३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

स्तुतिको बोलीमा आउन खोजेकी ‘आमा’

स्तुतिको बोलीमा आउन खोजेकी ‘आमा’
अ+ अ-

त्यो ठाउँमा सुत्केरी गराउन अस्पताल लैजान  कहाँ पाउनु ? हुम्लाको अदानचुली–५ की ३२ वर्षीया गौरा छत्यालले घरमै जन्माइन् सातौँ छोरी । हुम्लाको हिउँ, पुस २९ को बिहानी । बच्चा जन्मियो ।

सुत्केरी गराउन सहयोग गरिरहेका साथैमा रहेका अरु महिला (सायद सुडेनी) लाई गौराले सोधिन्– के जन्मियो ? उनीहरुले जबाफ दिए, उही हो, छोरी । यो सुन्ने बित्तिकै प्रशव वेदनाको ओछ्यानमा सुतिरहेकी गौराको मुख अमिलो भयो किनभने उनले जन्माएकी सातौँ सन्तान पनि छोरी नै थिइन् । अकस्मात गौराको मुखबाट बाक्य निस्कियो– पर लैजाउ । त्यसलगत्तै उनले अर्कातिर (दाहिनेतिर) मुन्टो फर्काएर सुतिन् ।

यता शिशुको धोइपखानी भयो । घरमा भएको याथासक्य न्यानो कपडाले नानीलाई बेरबार भयो । केही मिनेटजति पछि बच्चाको रुवाई निकै चर्काे भएपछि दूध चुसाउन आमाको खोजी भयो । सुडेनीहरुले गौरालाई उठ्न भने । गौरा ? पटक पटक बोलाए । अहँ उनले सुनिनन् । तल्लो घरकी दिदीले गौराको हात समातेर हल्लाइन् । उनी अझै बोलिनन् । सबै भएर उठाउन खोजे ।

उनलाई ओछ्यानबाट यसो उठाए । उनको मुन्टो दायाँको दायाँ नै थियो । होस थिएन । लौन के भयो भन्दै उनीहरुले यताउति गरे अनि घर र वरपरका पुरुषहरुलाई खबर गरे । अस्पताल लैजाने कि भन्ने भयो । तर त्यतिबेलासम्म गौराले प्राण त्याग गरिसकेकी थिइन् । उनले दाहिने फर्काएको मुन्टो कहिल्यै सीधा बनाइनन् । सातौँ सन्तानका रुपमा पनि छोरी नै जन्माएपछि उनले त्यस्तै पाँच सात मिनेटमै यो संसारबाट बिदा लिइसकेकि रहिछन् । छोरीलाई परै राख्नु भनिन्, उनको मुहारै हेरिनन् (देख्न पाइनन्) र तिनै छोरीसँग सदाका लागि विदा लिएर गइन् ।

३२ वर्षमात्रकी सात सन्तानकी यी आमाको यो दयनीय अवस्था बताउँदा अहिलेको चिकित्सा विज्ञानले हार्ट अट्याक भन्ने जवाफ दिन्छ । तर सुत्केरी गराउन बसेका दिदीबहिनीहरु भने त्यसो भन्दैनन् । उनीहरु गौराले स्वेच्छाले नै देह त्याग गरेको भन्छन् । किनभने गौराको परिवार र उनी बसे बाँचेको समाजले यसपटक गौराको कोखबाट जसरी पनि छोरा खोजेको थियो, हुनुपर्छ । उनको देहले पनि त्यही चाहेको थियो ।

त्यसैले त उनले बच्चाको आवाज सुन्ने बित्तिकै के हो भनेर सोधिन् र हेर्न लगाइन् । जब छोरी जन्मिएको थाहा पाइन्, उनले परै लैजाउ भनिन् । किनभने छोरीको मुहार हेरेपछि उनलाई माया लाग्न सक्छ र प्राण त्याग गर्न गाह्रो पनि हुनसक्छ । त्यही परिवार र समाजका डरले उनको अन्तरमनले पनि छोरा नै खोजेको हुनुपर्छ । त्यसैले छोरीलाई परै राख्नु भनिन्, मुन्टो अर्काेतिर फर्काइन् र केही मिनेटमै सालनालैसित देहत्याग गरिन् ।

