११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

कोभिड कहरः ७३ प्रतिशत अन्तर्राष्ट्रिय हवाई यात्रु घटे

कोभिड कहरः ७३ प्रतिशत अन्तर्राष्ट्रिय हवाई यात्रु घटे
अ अ+ अ-

कोभिड–१९ महामारीका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को आर्थिक आम्दानी घटेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आवतजावत गर्ने हवाई यात्रुको सङ्ख्या पनि उल्लेख्यरुपमा घटेको छ ।
    
कोभिड महामारीले सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन तथा नागरिक उड्डयन क्षेत्रले नराम्ररी क्षति बेहोर्नुपरेको छ । यसमध्ये पनि सबैभन्दा बढी असर हवाई क्षेत्रमा परेको छ । मुलुकको हवाई क्षेत्रको नियामक निकाय प्राधिकरणले महामारी अवधिका दुई आर्थिक वर्षमा ४३ र ७२ प्रतिशत आम्दानी घटेको जनाएको छ । 
    
प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रगति विवरणमा महामारीका कारण प्राधिकरणको आव २०७६/०७७ को प्रक्षेपित आम्दानी रु १० अर्ब ५४ करोड ४१ लाखभन्दा उक्त आवमा ४३ प्रतिशत र आव २०७७/०७८ मा ७२ प्रतिशत न्यून हुन पुगेको छ । 

विसं २०७६ फागुनदेखि विश्वमा देखापरको कोरोनाको महामारीका कारण यसबाट प्राधिकरणको स्रोतबाट सञ्चालन हुने योजना तथा कार्यक्रम २०७७/०७८ मा समेत प्रभावित भएको प्राधिकरणले जनाएको छ ।
    
नेपाल सरकारको शेयर लगानी तथा दातृ निकायको ऋण सहयोगमा सञ्चालित विमानस्थल पूर्वाधार विकाससँग सम्बन्धित आयोजनामा पनि पटकपटकको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण काममा अवरोध उत्पन्न भई सम्पन्न हुने चरणमा रहेका आयोजना पछाडि धकेलिन पुगेको प्रतिवेदनमा उल्लेख छ ।
    
कोभिड कहरको नराम्रो असर हवाई यातायात क्षेत्रले बेहोरेको छ । अन्तर्राष्ट्रियतर्फ अघिल्लो वर्षको तुलनामा ७३ दशमलव २७ प्रतिशतले हवाई यात्रु घटेका छन् । प्राधिकरणको वार्षिक प्रतिवेदनअनुसार सन् २०१९ मा अन्तर्राष्ट्रिय उडानतर्फ हवाई यात्रु सङ्ख्या ४१ लाख ३८ हजार ५६३ रहेको थियो भने सन् २०२० मा यो सङ्ख्या ७३.२७ प्रतिशतले घट्न गई ११ लाख पाँच हजार ९२९ कायम हुन पुगेको छ ।
    
त्यसैगरी आन्तरिक उडानतर्फ पनि अघिल्लो वर्षको तुलनामा ५९ दशमलव ४६ प्रतिशतले घटेको छ । सन् २०१९ मा ३१ लाख ८८ हजार ४२९ हवाई यात्रु आवागमन भएकामा सन् २०२० मा यो सङ्ख्या ५९.४६ प्रतिशतले घटेर १२ लाख ९२ हजार ५२१ कायम भएको छ । 
    
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको हुँदा उक्त वर्ष उल्लेखनीय सङ्ख्यामा विदेशी यात्रुको आगमन हुने अपेक्षा गरिएकामा कोभिडका कारण हवाई तथा पर्यटन क्षेत्र धराशायी जस्तै हुन पुगेको छ । अन्तर्राष्ट्रिय उडानतर्फ तीन नेपाली वायुसेवा र २७ वटा विदेशी वायुसेवा गरी ३० वटा वायुसेवाले १५ मुलुकको ३२ गन्तव्यमा उडान सञ्चालन गरिरहेका छन् । यस्तै आन्तरिक उडानतर्फ नौ वायुसेवा र १० हेलिकप्टर कम्पनीले सेवा दिइरहेका छन् ।
    
नेपालमा विमानस्थलको कूल सङ्ख्या ५४ रहेको छ जसमा ३७ वटा विमानस्थलको धावनमार्ग पक्की रहेको छ । यसमध्ये ३५ वटा विमानस्थल सञ्चालनमा रहेका छन् भने १९ वटा विमानस्थल सञ्चालनमा छैनन् । हाल मुलुकमा एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । थप दुई अन्तर्राष्ट्रिय विमानस्थल क्रमशः गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रुपमा विकास गर्ने योजनाअनुरुप अन्तर्राष्ट्रिय टर्मिनल भवन र आन्तरिक टर्मिनल भवनको पुनःनिर्माण (रेनोभेसन) सम्बन्धी कार्य सम्पन्न भएको प्राधिकरणको प्रगति विवरणमा उल्लेख छ । (रासस)