• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

गठबन्धनमा भाग टुंगेपछि मात्रै उम्मेदवारको टुंगो लाग्छ : गृहमन्त्री खाँण



file

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनमा भाग टुंगिइसकेपछि मात्रै नेपाली काँग्रेसले आगामी संघ र प्रदेश तहको निर्वाचनमा उम्मेदवार चयन गर्ने बताउनुभएको छ ।

मंगलवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाँणले गठबन्धमा निर्वाचन क्षेत्रको भागबन्डा लगाएपछि मात्रै आफ्नो पार्टीले उम्मेदवार चयन गर्ने बताउनुभएको हो । उहाँले भागबन्डा टुंगो लगाउन गठबन्धनको कार्यदलमा छलफल भइरहेको बताउनु भयो । गृहमन्त्री खाँणले नेपाली काँग्रेसको निर्वाचन क्षेत्रिय समिति, जिल्ला समन्वय समिति र प्रदेश कार्यसमितिले आ–आफ्नो मातहतका निर्वाचन क्षेत्रहरुका लागि उम्मेदवारहरु सिफारिस भने गरिरहेका बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘निर्वाचनमा दलहरुको बीचमा गठबन्धनमा छौँ । पहिला हामीले कुन निर्वाचन क्षेत्रमा कुन जिल्लामा कुन पार्टीको उम्मेदवार उठ्ने त्यो कुराको निर्णय हामीले गठबन्धनबाट गर्नुपर्छ । र गठबन्धनको पनि कार्यदल बनेको छ । कार्यदल छलफलमा नै छ । छलफल गरिसकेपछि कुन जिल्लाको कुन निर्वाचन क्षेत्रमा कुन पार्टीले प्रतिनिधि सभामा उठ्ने, कुन पार्टीले प्रदेश सभामा उठ्ने त्यो कुराको टुंगो लागिसकेपछि हामीले आफ्नो पार्टीको कस–कसलाई उम्मेदवार गराउने त्यो कुराको टुंगो लाग्छ ।’

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादवले आज बेलुकासम्ममा गठबन्धनको भागबन्डा टुंगो लाग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भागबन्डाको टुंगो लगाउन सोमवारदेखि प्रदेश र संघीय निर्वाचन क्षेत्रस्तरीय छलफल जारी रहेको बताउनु भयो ।

यादवले भन्नुभयो – ‘निर्वाचन क्षेत्रगत आधारमा छलफल गरेर सहमती जुटाउने दुई दिनको समय हामीले पाउँछौँ । आज ढिलो रातीसम्म छलफल गरेर सहमतीमा जाने प्रयास हुन्छ । हिजोदेखि प्रदेश र संघीय निर्वाचन क्षेत्रस्तरीय छलफल जारी छ । आज पनि हामी बसिरहेका छौँ । ६ बजे बेलुकादेखि फेरि बसेर ढिलो सम्म आज हामी सहमति गर्ने प्रयास गर्छौं ।’

उहाँले हालसम्म सिट बाँडफाँटको सम्बन्धमा सहमती जुट्न नसकेको स्पष्ट पार्नुभयो ।