लाग्छ यो गौराको नभएर गौरा बसे हुर्केको समाजको गल्ती हो । त्यसो त कुनै मेसिनले जस्तै वर्षेनी सन्तान उत्पादन गरेर सात सात ओटा छोरी जन्माउनुमा पनि छोराकै चाह देखिन्छ नै । त्यो समाजले गौरा र गौराजस्ता आमाहरुलाई बारम्बार छोरा जन्माउन दबाब दिएको पनि हुनसक्छ । त्यसो नहुँदो हो त गौरालाई यतिचाँडै प्राण त्याग गर्न कसरी सजिलो हुन्थ्यो ? लाग्छ उनले यति छोटो जीवनमा पाएका पीडाहरुको मापन गर्ने यो आधुनिक युगमा पनि कुनै यन्त्र बनिसकेको छैन । उनको थामिनसक्नुको पीडाले नै उनले यो संसारबाट विदा लिनु परेको हो । आफूले चाहेजस्तै गरी देह त्याग गर्न उनलाई सजिलो भएको हो ।

गौराको घरको आर्थिक अबस्था निकै दयनीय थियो । उनीसँग छोराका लागि समाजले दिएको मानसिक पीडासँगै छ छोरी हुर्काउन परेको दुःख पनि छँदै थियो । अशक्त श्रीमान् र सातओटा लालाबालाको भविष्य पनि उनले यो संसारबाट बिदा लिनुअघि उनको मानसपटलमा आएकै हुनुपर्छ । भनिन्छ, दुःखको बेला पनि कोही त दैब बनेर पनि आउँछ । उनको जीवनमा काखकी सानी छोरीको मायाले भन्दा पनि भोलि उनीहरुले पाउन सक्ने दुःखले पिरोल्न सक्थ्यो । त्यसैले उनले प्राण त्याग गरेकी हुन् । यो अनुमान मात्र नभएर सत्यका रुपमा उनका आफन्तहरु अहिले पनि अथ्र्याउँछन् ।

अब सुरुभयो ती काखे शिशुको बिचल्ली । ३२ वर्षको उमेरमा कुनै महिलाले जन्माएका सात सात सन्तानको अवस्था कस्तो होला ? गरिब परिवार र अशक्त बाबु । नवजात शिशुलाई अब पालिदिने कुनै व्यक्ति या संस्थाको खोजी सुरु भयो । नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले गतमाघ १६ गते आफ्नो फेसबुक स्टाटसमा लेखे– हुम्लामा एउटी आमाले आफ्नो सातौँ छोरीलाई जन्म दिएको केही मिनेटमै मृत्यु भएको छ ।

सरु सुवेदीजीको तुलसालयले ती छ छोरीमध्ये सबैभन्दा कान्छी तीन छोरीलाई उद्धार गरी लालनपालन गर्ने तयारी गरेको छ । त्यसअघि उनले बाँसको डोकोमा एक शिशुलाई थोत्रा थाङ्नामा सुताइरहेको बडो टीठलाग्दो, दयाजाग्दो फोटो पनि पोष्ट गरेका थिए । त्यसपछि ती शिशुको सहयोग र उद्धारका लागि सहयोगी हातहरु अघि आए । उपाध्यायले सूचित गरेजस्तै सरु सुवेदी पनि ती शिशुको उद्धार गरी तुलसालयमा राख्न तयार भइन् ।

