• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo

पाल्हिनन्दन गाउँपालिका अध्यक्ष गुप्ताविरुद्ध पक्राउ पुर्जी



बुटवल । दुई भारतीयलाई योजनाबद्धरुपमा लागुऔषध मुद्दामा फसाएको आरोपमा पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

प्रहरीको मिलेमतोमा साझेदारी व्यापारको एक करोडभन्दा बढी रकम हडप्न अध्यक्ष गुप्ताले ती भारतीयलाई लागुऔषध मुद्दामा फसाएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष गुप्ता हाल फरार छन् । यद्यपि सरकारी वकिलको कार्यालयले एक साताभित्र मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

सरकारी वकिलको कार्यालयका अनुसार अध्यक्ष गुप्ताकै योजनामा ती भारतीय नागरिकलाई नक्कली मुद्दा चलाउन खोजेको पुष्टि भइसकेको छ । गुप्ताका सहयोगी पूर्व नगरप्रहरी रघुनाथ धोबी पक्राउ परिसकेका छन् र उनकै बयान र अन्य प्रमाणका आधारमा घटनामा गुप्ताको संलग्नता पुष्टि भएको हो ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीको टोलीले गत असार २२ गते रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरुबाट दुई सय ७० सेट डाइजेपाम, नुरर्फिन र फेनार्गन लागुऔषध बरामद गरेको थियो ।

यद्यपि छानबिनका क्रममा उनीहरु निर्दोष देखिएका थिए । घटनालाई बनावटी बनाइएको प्रहरीले फेला पारेको थियो । ती निर्दोष भारतीय नागरिक दुई महिनादेखि प्रहरी हिरासतमा छन् ।

अनुसन्धानपछि सरकारी वकिल कार्यालयले गाउँपालिका अध्यक्ष गुप्ता, उनका सहयोगी धोबी र अर्का युवक विवेक पाण्डेलाई लागुऔषध मुद्दामा सजायको मागदाबी लिई अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

थुनामा रहनुअघि ती दुई भारतीय नागरिकले अध्यक्ष गुप्तासँग कवाड सामानको कारोबार गर्दै आएका थिए । कारोबारबाट भएको नाफाको २० प्रतिशत रामा गुप्तालाई दिनुपर्नेमा अध्यक्ष गुप्ताले आलटाल गर्दै आएका थिए । अध्यक्ष गुप्ताबाट रामाले एक करोड ३३ लाख पाउनुपर्ने थियो ।

अध्यक्ष गुप्ताले सोही रकम नदिन र हडप्नका लागि आर्थिक चलखेल गरेर प्रहरीसँगको मिलेमतोमा रामालाई लागुऔषध मुद्दामा फसाएका थिए । अध्यक्ष गुप्ताले यसका लागि नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेललाई समेत प्रभावमा पारेका थिए ।

थुनामा रहेका रामा र पासवान निर्दोष रहेको र उनीहरुलाई तत्काल रिहा गर्न भन्दै उनीहरुका परिवार, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नवलपरासीले आन्दोलन समेत गरेका थिए । उनीहरुले अध्यक्ष गुप्तालाई तत्काल पक्राउ गरी छानबिन गर्न माग समेत गरेका थिए ।

अध्यक्ष गुप्ता स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट विजयी भएका थिए । उनीसँग रामाले रामाले १२ वर्षदेखि कवाड कारोबार गर्दै आएका थिए ।