२२ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यात्मवादले समाजमा विभेद र अपमान गर्छः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अध्यात्मवादलाई अन्धविश्वास र अज्ञानताको संज्ञा दिनुभएको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालयमा १० औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले धर्मका नाममा ढुंगा पूज्दै हिँड्न विज्ञानसम्मत नभएको जिकिर गर्नुभयो । अध्यक्ष दाहालले आध्यात्मवाद वा परम्परागत जडताले विभेदतिर, अपमानतिर, उँचनिच बनाएर मानिसहरुलाई फुटाउनेतिर लैजाने बताउनु भयो । उहाँले विज्ञान प्रविधिले समानता, समाजवादतिर, न्यायतिर लैजाने उल्लेख गर्दै विज्ञानको बारेमा देशमा ठूलो वहस चलाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले नेपालमा तेत्तिसकोटी देवता हुन्छन्, जताततै देवतालाई पूजा गर्दै हिँड्नुपर्ने, मान्छेलाई लात हान्दै हिँड्ने, ढुंगालाई पूजा गर्दै हिँड्ने संस्कार रहेको उल्लेख गर्दै नेपाली समाज अझै विज्ञानको क्षेत्रमा पस्न नसकेको बताउनु भयो । उहाँले नाट्यकार बालकृष्ण समले ‘ज्ञान मर्दछ, हाँसेर, रोई विज्ञान मर्दछ’ भन्ने कवितांश सही नभएको जिकिर गर्नुभयो । अध्यक्ष दाहालले यस्ता संस्कारले देशको विकास र विज्ञानको विकासमा अवरोध सिर्जना गरेको बताउनु भयो ।

उहाँले विज्ञानको दुरुपयोग र सदुपयोग दुवै हुने उल्लेख गर्दै विज्ञानको धेरै भन्दा धेरै सदुपयोग गरी देशको विकास गर्न जरुरी रहेको बताउनु भयो । उहाँले सही विचारलाई बोकेर विज्ञानको प्रचारप्रसार र प्रयोग गर्नसके जनताको विकासलाई सहयोग पुग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विज्ञान प्रविधिले समानता, समाजवादतिर, न्यायतिर लैजान्छ । आध्यात्मवाद वा परम्परागत जडताले विभेदतिर, अपमानतिर, उँचनिच बनाएर मानिसहरुलाई फुटाउनेतिर गएको छ । मैले अहिले यसमा डिबेट ठूलो गर्न लागेको होइन । हामीकहाँ त अब तेत्तिसकोटी देवता हुन्छन्, जताततै देवतालाई पूजा गर्दै हिँड्नुपर्ने, मान्छेलाई लात हान्दै हिँड्ने, ढुंगालाई पूजा गर्दै हिँड्ने संस्कार छ नि । मैले फेरि धर्मलाई नेगेटिभ भनेको होइन है ।

चुनावको बेला छ, प्रचण्डले भनेपछि घट्ला भन्ने डर पनि छ, छन त । तर विज्ञान, प्रविधि दिवस भएकाले मैले त्यसलाई अपमान नगरीकन भनेको हो । हामी घरैपिच्छे पूजा गर्दै हिँड्ने मान्छेलाई पूजा गरे, गरिवलाई पूजा गरे कति राम्रो हुन्थ्यो । यो डिबेट हाम्रो समाजमा नै राम्रो डिबेट गर्नुपर्ने विषय छ । हामीलाई विद्वानहरुले पनि ज्ञान मर्दछ, हाँसेर, रोई विज्ञान मर्दछ भनेर सिकाइयो, बालकृष्ण समको त्यो सही होइन । ठूलै साहित्यकारले भनेपनि त्यो कुरा सही छैन ।

यो संस्कारले हाम्रो समाजमा विज्ञान प्रविधिको विकासलाई अवरोध गरेको छ । एक जमाना थियो, मानिसले बुझिसक्नु थिएन । प्रकृति के हो, किन चट्याङ किन पर्छ, भन्नेकुरा त्यतिबेलाका मान्छेलाई बुझिसक्नु थिएन । त्यसैले माथि कोही छ, सञ्चालक कोही छ, त्यसको करामत हो भन्दिएपछि त्यसलाई खुशी पारे बाढी, आगो, डढेलो लाग्दैन, महामारी रोगव्याधी आउँदैन भनेपछि एउटा बाच्ने आधार बनाए । विभिन्न तरिका अपनाए । त्यो अज्ञानतामा आधारित छ । थाहा नपाएर हो । त्यसले कुनै जमानामा मानिसलाई बचायो । विज्ञान प्रविधि आफैँ त कसैको पनि हुँदैन ।

सबैको हुन्छ , यसले विभेद गर्दैन । तर प्रयोग कर्ताले त्यसलाई दुरुपयोग र सदुपयोग दुवै गर्दछन् । भयानक दुरुपयोग पनि हुनसक्छ, भयानक सदुपयोग पनि हुनसक्छ । समाज र राष्ट्रको समृद्धिको ठूलो माध्यम हुन्छ भन्नेपनि प्रमाणित छ र अझ भयानक विभेद पैदा गर्नको लागि दुरुपयोग पनि गर्नसक्छन् मान्छेले । त्यसैले सही कन्टेनसहित त्यसको वितरण र प्रचार पनि सही तरिकाले गरेको खण्डमा फेरि विज्ञान प्रविधि जनताकै हो । विज्ञान प्रविधिले सेवा गर्ने जनता र सत्यको नै हो ।’

अध्यक्ष दाहालले देश विकासका लागि सबैले आफ्नो सोचाइ र हेराईको दृष्टिकोणलाई बदल्न वैज्ञानिक छलफल गर्न आवश्यक रहेको बताउनु भयो ।