९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

आयातित तरकारीको माग घट्दै

आयातित तरकारीको माग घट्दै
अ अ+ अ-

गलेश्वर । धौलागिरि हिमालको फेदी र म्याग्दी तथा कालीगण्डकी नदीको वारिपारिका ग्रामीण खेतबारीमा म्याग्देली कृषकले अग्र्यानिक खेती प्रणाली सुरु गरेका छन् ।

विशेष गरी व्यावसायिक कृषिमा युवा सहभागिता बढ्दै गएपछि जिल्लामा कृषिले व्यावसायिक रुप लिनुका साथै कृषिमा प्रविधिको प्रयोग र अग्र्यानिक खेती विस्तारको क्रम बढ्दै जान थालेको हो । विगत तीन वर्षयता यहाँ अग्र्यानिक खेती विस्तार भएको र यसले व्यापकता पाउँदै गएको यहाँका उपभोक्ताले बताएका छन् । तीन वर्षअघिसम्म स्थानीय तरकारीको सट्टा आयातित तरकारी खोजी गर्ने यहाँका उपभोक्ता अहिले भने खोजीखोजी स्थानीय उत्पादन खरिद गर्ने गरेका छन् ।

“अहिले सदरमुकाम बेनीका प्रायः सबैघरका भान्छामा स्थानीय उत्पादनका तरकारी पाक्ने गर्दछ”, बेनी बजारका व्यवसायी राधिका केसीले भन्नुभयो, “ग्राहक स्थानीय उत्पादनको खोजीमा हुन्छन्, गाउँगाउँबाट अग्र्यानिक तरकारी बजारमा आउन थालेपछि आयातित तरकारीको माग घटेको छ ।”

त्यसैगरी कृषकले पनि बजारमा अग्र्यानिक उत्पादनको माग बढ्दै गएपछि रासायनिक विषादीको प्रयोग गर्न छोडेका छन् । करिब ३० वर्षदेखि कृषि पेसामा लागेका बेनी नगरपालिका–२ खबराका ५९ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो दुई वर्षयता आफूले फलाएको तरकारीको माग बढेपछि दङ्ग पर्नुभएको छ ।

घर नजिकैको १४ रोपनी खेत र बारीमा प्राङ्गारिक तरकारी खेती गर्दै आउनुभएका कार्कीले दुई वर्षअघिसम्म कहिल्यै पनि अग्र्यानिक तरकारीको बिक्री यति धेरै भएको थाहा पाउनुभएको थिएन “म विगत ३० वर्षदेखि तरकारी खेतीमा छु, मेरो जीवनको उर्बर समय मैले मेरै खेतबारीको माटोमा बिताएको छु”, उहाँले भन्नुभयो, “तर पछिल्ला दुई वर्षयता जसरी मैले फलाएको तरकारीको बिक्री भयो, त्यसरी यसअघि भएको थिएन ।”

युवा नै खेतीपातीको काममा लागेपछि म्याग्दीको ग्रामीण जीवन र कृषि प्रणालीमा नयाँपन थपिएको स्थानीयको भनाइ छ । ‘लाहुरेको जिल्ला’ भनेर परिचय बनाएको म्याग्दीमा पछिल्लो समय विदेश जाने कम र विदेशबाट फर्किएर आफ्नै गाउँमा कृषिमा लगानी गरी व्यावसायिक बन्ने युवाको सङ्ख्या बढ्दै जान थालेको छ ।

खबराका कृषक शोभित शर्मा, डडुवाका भीमबहादुर भण्डारी, डाँडाखेतका नारायण पौडेल, बाबियाचौरका धर्मराज सुवेदी, अर्मनका टीकालाल सापकोटा, रत्नेचौरका भविलाल किसानलगायतका जिल्लाका दुई दर्जन बढी कृषकले पछिल्लो समय प्राङ्गारिक तरकारी खेतीको सुरुआत गरेका छन् । विगतमा तरकारी बिक्रीबाट वार्षिक रु पाँच लाख आम्दानी गर्दै आएका खबराका चन्द्रबहादुर कार्कीले २०७६ को चैतदेखि २०७९ को साउनसम्म तरकारी बिक्री गरेर रु २८ लाखभन्दा बढी आम्दानी भएको बताउनुभयो ।

