१० मंसिर २०८१, सोमबार
,
Latest
प्रेमी सायुज्यसँग विवाह गर्दै स्मिता मेगा अक्सनको पहिलो दिन कप्तानको सबैभन्दा बढी माग, ४ कप्तान किन्न ८३.५० करोड खर्च चित्रलेखा यादव अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत सुवेदी, कक्षपती र बेञ्जु शर्मालाई त्रिमूर्ति पुरस्कार एनपिएलले नेपालका पर्यटन र युवा प्रतिभालाई उजगार गर्नेछ: प्रधानमन्त्री आठ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागको आग्रह एकैदिन झण्डै १६ हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ करोबार? एनपीएलको ट्रफी धरहराबाट अनावरण (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेङ्गु नियन्त्रण गर्न संसदमा सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । मुलुकका अधिकांश जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढिरहेकाले तत्काल नियन्त्रणमा पहल गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद मायाप्रसाद शर्माले डेङ्गु सङ्क्रमण बढ्दोक्रममा रहेकाले तत्काल नियन्त्रण गर्न आवश्यक भएको बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातै प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेङ्गु फैलिएकोे जनाएको छ । गत साउनदेखि हालसम्म १२ हजार दुई सय १७ जनामा डेङ्गु पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ । डेङ्गुका कारण ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार प्रदेश १ मा चार सय दुई, मधेसमा दुई सय २३, बागमतीमा नौ हजार तीन सय चार, गण्डकीमा दुई सय ४५, लुम्बिनीमा एक हजार चार सय ७९, कर्णालीमा एक सय ८४ र सुदूरपश्चिम प्रदेशमा तीन सय ८० जनामा डेङ्गु देखिएको छ ।

सांसद शर्माले देशका धेरै स्थानमा बाढीपहिरो गएको जनाउँदै बाढीपहिरो प्रभावितको उद्धार र राहत वितरणमा सरकारको ध्यानाकर्षण गराउनुभयो । दार्चुला, काभ्रेपलाञ्चोकलगायत जिल्लामा बाढी, पहिरोले मानवीय र भौतिक क्षति पु¥याएको छ । उहाँले बाढी, पहिरो प्रभावितलाई राहत र प्रभावित क्षेत्रमा तत्काल सडक सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद डा विमला राई पौडेलले डेङ्गुले तहल्का मच्चाइरहेकाले यसको नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराउनुभयो । “प्रत्येक घरमा बिरामी छन् । सरकार डेङ्गु नियन्त्रण गर्नेतर्फ ध्यान दिन सकेन । बजारमा सिटामोलको अभाव छ, जनतालाई ज्वरो आएको छ, सिटामोल पु¥याउनु पर्दैन ?”, उहाँले भन्नुभयो । उहाँले डेङ्गु प्रतिकारात्मक काम कहाँ पुग्यो भनी स्वास्थ्य मन्त्रालयसँग प्रश्न गर्नुभयो ।

सांसद जयन्तीदेवी राईले महँगीको चपेटामा जनता परिरहेको र महँगी नियन्त्रणमा सरकारको ध्यान दिन नसकेको बताउनुभयो । “सबैको ध्यान पेट्रोलियम पदार्थको मूल्य बढेकामा गएको देखियो”, उहाँले भन्नुभयो, “तर दैनिक उपभोग्यवस्तुको मूल्य अकासिएको छ, यतातर्फ कसैको ध्यान गएको देखिएन ।” किसानका उत्पादनले उचित मूल्य पाउन नसकेको तथा उपभोक्ताले चर्को मूल्य तिरेर तरकारी खानुपरेको जनाउँदै उहाँले कृषिजन्य उत्पादनको बिक्री वितरणमा संलग्न विचौलियाको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद खिमलाल देवकोटाले प्रदेशलाई अधिकार दिन कुनै कञ्जुस्याइँ गर्न नहुने बताउनुभयो । पाँच वर्षसम्म प्रदेशले सरकारको अनुभूति गर्न नपाएको उल्लेख गर्दै उहाँले संविधानको अनुसूचीमा रहेको एकल अधिकार सूचीका अधिकार पनि प्रदेशले प्रयोग गर्न नसकेको बताउनुभयो । “एकल अधिकार क्षेत्रभित्र रहे पनि अहिलेसम्म प्रहरी समायोजन भएको छैन, सङ्घीय निजामतीसम्बन्धी कानून नहुँदा प्रदेश निजामती कानून बन्न सकेको छैन, बनेका पनि प्रभाकारी छैनन्”, उहाँले भन्नुभयो, “प्रदेश लोकसेवा आयोग प्रभावकारी बन्न सकेको छैन, प्रदेशमा ४० प्रतिशत कर्मचारी न्यून छन्, भएका कर्मचारीको पनि स्थायित्व छैन, प्रदेश मन्त्रालयका सचिवको छोटो अवधिमा नै सरुवा हुने गरेको छ ।”

प्रदेशका अधिकारलाई सङ्कुचन हुनेगरी विभिन्न सङ्घीय कानुन बनेको जनाउँदै उहाँले कर्मचारी, कानून, वित्तीय साधन स्रोतलगायत आधारभूत संरचना सुनिश्चिता नगरिए प्रदेश सरकारले आफ्नो औँचित्य पुष्टि गर्न नसक्ने बताउनुभयो ।

सांसद कमला पन्तले आगामी निर्वाचनमा महिला सहभागिता सुनिश्चित गर्न राजनीतिक दलले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “महिलाले निर्वाचनमा भाग लिन सक्दैनन् भन्ने होइन, उनीहरुले निर्वाचनमा विजयी हुन्छन् भन्ने मानसिकता नेतृत्वले गर्नुपर्छ ।” सांसद देवेन्द्र दाहालले मुलुकको समृद्धि, सुशासनका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । “रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, अनुशासनहिनताको अन्त्य गरिनुपर्छ”, उहाँले भन्नुभयो ।

सांसद गोमादेवी तिमिल्सना जनताले गणतन्त्रको अनुभूति गर्न नपाएको जनाउँदै जनजीविकाका सवाल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । “महँगीले चरम सीमा नाघेको छ, स्वदेशमै उत्पादित सामग्रीको मूल्य पनि अकासिएको छ”, उहाँले भन्नुभयो, “कृषिप्रधान मुलुक भने पनि दैनिक उपभोग्य वस्तु आयातमा आधारित छ, सरकारले खेतीयोग्य जमिन बाँझो नराखी कृषि उत्पादन गराउनेतर्फ लाग्नुपर्छ ।”