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड

‘माटोका सामग्रीलाई प्लाष्टिकले विस्थापित गरिदियो’



तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–७ प्रसेनी निवासी प्रेमबहादुर कुमाल माटोका प्लेट र कप बनाउँदै हुनुहुन्थ्यो ।

कुनै समय माटाका गाग्री बनाउने कुमाल हिजोआज प्लेट, कप बनाउनमै व्यस्त हुनुहुन्छ । “कुनै समय गाग्री, भुर्का, हाँडीको धेरै माग आउँथ्यो, तर अहिले बजारमा प्लाष्टिकका गार्गी आएकाले त्यसको माग छैन”, उहाँले भन्नुभयो, “बरु अहिले प्लेट र कपको माग बढेको छ ।”

अहिले उहाँको दैनिकी त्यही प्लेट र कप बनाउनमै बित्ने गरेको छ । बजारमा मट्का चिया पसल पनि धेरै खुलेकाले मट्का चियाका लागि कपको माग अत्यधिक हुने गरेको उहाँले बताउनुभयो । पछिल्लो मागअनुसार प्लेट, कपहरु पु¥याउनै गाह्रो हुने गरेको छ । “माग धेरै आउँछ, कोही होटलले त कोठा दिन्छौँ, यही आएर बनाइदिनुस् पनि भन्ने गर्नुभएको छ”, उहाँले भन्नुभयो, “तर हामीले माग भएअनुसार पु¥याउन गाह्रो हुने गरेको छ ।” पछिल्लो समय गमला र माटोबाट घोडाका मूर्ति बनाउन पनि माग आउने गरेको छ ।

माटाका कप, प्लेटलगायत आधुनिक सामग्रीको माग बढेको भए पनि त्यसअनुसार जनशक्ति नहुँदा समस्या भएको उहाँको भनाइ थियो । नयाँ पुस्ताले माटोका भाडा बनाउने पेशाप्रति चासो नदिँदा पेशा नै लोप हुने अवस्थामा पुगेको स्थानीय कविराम कुमालले बताउनुभयो । “माग धेरै छ, हामी पहिलेदेखि गर्दै आएका बूढापाकाले यो पेशा अँगालिरहेका छौँ, नयाँ पुस्ताले त्यति धेरै चासो नदिएकाले पनि यो पेशा सङ्कट पर्ने हो कि भन्ने चिन्ता छ”, उहाँले भन्नुभयो, “तर केही नयाँ पुस्ताले भने चासो दिइरहेका छन् ।”

माटाका भाडालाई ‘ग्लेजिङ’ गर्ने मेसिन पनि भएकाले त्यहीअनुसार कप बनाएर बजारमा पठाउने गरेकोसमेत उहाँले बताउनुभयो । गरिबी निवारण कोषले उक्त सामग्री प्रदान गरेपछि अहिले त्यहाँका कुमाल समुदायलाई सहज भएको छ । करिब ६० परिवार रहेको उक्त कुमालगाउँमा अहिले १०–११ जनाले मात्रै माटाका भाँडा बनाउने गरेका छन् ।

हस्तकला महासङ्घले तालिम दिएपछि कुमाल समुदायले आधुनिक प्लेट, कप बनाउन सिकेका हुन् । तर उनीहरुले बनाएका सामग्रीको मूल्य भने निर्धारण भएको छैन । “हामीले बनाएका माटाका भाँडाको मूल्य निर्धारण छैन”, कविरामले भन्नुभयो, “त्यसैले हामीले अहिले अनुमान र बार्गेनिङका आधारमा बिक्री गर्ने गरेका छौँ ।” नयाँ युवा युवतीलाई सिकाएर घोराही, तुलसीपुरमा माटाका भाँडा निर्माण गर्ने स्थान र छुट्टै पसल स्थापना गर्नेसमेत तयारी गरेको उहाँको भनाइ छ । अहिले दैनिक एक जनाले करिब एक सय कप निर्माण गर्दै आएका छन् ।

कुमाल समुदायलाई माटो पाउन पनि उत्तिकै समस्या हुने गरेको छ । अहिले तुलसीपुर–७ स्थित कालोखोलाको मटेराबाट माटो निकाल्ने गरेको भए पनि त्यहाँबाट ल्याउन पटक–पटक विवाद हुने गरेको छ । स्थानीयले त्यहाँबाट माटो निकाल्न नदिने गरेको कुमाल समुदायको गुनासो छ ।