२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा कोभिड : जोखिममा बालबालिका



अ+ अ-

वीरेन्द्रनगर । कर्णाली प्रदेशमा पछिल्लो समय कोरोनाको सङ्क्रमण बालबालिकामा देखिन थालेको छ । कोरोनाकोे दोस्रो लहर सुरु भएयता बालबालिका पनि सङ्क्रमित भएका छन् । पहिलो लहरमा बालबालिकामा कमै देखिएको कोरोना सङ्क्रमण दोस्रो लहरमा बढेको हो ।

कर्णालीमा हालसम्म  २० वर्ष मुनिका १९ प्रतिशत बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश स्वास्थ्यसेवा निर्देशनालयका अनुसार यो सङ्ख्या पहिलो भन्दा दोस्रो लहरमा बढी देखिएको छ । प्रदेशमा अहिलेसम्म कूल ३० हजार ८६९ जनामा सङ्क्रमण देखिएकोमा ८० प्रतिशत सङ्क्रमित भने २० वर्षमाथिका छन् । निर्देशनालयका निर्देशक डा रवीन खड्काले बालबालिकामा पनि सङ्क्रमणदर बढ्दो रहेको बताउनुभयो । “बालबालिकामा सङ्क्रमण दर बढ्दो क्रममा देखिन्छ”, खड्का भन्नुहुन्छ, “बालबालिकाले कोभिडविरुद्धको खोप पनि पाएका छैनन् त्यो भएर पनि उनीहरुमा जोखिम बढी हुने आँकलन गरिएको छ ।” उहाँका अनुसार पाँच वर्षमुनिका बालबालिकामा भने जोखिम कम रहेको छ । 

निर्देशक खड्काका अनुसार गतवर्ष पहिलो लहरमा कर्णालीमा चार प्रतिशत बालबालिका मात्र कोरोना सङ्क्रमित भएका थिए । त्यो सङ्ख्या बढेर अहिले १९ प्रतिशत अर्थात् पाँच हजार ५५६ पुगेको छ । पहिलो र दोस्रो लहरमा सबैजसो उमेर समूहलाई प्रभावित पारेको कोभिडको तेस्रो लहरसमेत आउन सक्ने जनस्वास्थ्य क्षेत्रका विज्ञहरूको आँकलन छ । उक्त लहरले बालबालिकामा बढी असर गर्ने बताइएको छ । बालबालिकामा बढी सङ्क्रमण हुने देखिएकाले सोहीअनुसारको पूर्व तयारी गर्नुपर्ने निर्देशक खड्काको भनाइ छ । 

यसैबीच कर्णालीमा पनि तेस्रो लहरको सङ्क्रमणबाट जोगिन पूर्वतयारी थालिएको छ । निर्देशक डा खड्काले बालबालिकामा जोखिम हुने अनुमान गरेर जिल्लास्थित सबै अस्पतालले २० प्रतिशत बेड छुट्याएको जानकारी दिनुभयो । बालबालिकाका लागि उपचारमा आवश्यक पर्ने स्वास्थ्य उपकरण र जनशक्तिको समेत व्यवस्था गरिएको उहाँको भनाइ छ । 

त्यसैगरी सघन उपचार कक्ष र भेन्टिलेटर व्यवस्थापन गरिएको छ भने अक्सिजन सिलिण्डरहरु थप गर्ने काम भइरहेको निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले बताउनुभयो । उहाँले काभिड नियन्त्रणकै लागि कर्णालीमा तीनवटा हिमाली जिल्लाका सबै नागरिकलाई खोप व्यवस्थापन गर्ने गरी तयारी अघि बढाइएको बतउनुभयो । “जहाँ कम जनसङ्ख्या रहेका जिल्लाहरु छन् त्यहाँका सबै नागरिकलाई खोपको व्यवस्था गर्ने गरी काम अघि बढाएका छौ”, चौधरीले भन्नुभयो, “हिमाली जिल्लासँगै सबैभन्दा बढी कोभिडबाट प्रभावित रहेको सुर्खेतमा पनि सबै नागरिकलाई खोप दिने गरी तयारी गरिरहेका छौँ ।”

यस्तै, निर्देशनालयले उपचारका लागि प्रदेशका तीन वटा अवस्थामा भाइरस सङ्क्रमणको वर्गीकरण गर्ने व्यवस्था मिलाएको छ । उपचारलाई सहज बनाउन सङ्क्रमितको स्वास्थ्य अवस्थाअनुसार भाइरसको वर्गीकरण गरिएको हो । सोही आधारमा निर्देशनालयले मापदण्डसमेत बनाएको छ । सामान्य, मध्यम र जटिल अवस्था वर्गीकरण गरी त्यसकै आधारमा समुदाय, जिल्ला तह र प्रदेश अस्पतालमा उपचारको प्रबन्ध गरिएको बताइएको छ । 

कर्णालीमा हालसम्म कोरोना सङ्क्रमणबाट ३६८ जनाको ज्यान गएको छ । झन्डै एक हजार हाराहारीमा सक्रिय सङ्क्रमित अहिले पनि छन् । पछिल्ला दिनमा गम्भीर बिरामीको सङ्ख्या धेरै नभए पनि सङ्क्रमण दर भने बढ्दो छ । (रासस)