• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

सम्पदाहरुको संरक्षणबाटै पर्यटन प्रवद्र्धन सम्भवः मेयर साह



file photo

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपालका सम्पदाहरुको संरक्षणबाट नै पर्यटन क्षेत्रको विकास गर्नसकिने बताउनुभएको छ । उहाँले नेपालमा भएका सम्पदाहरु संरक्षण गर्नसके मात्रै पर्यटन विकासमा ठूलो योगदान पुग्ने बताउनुभएको हो ।

इन्द्रजात्राको बारेमा जानकारी दिन काठमाडौं महानगरपालिकाले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर साहले देशको सौन्दर्य भनेको नै मुलुकका मूर्त र अमूर्त सम्पदाहरुको पहिचान गरी विश्वमा चिनाउनु रहेको बताउनु भयो । उहाँले इन्द्रजात्रालाई विश्वव्यापीरुपमा फैलाउने उद्देश्य महानगरपालिकाले राखेको पनि बताउनु भयो उहाँले नेपालको मूर्त र अमूर्त सम्पदाको राम्रो पक्ष जात्रा, परम्परा, पर्वहरु पूजा गर्नमा मात्र सिमित नभइ मनोरञ्जन,उत्साह र उमङ्ग,खुशीेसँग जोडिएको बताउनु भयो ।

मेयर साहले काठमाडौं उपत्यकाका तीन जिल्लाका पर्वहरुको छुट्टाछुट्टै महत्व रहेको भन्दै सबै पर्वहरुलाई छुट्टा छुट्टै तरिकाले जोगाउँदै जानुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो,‘ महानगरले इन्द्रजात्रालाई काठमाडौं महानगरपालिका भित्र मात्रै नभएर नेपालभर र विश्वमा समेत गरी विश्वमा नै फैल्याउने उद्देश्य रहेको छ । देशको सौन्र्दय भनेकै मूर्त र अमूर्त सम्पदा हुन् । नेपाल पर्यटनमा धेरै अगाडि बढ्नसक्ने देश हो । नेपालमा भएका सम्पदा संरक्षण गर्नसक्यौं भने मात्रै पनि पर्यटन क्षेत्रको राम्रो विकास गर्न सक्छौं । नेपालको मूर्त र अमूर्त सम्पदाको राम्रो पक्ष जात्रा र परम्परा पर्वहरु आफैँमा पूजा गर्ने मात्रै नभएर मनोरञ्जन,उत्साह र उमङ्ग,खुशीसँग पनि जोडिएको हुनाले संरक्षण गर्नुपर्छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका पर्वहरुको छुट्टाछुट्टै महत्व रहेको छ । सबैलाई छुट्टा छुट्टै तरिकाले जोगाउँदै जानुपर्छ ।’

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताउनु भयो । उहाँले इन्द्रजात्रा मनाउनका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरुलाई निम्तो गरिसकेको भन्दै अतिथिहरु बिहीवारबाट काठमाडौं आउन थाल्ने जानकारी दिनुभयो । उपप्रमुख डंगोलले इन्द्रजात्राको महत्वलाई ध्यानमा राखेर महानगरले स्थानीय सरकारको रुपमा आर्थिकदेखि जात्रा व्यवस्थापकीय कार्यमा सहकार्य गरेको बताउनु भयो । उहाँले इन्द्रजात्रालाई सभ्यभव्य र राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न सञ्चार माध्यमको मुख्य भुमिका हुने दाबी गर्नुभयो ।

इन्द्रजात्रा कोभिडको कारण केही वर्ष मनाउन सकिएको थिएन । तर यो वर्ष भने स्वदेशी तथा विदेशी पाहुनाहरुलाई समेत बोलाएर जात्रा मनाउन लागिएको महानगरले जानकारी दिएको छ । जात्रा आवलोकन गर्न दक्षिण एशियाली मुलुकका राजधानी शहरबाट प्रमुख तथा उपप्रमुखहरू तथा भगिनी सम्बन्ध भएका चीन र अमेरिकाका १८ वटा नगरपालिकालाई महानगरले निम्तो गरेको छ । काठमाडौं उपत्यकामा बुधवारदेखि इन्द्रजात्रा विधिवत रुपमा शुरु भएको छ ।