७ मंसिर २०८१, शुक्रबार
,
Latest
राष्ट्रपति पौडेलसंग सभामुख घिमिरेको भेटवार्ता अर्थतन्त्रलाई खलबल्याउन कम्बोडियामा लगानीको अफवाह फैलाइयोः प्रधानमन्त्री ओली विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छः अध्यक्ष दाहाल चीनको भ्रमण घुम्नका लागि होईन : प्रधानमन्त्री २०८४ सालको निर्वाचनसम्म अहिलेको समीकरण कायम रहन्छः प्रधानमन्त्री ओली विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौंः प्रधानमन्त्री चीनद्वारा २९ देशका लागि एकपक्षीय भिसा मुक्त नीति लागुः विदेश मन्त्रालय सहकारीको भावनाविपरीत सञ्चालन गर्दा समस्या आयोः मुख्यमन्त्री पाण्डे बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत नेपालका राजनीतिक दलहरुमध्ये सबैभन्दा दूरदर्शी नेतृत्व नेकपा एमालेसँग छः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

डुबानको चिन्ताले छाडेन बाँकेको डुडुवावासीलाई



file
अ+ अ-

खजुरा । बाँके डुडुवा गाउँपालिकाको होलिया टेपरीका तेजाराम यादव कृषिमा निर्भर हुनुहुन्छ । पानी परेपछि नै उहाँको खेतमा अनाज उत्पादन हुन्छ । किसान भएर पनि यादव आकाशमा कालो बादल मडारिदा खुशी हुनुपर्नेमा दुःखी देखिनु हुन्छ । ठूलो पानी पर्ने सङ्केत देखिंदा यादवलाई ज्यान बचाउने चिन्ता हुन्छ । जहान परिवार र वर्षभरि खाना राखेको अनाजको कसरी संरक्षण गर्ने भन्ने तनाब हुने गर्छ ।

यादवको यो चिन्ता र तनाब अहिले आइलागेको समस्या भने होइन । यो वर्षौंदेखि भोग्दै आएको समस्या हो । भारतले राप्ती नदीमा लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र दशगजामा अग्लो सडकजस्तो बाँध बनाइदिएपछि बर्षात्को समयमा यादवको जीवन जोखिममा पर्ने गरेको हो ।

विसं २०७१ मा आएको ठूलो बाढीमा यादवको परिवार डुङ्गामा बसेर नजिकै रहेको दशगजाको बाँधमा पुग्नुभयो । यादवले खाद्यान्नको संरक्षण गर्न सक्नु भएन । यादव भन्नुहुन्छ, ‘‘भारतमा विहे भएकी छोरीले उतैबाट खाना ल्याएर सेवा गरिन् । दुई महिनासम्म उनैले पालिन् ।’’

रातिमा पानी पर्दा यादव परिवारलाई अझ बढी तनाब हुन्छ । रातिमा बाढी आइहालेमा कता भाग्ने समस्या हुन्छ । पटक–पटक डुबानमा पर्नु भएका यादवलाई कहिलेकाहीँ त लाग्छ, ‘भाग्यमा जे लेखेको छ । त्यही हुन्छ । बाढीबाट मर्न लेखेको छ भनेर जति भागे पनि बचिँदैन ।’ ‘श्वास रहुञ्जेल आश’ भने झै रातिमा ठूलो पानी पर्दा यादव परिवार जाग्राम नै बस्ने गरेको छ । उहाँको परिवार नजिकको उच्च ठाउँ या पक्की घरको छत खोज्न पुग्छ ।

होलिया कृषि चौफेरीका सेवकराम यादवले खाद्यान्न जति अटिया बनाएर राख्नु भएको छ । बाढी आइहालेमा खाद्यान्न बचाउने यादवको उपाय हो यो । कृषि चौफेरी राप्ती नदी बढ्ने बित्तिकै डुबानमा पर्ने ठाउँ मानिन्छ । आठ वर्षअघि ठूलो बाढी आउँदा सेवकरामको परिवार नजिकको स्कूलमा गएर बसेको थियो । नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको थियो । यसपालि गाउँपालिकाले नजिकै आश्रय स्थल बनाइदिएकाले कृषि चौफेरीका मानिसलाई बाँचिने आशा पलाएको छ ।