उनै सुबेदी त्यसपछि ती शिशुसहित दुई साना दिदीलाई लिन नेपालगञ्ज पुगिन् । हवाई जहाजमा काठमाडौँसम्म ल्याउने कोही मनका धनीले टिकट काटिदिए । हुम्लाको अदानचुलीबाट डोकोमा बोकेर कोल्टी विमानस्थल हुदै नेपालगञ्जम्म ल्याएको भाडा समेत गरी सबै खर्च सरुले व्यहोरिन् र केही सहयोगी मनको सहयोग त रह्यो नै । सरुले स्तुतिसहित तीन बहिनीलाई तुलसालय ल्याइन् । तीन ओटा लालाबाला बोकेर काठमाडौँ आएकी सरुले यसअघि नै तुलसालय आश्रममा रहेका बालबालिकाको विद्यालय नजिक बनाउनका लागि भक्तपुरको चाँगुनारायणमा नयाँ घर भाडामा लिएकी थिइन् ।

तुलसालयमै ती शिशुको न्वरान गरिन् । नाम राखिन् स्तुति । अनि त्यसै दिन पारेर आश्रमको नयाँ घरको पूजा पनि गरिन् । काठमाडौँ ल्याएपछि स्तुतिको एक वर्षसम्मको दूधको खर्च डा सावित्री कक्षपति मल्लले तिर्ने बचन दिइन् । यससँगै तुलसालयका बिरामी बाआमा र बालबालिकाले दूध खाउन् भनेर प्रत्येक दिन पाँच लिटर दूधको खर्च अमेरिकामा रहनुभएकी साहित्यकार तथा गीतकार सरला श्रेष्ठले सहयोग गरेकी छिन् ।

स्तुति जन्मिएको २० औँ दिनमा उद्धार गरी सरुले काठमाडौँ ल्याएकि हुन् । उनीसँगै उनकी चार र छ वर्षका दुई दिदी पनि तुलसालयमै छन् । “मेरी आमा पनि म १५ वर्ष हुँदा बित्नु भएको हो । टुहुरो जीवन कस्तो हुन्छ, मलाई राम्ररी थाहा छ । अहिले सात महिना पुगेकी स्तुतिलाई काखमा लिँदै सुवेदी भन्छिन्– यो छोरीलाई आमाको अभाव थाहा दिने छैन । यो मेरै छोरी हो । यो तुलसालयमा रहेका सबै नानीबाबुहरु मेरै छोराछोरी हुन् । त्यसैले तेरा सन्तान कति छन् भनेर कसैले सोध्दा कम्तीमा २७ जना भन्छु, मानिस सुरुमा झस्किन्छन् र हास्छन् । पछि सत्य थाहा पाउँदा भावुक हुन्छन् र रुनै खोज्छन् ।

यहाँका कतिपय बालबालिका पुनस्र्थापित पनि हुने गरेकाले यो संख्या समय समयमा घटबड भने भइरहन्छ । न्वारानमा स्तुति नाम किन राख्नुभयो ? सरुको जवाफ छ– यो स्तुतिमार्फत् भगवानसँग मेरो स्तुति यो छ कि यो संसारमा स्तुति छोरीको जस्तो अवस्था कुनै पनि छोरीले व्यहोर्नु नपरोस् । अनि उनकी आमा गौराले जस्तो गरिबी र छोराको चाहमा यसरी प्राण त्याग गर्नु नपरोस् । त्यसैले मैले नै उनको नाम स्तुति राखेँ ।

स्तुतीको असार १८ गते पूर्वप्रधानन्याधीश शुशीला कार्कीले सगुन खुवाएर अन्नप्राशान गराउनुभयो । अन्नप्राशानमा पूर्वप्रधानन्यायाधीश कार्कीले भन्नुभएको थियो – “जसका आमाबुबा छैनन्, जो परिवारको हैसियतमा छैनन्, टुहुरा छन् र समाजका बेसहारा नागरिक छन् उनीहरुका भगवान हुन्छन् भनिन्छ । यहाँ यी लालाबालाहरुको अभिभावकत्व ग्रहण गर्दै बच्चालाई बढाईलेखाइ गराई, उनीहरुको भविष्य बनाउने भगवान यहाँ सरुजी हुनुहुँदोरहेछ । यस्तो महान कार्यलाई कसैले पनि बिर्सनु हुँदैन ।

