७ मंसिर २०८१, शुक्रबार
,
Latest
कांग्रेसद्वारा मुलुकको आर्थिक अवस्थाबारे सरोकार भएकाहरूबाट सुझाव सङ्कलन रवि र छविलालसहित १० जनाविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश यस्ता छन् मन्त्रीपरिषद् निर्णय- ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप देखी बिभिन्न निकायमा… राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट नेपाललाई विपद् तथा जलवायु परिवर्तन उत्थानशील राष्ट्र बनाउनुपर्नेमा जोड सरकार कफी खेतीको प्रवर्द्धनका लागि प्रतिवद्ध छः कृषिमन्त्री अधिकारी हिमालय एयरलाइन्सबाट ट्राभल एजेन्टहरू न्यूनतम लाभ मार्जिनमा मात्र टिकट बिक्री गर्न निर्देशन आईपीएल मार्च १४ देखि, फाइनल २५ मेमा हुने !
तपाईं के खोज्दै हुनुहुन्छ ?

धार्मिक तथा सांस्कृतिक पर्यटनको अपार सम्भावना भएको क्षेत्रलाई त्यसको गरिमाअनुसार प्रवर्धन गर्नुपर्छ — प्रमुख शाह



file
अ+ अ-

काठमाडौँ । पचली भैरव जात्रा (तेप आजु) लाई सभ्य र भव्य रुपमा मनाउन काठमाडौँ महानगरपालिकाले सहजकर्ताको भूमिका निर्वाह गर्ने भएको छ ।

जात्रा व्यवस्थापन समितिले सभ्य भएर भव्य रुपमा जात्रा सञ्चालन गर्ने, ट्राफिक प्रहरीले यातायात आवागमन व्यवस्थापन गर्ने, सुरक्षा निकायले शान्ति सुरक्षा प्रदान गर्नेलगायत कामको विभाजन गरिएको छ । आज काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षता र प्रमुख बालेन्द्र शाह (बालेन) को प्रमुख आतिथ्यतामा सम्पन्न समन्वय बैठक बसेर यस्तो निर्णय गरिएको हो ।

बैठकमा प्रमुख शाहले, पचली भैरवको महिमा, कथा र ऐतिहासिकता सुन्न र बुझ्न पाएकोमा प्रशसन्नता व्यक्त गर्दै यो जात्रालाई इन्द्रजात्राको जस्तै गरेर महत्वका साथ मनाउनु पर्ने धारणा राख्नुभयो । ‘सगरमाथाजस्ता प्राकृतिक सम्पदासँगै काठमाडौँका जात्रा र पर्वसँग सम्बन्धित संस्कार र संस्कृति पनि प्रवर्धन योग्य भएको छन् । यिनीहरु धार्मिक, सांस्कृतिक पर्यटनका बनिबनाउ पूर्वाधार हुन् । यिनीहरुको प्रवर्धनले पर्यटन र स्थानीयबासीको आयमा वृद्धि हुन्छ ।’ प्रमुख शाहले यसको महत्वलाई ब्राण्डिङ् गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा उपप्रमुख डंगोलले, स्वतस्फूर्त रुपमा जात्रा सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले आर्थिक र प्राविधिक रुपमा सहयोग गर्ने बताउनुभयो । ‘जात्राको निरन्तरताका लागि हामीले ५० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्न बजेटको व्यवस्था गरेका छौँ । पर्वमा रहर र आदरका साथ पूजा आजा गरौँ । करले पूजा गर्दा यस्को मौलिकता विग्रिदै जान्छ । यसको मौलिकता बचाउनमा सबैको जिम्मेवारी रहन्छ ।’ उपप्रमुख डंगोलले भन्नुभयो, ‘जात्रामा खटिने स्वयमसेवकहरुले मदिरा सेवन नगर्दा राम्रो हुन्छ । गुठीयार र स्थानीयलाई मात्र जात्रा चलाउन कठिन हुन सक्छ । त्यसमा महानगरले आफ्नो भूमिका निर्वाह गर्नेछ ।’

जात्रा सञ्चालन हुने मार्गमा यातायात प्रवेश निषेध गर्नुपर्छ । बैठकमा सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नं. ८ का अध्यक्ष आशामान संगतले भन्नुभयो, ‘यी जात्राहरुलाई स्थानीय जात्राका रुपमाभन्दा राष्ट्रिय जात्राका रुपमा मनाउनुपर्छ । यस्ता पर्वको प्रवर्धन गर्नुपर्छ ।’ जात्रा सञ्चालन गर्न गुठी सस्थान, कौसी तोसाखाना, हनुमानढोका दरबार हेरचाह अड्डालगायत सबैको सक्रिय सहभागिताको खाँचो छ । बैठकमा जात्रा व्यवस्थापन समितिकासमेत अध्यक्ष रहनुभएका वडा १२ का अध्यक्ष बालकृष्ण महर्जनले भन्नुभयो, ‘जात्रामा १९ बर्षसम्म रुद्रविनायकको सहभागिता थिएन । २०७१ सालमा समिति गठन गरेर पुनः आगमन गराइएको हो । जात्राका अङ्ग छुटाउँदै होइन, जोड्दै लैजानुपर्छ ।’