बेतहनी बाबा गाउँका लायकराम यादवका परिवार ठूलो पानी पर्न थालेपछि घरको छतमा गएर बस्न विवश छ । गाउँमा सबैभन्दा पहिला पक्की घर बनाएका यादवले २०७१ र २०७४ सालमा ठूलो दुःख पाएको बताउनुभयो । त्यतिबेला ठूलो बाढी आएको थियो । २०७४ सालको बाढीले आफ्नो धेरै अन्न नोक्सान गरेको यादवले बताउनुभयो । घरभित्र नै पाँच फिटभन्दा बढी पानी पसेको यादवको स्मरण गर्नुभयो ।

डुडुवा गाउँपालिकामा ४५ हजार जनसङ्ख्या रहेको छ । वर्षेनीजसो आउने बाढीले २५ हजार मानिसलाई दुःख दिने गर्दछ । छ वडामध्ये चार वडा डुबानको जोखिममा पर्छन् । साविकको होलिया र बेतहनी गाविस धेरै जोखिममा रहेको छ । बाढीले गर्दा जनतालाई दुःख दिने, कटान र पटानले खेतीयोग्य जमिन मरुभूमि बनाउने क्रम चलिरहेको छ ।

वर्षेनी हुने बाढीको समस्या रोक्न गाउँपालिकाले विभिन्न उपायहरु अपनाउन थालेको छ । जनता बचाउन पालिकाले ठाउँ–ठाउँमा आश्रयस्थल बनाएको छ । गाउँपालिका अध्यक्ष चौधरीका अनुसार रु ५२ लाख बढी खर्च गरेर पाँच वटा आश्रयस्थल निर्माण गरिएको छ । केही ठाउँमा अझै बनाउने योजना गाउँपालिकाको छ ।

वडा नं. १ होलियाको छिटईपुरुवामा दुई वटा, कृषि चौफेरी र बोर्डर चौफेरीमा एक÷एक वटा र बेतहनीको रामनगर पाजामा एउटा आश्रयस्थल बनाइएको छ । एउटा आश्रयस्थलमा सय बढी मानिस अट्न सक्छन् । बाढी आउँदा स्थानीय बासिन्दा त्यहाँ गएर बस्न सक्छन् । बाढी आएपछि स्थानीय बासिन्दा उच्च स्थानमा पुग्ने गर्दछन् । कसैको पक्की घर, स्कूल वा अरु कुनै उच्च ठाउँमा पुगेर ज्यान बचाउने होलिया र बेतहनीका बासिन्दालाई आश्रयस्थलले ठूलो सहयोग पु¥याउने पालिकाको विश्वास रहेको छ ।

विसं २०७१ मा ठूलो बाढी आउँदा सेनाको हेलिकोप्टर धेरैको उद्धार गरेको थियो । त्यसअघि डुङ्गाबाट मानिस अन्यत्र सारिएको थियो । पालिकाले बनाएको आश्रयस्थललाई प्राथमिक उपचारको रुपमा लिइएको छ । हेलिकोप्टरले उद्धार गर्नुअघि स्थानीय त्यहाँ बस्न सक्छन् । राप्ती नदीमा बाढी आउँदा होलिया, बेतहनीका गाउँहरुमा सिधा ठोकिन्छ । कृषि चौफेरी, छिटैपुरुवा, बोर्डर चौफेरी, गजराज पाजा, टेपरी, सिम्रहना, पिप्रहवा जोखिममा पर्छन् । केही वर्षयता राप्तीले धार परिवर्तन गर्दा सानो बाढीले पिप्रहवातिर भने असर नपार्ने भएको छ ।

हरेक वर्ष जस्तै यो वर्ष पनि गाउँपालिकाले वर्षात् लक्षित केही रणनीतिहरु बनाएको छ । अस्थायी तटबन्धको तयारी गरेको छ । कन्टेनर र डुङ्गाहरु तयारी अवस्थामा राखेको छ । ‘‘बाढी आइहालेमा उद्धार र राहतको तयारीमा छौंँ, पालिकाका प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले भन्नुभयो, पालिकाका सबै वडाहरुलाई तयारी अवस्थामा राखेका छौंँ ।’’

