• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ ★   सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर ★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी

समयमा पानी नपरेका कारण दाङमा धान उत्पादनमा कमी हुने



फाईल फोटो

देउखुरी । दाङमा समयमा पानी नपरेका कारण धानखेती प्रभावित भएको छ । आकाशे पानीबाट खेती लाग्ने जमिन बाँझै रहेका छन् । ती जमिन अहिले गौचरनमा परिणत भएका छन् । दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेको दाङमा यस वर्ष समयमै पर्याप्त वर्षा नभएका कारण भदौ अन्तिम साता हुँदा पनि रोपाइँ हुनसकेको छैन ।

लमही नगरपालिका–१ नर्तीका रुपलाल चौधरीको १० कट्ठा खेतमा धानखेती गर्नुभएको छ । “समयमा मल पाइएन, मल पाउँदा पानी भएन, जसोतसो मोटरको पानीले खेती गरियो”, उहाँले भन्नुभयो, “गत वर्षजस्तो उत्पादन हुँदैन, आम्दानीको स्रोत भनेको खेतीपाती मात्रै छ ।” त्यो राम्रो नभएपछि खर्च टार्न समस्या हुने उहाँ बताउनुहुन्छ ।

घोराही–६ का किसान बुद्धिराज वलीले छ कट्ठा जमिनमा लगाएको धान सबै सुकेर पहेँलो भएको छ । “साउन पहिलो साता रापेको धान महिनाभर पानी नपाउँदा आशा मरेको थियो, भदौ लागेपछि पानी परेका कारण केही आशा पलाएको छ”, उहाँँले भन्नुभयो । धानका गरामा धाँजा फाटेको थियो, पूरै धान फल्ने आशा त छैन, बीउ उठ्छ कि भन्ने लागेको उहाँले बताउनुभयो ।

दाङमा यस वर्ष पानी नपरेपछि धान खेती प्रभावित भएको छ । आकाशे पानीको भरमा खेती हुँदै आएको जग्गा बाँझै छन् भने धान रोपेका खेतका गह्रा सुकेर चिरा परेका छन् । समयमा पानी नपाएको धानले उत्पादन कम दिने किसानको भनाइ छ ।

अधिकांश ठाउँमा रोपाइ भए पनि केही ठाउँमा भने पानीको अभावमा खेत बाँझै भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । देउखुरी क्षेत्रमा धान रोपाइँ भए पनि घोराही, तुलसीपुर र त्यसभन्दा पश्चिम क्षेत्रका कृषकले धान रोपाइँ गर्न नसकेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मनोजकुमार सिंहले बताउनुभयो ।

उहाँका अनुसार यस वर्ष ८५ प्रतिशतमात्र धानखेती भएको छ भने बाँकी १५ प्रतिशत खेत बाँझै छ । दाङमा यस वर्ष ३९ हजार चार सय हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । मौसम प्रतिकूलताका कारण अहिले जिल्लामा सबै क्षेत्रफलमा धान रोपाइँ नभएको र धान उत्पादनमा ह्रास आउने अनुमान गरिएको छ ।

जिल्लामा ६५ हजार नौ सय ८० हेक्टर जमिन खेतीयोग्य छ । त्यसमध्ये ३० हजार चार सय हेक्टर जमिनमा धान खेती हुँदै आएको छ । उन्नाइस हजार छ सय ५१ हेक्टर जमिनमा पूणरूपमा सिँचाइ सुविधा पुगेको छ भने बाँकी ३९ हजार दुई सय ११ हेक्टर जमिनमा आंशिक सिँचाइको व्यवस्था छ ।

कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार गत वर्ष नौ हजार तीन सय पाँच मेट्रिक टन बढी धान उत्पादन भएको थियो । अठतीस हजार चार सय ९७ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यसमा एक लाख ७९ हजार मेट्रिक टन धान उत्पादन भएको केन्द्रका सूचना अधिकारी सिंहले जानकारी गराउनुभयो ।

कृषकले सुक्खा–२, ३, रामधान, विन्देश्वरी, सामा मन्सुली, सावित्री, हाइब्रेड, युएस–३१२ जातका धानका बीउ रोपेका छन् । लमही, चैलाही, गोवडिया, रामपुर कर्जाही, चैनपुर, फचकपुर, गुरुवागाउँ ,गुरगै, बिजौरी, पर्सेनीलगायतका ठाउँमा बढी धानखेती हुन्छ । कृषकले विभिन्न उन्नत तथा स्थानीय जातको धान लगाएका छन् । दाङको देउखुरी क्षेत्रमा छिटो धान रोपाइँ हुने गर्दछ । जिल्लाका विभिन्न स्थानमा मकैजोन कार्यक्रम मात्र नभई तोरीजोन, स्मार्ट कृषिगाउँजस्ता कार्यक्रम पनि सञ्चालन भइरहेका छन् । रासस