२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह

पहिराले नदी थुनिनेक्रम बढ्दो

पहिराले नदी थुनिनेक्रम बढ्दो
अ अ+ अ-

म्याग्दी । रघुगङ्गा गाउँपालिका–६ रायखोरको पहिरो खसेर बिहीबार थुनिएको रघुगङ्गा नदीमा करिब एक किलोमिटर लामो, १५ मिटर चौडाइ र १० मिटर गहिरो तलाउ बनेको छ । 

तलाउ भरिएर कालीगण्डकीको सहायक रघुगङ्गा नदी पुरानै स्वरुपमा बगे पनि निरन्तर खसिरहेको पहिरो र तलाउको सतह नघटेकाले जोखिम कायमै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गत साउन ८ गते धौलागिरि गाउँपालिका–१ खास्टा भन्ने ठाउँमा पहिरो खसेर म्याग्दी नदीको सहायक गुर्जा खोला थुनिँदा बनेको तलाउ अझै छ । रघुगङ्गा र गुर्जाको तलाउ एकै पटक फुटेर बगेका अवस्थामा तटीय क्षेत्रमा बाढी आउने र कटान गर्ने जोखिम हुने भएकाले सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।

कालीगण्डकी, म्याग्दी र रघुगङ्गा जलाधार क्षेत्रमा विभाजित जिल्लामा बर्सेनि पहिरोले नदी थुनिने, बाढी आउने र कटान गर्ने समस्या छ । म्याग्दीसमेत कार्यक्षेत्र भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका प्रमुख दिवाकर पौडेल कमजोर भूगोल र भिरालो जमिन भएको म्याग्दीमा गहिरिएर बगेका नदी थुनिने जोखिम धेरै भएको बताउनुहुन्छ । 

“खोलाभन्दा माथिल्लो क्षेत्रको जमिन धेरै भिरालो मात्र होइन पहाडको चट्टान र माटो कमजोर छ”, उहाँले भन्नुभयो, “अत्यधिक वर्षा, भूकम्प, विकास निर्माणजस्ता प्राकृतिक र मानवीय कारणले जमिन असन्तुलित भएर पहिरो खस्दा साँघुरो भई गहिरिएका खोला थुनिएका हुन् ।” जिल्लामा बर्खा र हिउँद याम दुवै समयमा पहाड भत्किएर तथा पहिरो खसेर नदी थुनिएको इतिहास छ । बर्खामा बर्सातको कारण खसेको पहिरोले नदी थुनिने गर्छ । हिउँदमा भूकम्प र आफैँ पनि सुक्खा पहिरो गएको एक दशकभन्दा बढी समय म्याग्दीमा बसेर काम गर्नुभएका उहाँले बताउनुभयो । 

विसं २०७२ जेठमा बैसरी, २०५६ असोजमा भुरुङ–तातोपानी, २०४५ असोजमा छ्यारछ्यारे, २०४२ मा दाना, २०७३ मा बेगखोला, २०६८ मा पाखापानीको औल, २०७५ मा मराङखोला र रघुगङ्गा, २०७७ मा अन्नपूर्णको रुप्से, मङ्गलाको हिलवाङखोला थुनिँदा ठूलो जनधनको क्षति भएको थियो । भूकम्पले चर्किएको अन्नपूर्ण गाउँपालिकाको काफलडाँडास्थित पहाडसहित खसेको पहिराले ३० घरधुरीको बसोबास भएको रघुगङ्गा गाउँपालिकाको बैसरी पुरिनुका साथै कालीगण्डकी नदी १८ घण्टा थुनिएको थियो । म्याग्दी नदीलाई करिब एक घण्टा थुनेको र सिङ्गो बस्तीनै पुरेको छ्यारछ्यारेको पहिरोले १०४ जनाको ज्यान लिएको थियो । 

बेगखोला थुनिएर आएको बाढीले विसं २०७३ भदौमा एक जना मानिस, ११ वटा घर, झोलुङ्गे पुल र बेनी–जोमसोम सडकको बेलिब्रिज बगाएको थियो । मालिका गाउँपालिकाको रितुङ, रघुगङ्गाको घारखोला, अन्नपूर्णको नीलगिरि, घलेम्दी, दोवाखोला पनि थुनिने गर्छन् । कमजोर भूवनोट र भिरालो जमिन भएको ठाउँमा जलविद्युत् आयोजना निर्माणका लागि गरिएको बलास्टिङ र सडक निर्माणका क्रममा डोजर चलाउँदा हुने कम्पनले जमिनलाई हलचल गराएको छ । 

जिल्लाका अधिकांश बस्ती नदीको तटीय क्षेत्र र पहाडको शिरमा छन् । सहायक नदीमा आउने बाढी म्याग्दी र कालीगण्डकी नदीमा मिसिन्छ । विसं २०७५ भदौ अन्तिममा बगरखोला भन्ने ठाउँमा खसेको पहिरोका कारण राहुघाट नदी थुनिएर आएको बाढीले झोलुङ्गे पुल, घ्याँसीखर्कको रितुङ माविको भवन, केही घर, गलेश्वर र बेनी बजार संरक्षणका लागि निर्माण भएको तटबन्ध बगाएको थियो ।  

विसं २०७७ को साउनमा अन्नपूर्णको दानास्थित रुप्से खोलामा पहिरो खसेपछि आएको बाढीले रुप्सेको एउटा रिसोर्ट, एक वटा एक्साभेटर, बस बगाउनुका साथै निर्माणाधिन मोटरेबल पुल, पर्यटकीयस्थल रुप्से झरना र संसारकै गहिरो अन्धगल्छीलाई तहसनहस पारेको थियो । सदरमुकाम बेनी, मालिकाको दरबाङ, मङ्गलाको बाबियाचौर, सिङ्गा, भुरुङ तातोपानी, पोखरेबगर, तिप्ल्याङ, घुमाउने ताल, राहुघाट, घ्याँसीखर्कका बस्तीमा बर्सेनि कटान हुने गरेको छ । बस्तीसँगै जलविद्युत् आयोजनाका बाँध, सिँचाइ आयोजनाका नहर, सडक, मोटरेबल पुल र झोलुङ्गे पुलमा बाढीले क्षति गरेको छ । 

भू–तथा जलाधार संरक्षण कार्यलय पर्वतको बेनीस्थित सम्पर्क एकाइका प्रमुख सहायक संरक्षण अधिकृत शम्भुकुमार मिश्रले संरक्षण र वातावरणमैत्री विकास, तटीय क्षेत्रमा नदी नियन्त्रणका लागि संरचना निर्माण र सुरक्षित ठाउँमा बस्ती विकास गर्नुपर्ने बताउनुहुन्छ । “भिरालो जमिन भएको र नदी किनारको तटीय क्षेत्रको बस्ती जोखिममा छन्”, उहाँले भन्नुभयो, “जोखिमयुक्त ठाउँमा तटबन्ध गरी नदी नियन्त्रणका साथै विकास निर्माणका कामलाई व्यवस्थित र वातावरणमैत्री बनाउन आवश्यक छ ।”  (रासस)