२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाललाई लखटेर नयाँ पार्टी खोल्न बाध्य बनाइएको होइनः अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई लखटेर नयाँ पार्टी गठन गर्न बाध्य नबनाएको प्रस्ट पारेका छन् ।  च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित बिहीबारको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले केही व्यक्तिको इर्ष्या र अहंकारले पार्टी विभाजन गरिएको बताएका हुन् ।

सम्बोधनका क्रममा ओलीले भने 'हिजोसम्म हामीसँगै रहेका केही मित्रहरु आन्दोलनको बाटो छोडेर, आन्दोलन हाँक्ने अभिभारा बोकेको पार्टी छोडेर, आन्दोलनका अभिभारा बिर्सिएर, आफ्ना काँधका जिम्मेवारी बिर्सिएर, आफूले हिजो जनताका अगाडि जनाएका प्रतिबद्धताहरु बिर्सिएर, आफूले लिएका सपथहरु बिर्सिएर, कर्तव्य बिर्सिएर, बाटो बिराएर भावावेशमा, अकारण, सैद्धान्तिक मतभेदमा होइन, कसैले लखेटेर बस्न नसकेर होइन, सामान्य अवस्थाबाट पार्टी चलिरहेका बेला, अगाडि बढिरहेका बेला स्वार्थवश, केहीका अहंकारवश, केहीका इर्ष्यावश एउटा नयाँ पार्टी दर्ता गर्ने तहसम्म पुग्नुभएको छ,जसका कारण आन्दोलनमा गम्भीर संकट पैदा भयो। पार्टी विभाजन गरियो । केन्द्र र विभिन्न प्रदेशका सरकार ढालियो ।' 

यस्तै ओलीले पार्टीमा उत्पन्न 'जिगज्याग'पछि केन्द्रीय कमिटीका थुप्रै सदस्यहरु बैठकमा सहभागी भएको पनि बताए । उनले अगाडी भने, 'एकातिर हामी ठूलो संख्यामा एकताबद्ध भएर हाम्रो काँधको अभिभारा पूरा गर्न आफू सामु उपस्थित चुनौतीहरुको सामना गर्न र आगामी विजय यात्रालाई सुनिश्चित गर्नका लागि संकल्पित ढंगले यहाँ सरिक भएका छौं ।' 

एमालेबाट नेता माधवकुमार नेपाल पक्ष अलग भई नयाँ पार्टी दर्ता गरेपछि आज पहिलो पटक केन्द्रीय कमिटीको बैठक बसेको हो ।  बैठकका लागि १० बुँदे प्रस्ताव कार्यान्वयनसम्बधी स्थायी कमिटीको निर्णय अनुमोदन, पार्टीको सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशन र पार्टी विभाजनमा लाग्ने नेतामाथि कारबाहीका विषय कार्यसूचीमा राखिएको छ । 

यही भदौ ८ गतेको स्थायी कमिटीको बैठकले गत असार २७ गतेको आन्तरिक विवाद समाधान कार्यदलको सिफारिसलाई कार्यान्वयन गर्दै पार्टीको संरचनालाई २०७५ जेठ २ कै अवस्थाबाट सञ्चालन गर्ने निर्णय गरेको थियो । एमालेले आगामी मङ्सिरको दोस्रो साता दशौँ राष्ट्रिय महाधिवेशन गर्ने तय गरेको छ ।