२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

स्वर्गको टुक्रा: तस्विरमा तिलिचो ताल

स्वर्गको टुक्रा: तस्विरमा तिलिचो ताल
अ अ+ अ-

हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–९ मा अवस्थित यस ताल समुद्री सतहदेखि चार हजार ९१९ मिटर उचाइमा छ । यस तालले चार दशमलव आठ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । यसको लम्बाइ ३ दशमलव ९ किलोमिटर र चौडाइ १ दशमलव ६ किलोमिटर रहेको छ ।

प्राकृतिक छटाले भरिएको यस ताल तिलिचो पिक र निलगिरि हिमालको ग्लेसियरबाट निर्माण भएको हो । यस तालबाट अन्नपूर्ण हिमश्रृंखलाको मनोरम दृश्यावलोकन गर्नकै लागि पनि विदेशी तथा स्वदेशी पर्यटकको घुइचो लाग्ने गर्छ । यस तालमा धरै चलचित्रहरु पनि सुटिङ भएका छन् । नेपाली फिल्मदेखि म्युजिक भिडियो सम्म यहाँ सुटिङका लागि कलाकारहरु आउने गरेका छन् ।

स्वदेशी पर्यटकसँगै तिलिचो तालमा विदेशी पर्यटकको पनि उतिकै भिड हुने गर्छ । मनाङ पुगेका पर्यटक तिलिचो नपुगी कमै मात्र फर्कने गर्छन् । कतिपय पर्यटक तिलिचो तालहुँदै फर्किएर खाङ्सर हुँदै थोराङुला पास गरी मुक्तिनाथ पुग्ने गरेका छन् भने कतिपय तालहुँदै नेसोकुन्डा पास गरी जोमसोम ठिनी पुग्ने गर्छन् ।

तिलिचो घुम्ने उपयुक्त समय

हिमालको काखमा अवस्थित यो तालमा सधैँ जान कठिन हुन्छ । अत्यधिक चिसोको समय र हिमपातका बेलामा त्यहाँ पुग्न निकै कठिन हुने हुँदा जुनसुकै समयमा जान सकिँदैन । यहाँका स्थानीय त सधैँ गए पनि पर्यटकलाई भने जोखिम छ । हिमपात र बेमौसमी फूलको सुगन्धले पर्यटकलाई लेक लाग्ने सम्भावना बढी हुन्छ । त्यसैले यहाँ जानका लागि भदौ, असोज महिना उपयुक्त मानिन्छ । भदौबाट सुरु भई मङ्सिरसम्म पर्यटक आवात जावत गर्ने गर्छन् ।

यो समयमा आकाश खुलेर निलो देखिन थाल्छ अनि निलो आकाश मुनि सेता हिमालका लहरहरु मुस्कुराउन थाल्छन् । यही मनोरम दृश्यले तान्छ पर्यटकलाई । ‘‘स्वदेशी पर्यटकहरु विशेषगरी दशैँ, तिहारको लामो बिदालाई सदुपयोग गर्दै तिलिचो पुग्छन ।

कसरी पुगिन्छ तिलिचो ताल ?

लमजुङको सदरमुकाम बेसिशहर हुँदै विश्व चर्चित अन्नपूर्ण पदमार्गमार्फत् तालसम्म पुग्ने यात्रा शुरु हुन्छ । बेसिसहर चामे सडकमा चल्ने सवारी साधानको प्रयोग गरेर र पैदल यात्राबाट पनि जान सकिन्छ । अधिकांश विदेशी पर्यटक पैदल यात्राबाट नै तिलिचो पुग्ने गरेका छन् भने स्वदेशी पर्यटकले सवारीसाधानमार्फत् पुग्ने गरेको पाइन्छ ।

पैदल यात्रीहरु १० दिन लगाएर पुग्छन् तिलिचो ताल । लमजुङ सदरमुकामबाट शुरु गरी बाहुनडाँडामा बास बस्दै घ्यार्मु, स्याँगे हुँदै दोस्रो दिन च्याम्चे र मनाङको पहिलो गाउँ तालगाउँमा बास बस्न पुग्ने गर्छन् । तेस्रो दिन मनाङ जिल्लाको नासों गाउँपालिका तालबाट शुरु भइ धारापानी, दानाक्यु, बगरछाप हुँदै चामे गाउँपालिकाको तिमाङ, थानचोक, कोतो हुँदै मनाङको सदरमुकाम चामे बास बस्ने गर्छन् । यसरी पैदल यात्रीहरुले बाटोभरि देखिने मनोरम दृश्यहरु हेर्दै, तस्वीरहरु खिच्दै रमाएर यात्राको मजा लिँदै गन्तव्यसम्म पुग्ने गरेको पाइन्छ ।