त्यसैगरी डडुवाका मोहन भण्डारी पनि गत वर्ष आफूले उत्पादन गरेको तरकारी राम्रो बिक्री भएको र सोचेभन्दा बढी आम्दानी भएको बताउनुभयो । कोरोनापछि धेरै मानिसले अग्र्यानिक उत्पादन खोज्न थालेको खबराका कृषक शोभित सापकोटाले बताउनुभयो । अग्र्यानिक तरकारी खरिद गर्न बेनी बजारबाट धेरै ग्राहक बारीमा नै आउन थालेका छन् । कोरोनापछि अग्र्यानिक तरकारी खोज्दै उहाँको बारीमा धेरै उपभोक्ता पुग्छन् । प्राङ्गारिक तरकारी खेती गर्न पाउँदा एकदम खुसी लागेको उहाँ बताउनुहुन्छ ।

म्याग्दीका छवटा स्थानीय तहमा गरी दुई सयभन्दा बढी कृषक व्यावसायिक तरकारी खेतीमा लागेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । तरकारी खेतीमा लागेका किसानले पछिल्ला वर्षमा मनग्य आम्दानी गर्न थालेका कृषि प्राविधिक जगत बानियाँको अनुभव रहेको छ । बानियाँ भन्नुहुन्छ, “कोरोना कहर सुरु भएयता मानिसले अग्र्यानिक उत्पादनको महत्व बुझ्न थालेका छन्, यसले गर्दा गाउँका उत्पादनको माग सहर बजारमा बढी हुन थालेपछि किसानलाई फाइदा भएको हो ।”

विषादीयुक्त तरकारीले मानव स्वास्थ्यमा धेरै हानि गर्ने हुँदा सबैले अग्र्यानिक खेती गर्नु कृषिविज्ञको भनाइ रहेको छ । म्याग्दीमा निजी क्षेत्रले करोडौँ लगानीमा कृषि फर्म सञ्चालन गरेका छन् । जिल्लाको बेनी नगरपालिका–४ सिङ्गा र आवेबगरमा करिब रु १० करोडको लगानीमा सञ्चालित हरियाली कृषि फर्म र मङ्गला गाउँपालिकाको हिदीमा रु तीन करोडको लगानीमा प्राङ्गारिक कृषि फर्म सञ्चालित छन् । यी कृषि फर्मले पनि प्राङ्गारिक उत्पादनमा जोड दिँदै आएका छन् ।

जिल्लामा पछिल्लो समय अग्र्यानिक कृषितर्फ युवाको पनि आकर्षण बढ्दै गएको छ । विशेष गरी कोरोनाका कारण विदेशमा रोजगारी गुमाएर गाउँ फर्किएका युवा अग्र्यानिक खेतीतर्फ लागेका छन् । कोरोना महामारी बढेसँगै वैदेशिक रोजगारीमा जान नपाउँदा घरमै अलमलिएका म्याग्दीका युवा कृषिमा प्रविधिको प्रयोग गरी बाँझो जमिन जोत्ने र खाद्यान्न उत्पादन बढाउने काममा लागेका छन् ।

सरकारले कृषिमा विभिन्न अनुदानका कार्यक्रम ल्याई कृषि उपकरणलगायत मल र बीउको पनि सहजरुपमा व्यवस्था गर्न थालेपछि कृषि क्षेत्रमा पनि युवाको आकर्षण बढ्दै जान थालेको हो । विगत दुई वर्षअघिको तुलनामा अहिले म्याग्दीमा कृषिउपजको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । दुई वर्षअघिसम्म कुल खेतीयोग्य जमिनको ६२ प्रतिशत जमिनमा मात्र खेती गरिएकोमा अहिले ८२ प्रतिशत जमिनमा खाद्यान्न, तरकारी र फलफूल खेती विस्तार गरिएको छ ।रासस