त्यस्तै समाजमा जो बेसहारा छन् तिनको सहारा सरकार हो भन्ने दायित्व सरकारले बुझ्नुपर्छ । अनाथ आश्रमबाट धेरै बच्चाहरुले सहारा पाएकाले यस्ता आश्रमलाई राज्यले सहयोग गर्नुपर्छ ।” कार्कीले तुलसालय आश्रमले प्रदर्शन गरेको मानवीय सेवाभावको प्रशंसा गर्नुभयो । स्तुतिका बारेमा समाचार, उनलाई सहयोग गर्ने मनहरुका बारेमा समाचारहरु आइरहेकाले त्यसैबाट थाहा पाएर समाजसेवी अनुराधा कोइराला, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रा शर्मा, साहित्यकारहरु गीता कार्की, समाजसेवी राधा शर्मा, पूर्व सूचना आयुक्त यशोदा तिमिल्सिना लगायतका धेरै जना त्यहाँ पुगेका थिए । स्तुतिप्रति माया दर्शाउन अहिले पनि त्यहाँ जाने गरेका छन् ।

उनै स्तुतीलाई सरु र उनको परिवारले आमाको माया र बाबुको स्नेह दिएका छन् । त्यसैले त एकदिन सुबेदीलाई नदेख्दा पनि स्तुतिले आँखा चारैतीर घुमाउँछिन् सरुको मुहार छान्छिन् । अहिले स्तुति थिरी थिरी गर्दै बामे सर्न थालेकी छिन् । घरभरि मान्छे छन् । आश्रममा २७ बालबालिकासहित बृद्ध आमाबुबा पनि छन् । तर आठ महिनामा टेकेकी स्तुति भने सरुकै खोजीमा छिन् र सकि नसकि बोलाउन खोज्छिन् । लाग्छ, अबका केही हप्तामा मुखबाट आमा शब्द निकाल्ने तयारीमा छिन् । जन्म दिने आमाको सामिप्यता गुमाएकी स्तुतिको बोलीबाटै आमा शब्द सुन्न आतुर छिन् सरु । सरु भन्छिन्– उ बाबा भन्न खोज्दैछ, अबका केही हप्तामा मेरी छोरीले आमा पनि भन्न थाल्छे । त्यही पर्खाइमा छिन् सरु । स्तुतिका बारेको उनको लामो बयानपछि सरुको मुहार पढ्दा यही लाग्छ ।

तुलसालयकी कान्छी छोरी स्तुति हुन् । अहिले आश्रममा स्तुतिसहित २७ बालबालिका छन् । स्तुति ती सबैकी प्यारी । अनि सबैकी आमा हुन् सरु । नेपाल सरकारले मानसिक रोग भएकाहरु र बालबालिकालाई एकै ठाउँमा राख्न नदिने भएकाले कति बाआमा र यस्ता मानसिक रोगीलाई उनले भैंसेपाटीस्थित आफ्नै घरमा राखेकी छिन् । सरु कहिले सके दिनहुँ र नत्र एक दिन बिराएर चाँगु पुग्नै पर्छ । घरबाट चाँगु २५ किलोमिटर बाटो छ । तर उनी प्राय दिनहुँ आउजाउ गर्छिन् । नत्र दुई दिन नदेख्ने हो भने छोराछोरीले आमा खोजेर रुन थाल्छन् ।