अग्लो पहाडको बिचबाट झरेका नागबेली छहराहरु, मस्र्याङ्दी नदीको कलकल आवाज, सेता हिमालका लहरहरुमा लहाराउँदै घुम्ने याममा बाटोभरि यात्रुहरु हिडिरहेका हुन्छन् । मनाङ सदरमुकामबाट देखिने लमजुङ हिमाल मनास्लु र अन्नपूर्ण दोस्रो हिमालको दृश्य अवलोकनसँगै चौथो दिनको यात्रा तय गर्छन् । यसपछि यात्रा अरु दिनभन्दा अलि कठिन तर मनोमहक रहेको छ । अन्नपूर्ण हिमश्रृंखला अवलोकन गर्दै दुई हजार नौ सय मिटर देखि तीन हजार एक सय मिटरको उचाइमा पुगिन्छ ।

अर्को दिन ढुकुर पोखरी हुँदै मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङ बास बस्दै भोलिपल्ट ग्रिन ताल हँदै घ्यारु, ङावल, भ्राकामा बास बस्ने गर्छन् । यहाँबाट तीन हजार पाँच सय ४० मिटर उचाइमा रहेको मनाङ गाउँ र गंगापूर्ण ताल छोङ्कर घुम्न सकिन्छ । त्यस्तै भ्राका गाउँबाट चार हजार ६०० मिटर उचाइमा रहेको आइस लेक, मिलेरेपा केभ जस्ता प्राकृतिक र धार्मिक स्थानहरुको अवलोकन गर्दै दुई दिन मनाङगाउँमा बास बसेर अरु यात्रा शुरु गर्ने गर्छन् विदेशी पर्यटकहरुले ।

यसरी यात्रा गर्दा भने लेक लाग्ने समस्या हुँदैन । उचाइसँग घुलमिल हुँदै अर्थात् विस्तारै उकालो लाग्ने हुँदा लेकलाग्ने सम्भावना कम हुने पर्यटन व्यवसायी विनोद गुरुङले बताउनुभयो । मनाङ गाउँबाट खाङसार गाउँ, श्रीखर्क हुँदै चार हजार दुई सय मिटर उचाइमा रहेको तिलिचो बेस क्याम पुगिन्छ । यसैगरी यात्राको १०औं दिनमा सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल पुग्न सकिन्छ ।

स्वदेशी पर्यटकले भने बेसिशहरबाट नै सवारी साधानको प्रयोग गरी एकै दिनमा मनाङ खाङ्सार पुग्ने गर्छन् । खङ्सार गाउँको छेउमै रहेको तारे गुम्बा हुँदै सात घण्टाको हिडाइपछि तिलिचो बेस क्याममा पुगिन्छ । बेस क्याम्पबाट चार घण्टामा यस तालमा पुग्न सकिन्छ । यसरी दुई दिनमा तिलिचो पुग्दा धेरै स्वदेशी पर्यटक भने लेक लागेर बिरामी पर्ने र बिच बाटोमै फर्किने गरेका छन् ।

तिलिचोको धार्मिक महत्व (कागभुसुन्डी मानसरोवर)

नेपालका अधिकांश तालतलैयाहरुले धार्मिक महत्व बोकेको पाइन्छ । यस्तै यो तालसँग पनि धार्मिक किंवदन्ती जोडिएको छ । त्रेता युगमा कागभुसुन्डी ऋषिले यसै तालको किनारमा तपश्या गरी बसेका र रामयणको पूरा पाठ गर्दा कागले रामयण कथा सुनेर रुँदारुदैँ आँसुबाट दह बनेको भन्ने पनि किंवदन्ती पाइन्छ ।