पचली भैरव क्षेत्र विकास समितिका महासचिव सन्तकुमार महर्जनकाअनुसार यो पर्व किराँतकाल अघिदेखि नै राज्य र शक्तिसँग सम्बन्धित जात्रा हो । ‘राजा गुणकामदेवले दक्षिण कोलियोग्रामका क्षेत्रपालका रुपमा पचली भैरवको स्थापना गरेका हुन् । राजासँग खड्ग साट्ने परम्परासँग जोडिएको यो जात्रासँग सम्बन्धित ठाउँको करिब १० रोपनी १३ आना जग्गा दुरुपयोग भएको छ ।’ महासचिव महर्जनले भन्नुभयो, ‘जात्राको अस्तित्व बचाउन सम्पत्तिको पनि सुरक्षा हुनुपर्छ ।’

पचली भैरव शक्ति पीठ हो । राजाहरुलाई शासन चलाउन आवश्यक पर्ने शक्ति यस पीठबाट प्राप्त हुन्छ भन्ने मान्यता छ । यस ठाउँमा आएर नेपाली सेनाले पनि शक्ति पूजा गर्ने गरेको छ । शार्दुलजंग गुल्मका सेनानी शिव भँडेलकाअनुसार काठमाडौँका २६ वटा जात्रा र पर्वमा गुर्जुको पल्टन लैजाने गरिएको छ । यसमध्ये पचली भैरवको जात्रा पनि एक हो ।

यस बर्ष असोज १० गतेबाट जात्राका कार्यक्रम विधिवत सुरु हुँदैछन् । यसदिन गुठीयारहरुको परम्परागत विधिबाट हुने पूजा अर्चनापछि नाय्पाचोबाट सांस्कृतिक बाजागाजासहित क्वहिति लगिन्छ । असोज १३ गते भैरवलाई विराजमान गराउने कार्यक्रम छ । यसदिन क्वहितिमा थकु जुजुको पूवआजा गरी थकु जुजुको घर भीमसेन स्थान लगिनेछ ।

भीमसेन स्थानमा थकु जुजुको घरमा पचली भैरवलाई आफ्नै आसनमा राखेपछि परम्परागत विधिबाट आचाजुलाई पूजा गराइन्छ । यो पूजा सकिएपछि भीमसेनस्थान, क्वहिति, जैसीदेवल, ह्युमत, ओन्दे, मुस्किला –मुस्का) गणेश, टेकु हुँदै पचली भैरव पु¥याइन्छ ।

त्यसपछि पचली भैरवमा होम हुन्छ । यो विधि सकिएपछि सांस्कृतिक गथु बाजाको तालमा च्यागु खल, श्री पचली भैरव पुजारी र गुठीयारका थाकुलि तथा थाकुलि खलक मिलेर घ्याम्पो भर्ने काम गरिन्छ ।

असोज १४ गते ताःकाय्गुलाई जात्रामा लैजान मिल्ने बनाउन कसकास गरिन्छ । यसैदिन द्योसिँको पूजा, रुद्रविनायकलाई आसनमा राखिनेछ । त्यसपछि निराहार बसेको मानवरुपी अजिमालाई घ्वाःयागु गरिन्छ । त्यसपछि सबै पुजारी, गुरुजुको पल्टन मिलेर जात्रा सुरु गर्छन् ।

यो जात्रामा जीवित देवी कुमारीको शक्ति बढाउन आँखा जुधाउने चलन छ । यो विधि वेलुका साढे ८ बजे हुनेछ । व्रह्मटोलमा रहेको श्वेतभैरवको दर्शन बेलुका ९ बजे हुनेछ । १२ बर्ष १२ जना साथीकोमा जाने परम्पराअनुसार यस बर्ष मटुलाछीको घरमा स्वागत गरेर आसनमा राखेपछि यस बर्षको जात्रा सकिन्छ ।

सम्पदा विभागका उपनिर्देशक सृजृ प्रधानकाअनुसार रुद्रविनायक, मुक्ता गणेद्यः, नयाँ अजिमा र पचली भैरवलाई जोडेर जात्रा व्यवस्थापन काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले काम गर्नेछ ।