तुलसालयमा चिकित्सकका रुपमा नेपाल सरकारको २७ वर्षसम्म सेवा गरेका ६४ वर्षीय चिकित्सक डा भगवानभक्त श्रेष्ठदेखि ७४ वर्षकी एक आमासम्म छन् । केही मानसिक रोगी पनि यहाँ छन् । तुलसालय पुग्दा यता स्तुतिले हँसिलो मुहारले स्वागत गर्छिन् भने उता मानसिक रोग ठिक हुँदै गएका डा भगवान भक्त श्रेष्ठले आगन्तुक सबैलाई नमस्कार गर्छन् । तर विशेष गरी यी दुई र त्यहाँ रहेका अरुको पनि अवस्थाका बारेमा जानकारी लिन थालेपछि भने त्यहाँ पुग्ने जो कोही पनि भावुक नै हुन्छन् । अनि आमाको मायासँगै आश्रममा रहेका यी छोराछोरीलाई उनीहरुले पाउनुपर्ने माया र अधिकार दिलाउन लागि परेकी सरुको संघर्षले पनि धेरैलाई मोहित बनाउँछ ।

आफू बाँचुञ्जेल वर्षेनी एक लाख रुपैयाँ सहयोग गर्ने कार्यको सुरुवात गर्न गत शनिबार आश्रममा पुगेकी समाजसेवी तथा महिला उद्यमी सविता ढुंगानाले पनि यसैगरी भावुक हुँदै भनिन्– यस्तो काम गर्ने मानिस यो पृथ्वीमा विरलै भेटिन्छन्, सरुको यो संघर्षलाई शब्दमामात्र उतार्न गाह्रो छ । तर सरकारले फर्केर नहेरेको बताउने सरुलाई भने आर्थिक समस्याले अब सताउन थालेको छ । सरकारका तर्फबाट आफूले कुनै सहयोग नपाएको उनको गुनासो छ । यी बालबालिकाको शिक्षाका लागि विद्यालयले त फि लिँदैन तर गाडीबाट स्कुल पुर्याउन, मानसिक रोगीको उपचार गर्न तथा यहाँका अरु बाआमाहरुको उपचार तथा लालनपालन गर्न अब आर्थिक समस्या पर्दै गएको सरु बताउँछिन् ।

तुलसालयकी अध्यक्ष सुवेदी भन्छिन् “बालबालिका र विरामी आमाहरुलाई डाइपरको समस्या छ । बच्चाहरुको सरसफाइका लागि सफाइका सामानको खाँचो छ । न्यूनतम भन्दा न्यूनतम खाँचोहरुको पनि समस्या देखिँदै गएको छ । बजारमा तरकारी महंगो छ, तर सुरुदेखि नै ग्वार्कोमा रहेको तरकारी पसलका नरबहादुर कार्की र गीता सुवेदी कार्की दम्पत्तीले हरियो तरकारी सहयोग गरिरहनुभएको छ । तर प्याज, आलुदेखि लिएर धेरै कुरा किन्नुपर्छ । कहिलेकाहीँ यसो जन्मदिन, पितृ स्मृति दिवस आदि मनाउन आउनेहरुले गर्नुभएको सहयोगबाट चल्दै गएको छ । सामाजमा केही गरौँ भन्दा सहयोग दिनुपर्ने ठाउँमा सरकार पछि हट्छ । कति नगरपालिका तथा सरकारी कार्यालयहरुमा गएँ, प्रपोजल हालेँ, सहयोग कतैबाट पाएकी छैन ।”

तुलसालय तुलसादेवी हरिहर फाउन्डेसनद्धारा सञ्चालित अनाथ आश्रम हो । सरुकी आमा तुलसादेवी सुवेदीको क्यान्सरको रोगले ४४ वर्षको उमेरमा निधन भएको थियो । आफू १५ वर्षको हुँदा नै आमाको निधन भएपछि आफूले आमाको नाममा केही गरौँ भन्ने लागेर सरुले आमाको स्मृतिमा तुलसालय खोलेकी हुन् ।

आमाकै नामबाट आश्रमको नाम पनि तुलसालय राखेकी हुन् । अनि यो तुलसालयमा आश्रम लिइरहेका बालबालिकाको थर पनि मठ राखेकी छिन् । तुलसीको मठको नाममा ।