कैलाश पर्वतबाट भगवान् शिव पार्वती यहाँ आई तपश्या गरी यसै तालमा स्नान गरी स्वच्छ भएकाले यहाँको पानीलाई पवित्र जलको रुपमा लिने प्रचलन समेत रहेको छ ।

त्यस्तै बौद्ध धर्ममा पनि यस तालको उत्तिकै महत्व जोडिएको छ । मिलेरेपाले नेपालका हिमालय पर्वत घुम्ने क्रममा निलगिरि र तिलिचो पिकको फेदीमा तपश्या गर्दा बुद्धत्व प्राप्त गरेकाले यस ताललाई ज्ञान कुण्डको रुपमा चिन्ने गर्दछन् । हाल यस ठाउँमा भगवान शिव र भगवान बुद्धको मूर्ति सँगै राखिएको छ ।

लेक लाग्नबाट कसरी बच्ने ?अधिकांश स्वदेशी पर्यटक तिलिचो घुम्न आउने क्रममा बिरामी पर्ने गर्छन् । कोही त बिचबाटै पनि फर्कने गर्छन् । यसको कारण छोटो समयावधिमा र यहाँको हावापानी सँग घुलमिल नहुदै लामो यात्रा गर्न खोज्नुले हो । लेक लाग्नु ९हाई अल्टिच्युड० मा पुग्दा हावापानी नमिल्नु प्रमुख कारण हुन्छ । लेक लाग्न नदिनका लागि विस्तारै र यहाँको स्थानीय हावापानीमा घुलमिल हुँदै उकालो चढ्नुपर्ने हुन्छ ।

तिलिचो तालसम्म पुग्न कम्तीमा पनि एक साताको समय छुट्याउन जरुरी हुन्छ । सवारी साधानको प्रयोगबाट एकचोटी धेरै उचाई र कम अक्सिजन हुने ठाउँमा पुग्नु हुँदैन । स्वदेशी पर्यटकले यस्ता हावापानीको विषयमा त्यति चासो दिएको पाइँदैन । विस्तारै हावापानीमा घुलमिल हुँदै उचाइमा पुग्दा भने लेक लाग्नबाट जोगिन सकिन्छ । लेक लाग्नबाट जोगिने उपाय भने पर्यटक आफैँले जानेर जानु पर्दछ ।

अधिकांश विदेशी पर्यटकले यहाँ आउनुपूर्व नै यसबारे अध्ययन गरेर र बुझेर आउने गरेकाले त्यति धेरै बिरामी पर्दैनन् । उनीहरु धेरै पैदल नै यात्रा गर्ने भएकोले एकै पटक माथि पुग्दैनन् । तर स्वदेशी पर्यटकहरु भने विना अध्ययन सवारी साधानबाट एकै पटक माथि उचाईमा पुगने भएकोले उनीहरुलाई अक्सिजनको कमी हुने गर्दछ । यसरी एकै पटक अग्लो ठाउँमा पुग्दा बिरामी हुने गरेका छन् । मनाङको हावापानीसँग घुलमिल हुन नसकेर लेकलाग्ने समस्याले च्याप्ने गरेको पर्यटन व्यवसायीहरुको अनुभब रहेको छ ।

यहाँको वातावरणको अध्ययन गरी सवारी साधानको प्रयोगबाट आउँदा भने त्यस्तो समस्या हुँदैन । रिंगाटा लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, श्वास फेर्न कठिन हुने जस्ता समस्याहरु देखिएमा अघि बढ्नु उचित हुँदैन । यस्तो अवस्थामा जतिसक्दो चाँडो तल झर्नु उपयुक्त मानिन्छ । शरीरको तापक्रम सन्तुलित राख्नका लागि तातोपानी, लसुन, अदुवाको झोल खानु उपयुक्त हुन्छ ।

संसारकै सर्वाधिक अग्लो स्थानमा रहेको यस तालमा जाने रहर जो कसैलाई पनि हुन्छ । त्यसैले यहाँ आउनुअघि यहाँको बारेमा अध्ययन गर्न जरुरी हुन्छ । अध्ययन गरेर यात्रा गरेमा आफू पुग्न खोजेको गन्तव्यबाट मजा लिन पनि पाइन्छ र मानसिक र शारीरिक रुपमा पनि स्वस्थ हुन सकिन्छ ।

तस्बिर: नवीन लामिछाने/ रासस