बाढी तथा डुबानले डुडुवा पालिकाको धेरै खेतीयोग्य जमिन मरुभूमि भएको छ । उब्जाउ भूमिमा अहिले बालुवा थुप्रिएको छ । राप्ती नदीले धार परिवर्तन गरिरहने गर्दछ । पालिकाले अब मरुभूमि बनेका जमिनलाई पुनः उब्जाउ गराउने रणनीतिहरु बनाउनु पर्ने देखिन्छ ।

भारतले एकतर्फी रुपमा सन् १९८५ देखि ९० सम्ममा राप्ती नदीमा लक्ष्मणपुर बाँध निर्माण ग¥यो । सन् २००० मा कलकलवा तटबन्ध बनायो । यी दुई संरचना बनेपछि बाँकेको राप्ती नदीतटीय क्षेत्रका बासिन्दाको ‘दशा’ शुरु भएको हो । यी संरचनापछिको डुबानले तटीय क्षेत्रका २० भन्दा बढी नागरिकको ज्यान लिइसकेको छ भने छ हजार बढी मानिस विस्थापित भइसकेका छन् । बाढीले पाँच हजार ४०० हेक्टर जमिन डुवान, कटान र पटान भएको छ ।

लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धले नै ठूलो क्षति पु¥याइरहेको बेलामा भारतले फेरि दशगजासँग सटाएर सडकजस्तो बाँध बनाएको छ । यसले अझ ठूलो समस्या सिर्जना गरेको छ । यो सडकले तटीय क्षेत्र मात्रै नभएर बाँकेको दक्षिणी पूरै बस्ती डुबानको जोखिममा परेको छ । नेपालबाट बग्ने नदी, नालाको प्राकृतिक बहावलाई भारतले बनाएका यी संरचनाले रोक्ने गरेको छ । जसको असर नेपालका दक्षिणी भेगमा पर्ने गरेको छ ।

दुई देश भएर बस्ने नदीमा संरचना बनाउँदा दुवैको सहमति हुनुपर्छ । हेलसिंगी नियम १९६६ को नियम २९ ९२० मा दुई देशमा बग्ने नदीलाई अर्को देशलाई असर पर्ने गरी संरचना निर्माण गर्न नपाइने उल्लेख छ । भारतले यो नियमलाई पालना गरेको छैन । नेपालबाट यसका बारेमा असन्तुष्टि जनाइएपछि भारतले सन् २००३ मा राप्ती नदीको दुवै किनारमा २८ किलोमिटर पक्की तटबन्ध बनाइदिने आश्वासन दिएको थियो । अहिलेसम्म यो आश्वासन पूरा हुन सकेको छैन । फेरि अहिले आएर ४५ किलोमिटर तटबन्ध बनाइदिने आश्वासन दिएको छ । त्यसका लागि नौ अर्ब छुट्याएको बताइएको छ । राप्ती नदीको बाया २२ दशमलव १५ र दाया २३ दशमलव २५ किलोमिटर पक्की तटबन्ध बनाइदिने सहमति भएको जनता तटबन्ध कार्यालयका इन्जिनियर महेशराज श्रेष्ठले जानकारी दिनुभयो ।

नदीको दुवै किनारमा पक्की तटबन्ध बनेमा तटीय क्षेत्रको गाउँ सुरक्षित हुनेछन् । भारतको भर पर्न नहुने स्थानीय बासिन्दाको जोड रहेको छ । लक्ष्मणपुर बाँध पीडित सङ्घर्ष समितिका सचिव राजकुमार शुक्लाले भारतले नदीका दुवै किनारमा पक्की तटबन्ध बनाइदिने आश्वासन दिएर झुलाउने काम गरिरहेको बताउनुभयो । राप्ती नदीले गर्दा कतिपय गाउँ विस्थापित भएका छन् । होलियाका टेपरीलगायत ठाउँका एक सय ४४ घरपरिवारलाई हजरत र झोरा सामुदायिक वनमा सारिएको छ । धेरै घरपरिवार अहिले पनि जंगल छेउछाउमा बसेका छन् । रासस