• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

भवन भत्काइँदैन, कानूनी प्रक्रिया अवलम्बन गर्नू : नर्भिक अस्पताल



काठमाडौँ । नर्भिक अस्पतालले अस्पताल परिसरमा निर्माण गरिएका संरचना तत्काल नभत्काइने बताएको छ । नक्सा पास नगराई निर्माण गरिएको भौतिक संरचना भत्काउन काठमाडौँ महानगरपालिकाले सोमबार नर्भिक अस्पताललाई २४ घण्टे अल्टिमेटम दिएको जवाफमा तत्काल संरचना भत्काउन सम्भव नभएको बताएका हो ।

महानगरपालिकाले दिएको समयसीमाभित्र संरचना भत्काए गम्भीर अवस्थामा उपचाररत बिरामीको ज्यान खतरामा पर्न सक्ने अस्पतालले बताएका छ । जवाफी पत्रमा अस्पतालले महानगरलाई बिरामीहरुको स्वास्थ्य संवेदनशीलतालाई समेत ख्याल गरेर उचित कानूनी प्रक्रिया अवलम्बन गर्न चुनौतीसमेत दिएको छ ।

अस्पतालका अनुसार महानगरले भत्काउन आदेश दिएको भवनमा अक्सिजन प्लान्ट र बिरामीका लागि अति महत्वपूर्ण साधन तथा उपकरण राखिएका छन् । ती संरचना भत्काउँदा उपचारमा कठिनाइ हुनसक्ने अस्पतालको भनाइ छ ।

सोमबार काठमाडौँ महानगरले नक्सा पास नगराई बनाइएका संरचना भत्काउन आज २ बजेसम्मको अल्टिमेटम दिएको थियो । समयसीमाभित्र संरचना नभत्काए कानूनबमोजिम कारवाही गर्ने चेतावनीसमेत महानगरले दिएको थियो ।

महानगरप्रमुख बालेन्द्र साहले अस्पताल भवनको पश्चिमतर्फ बनेका संरचनाहरु नेपाल सरकारसँग भएको सम्झौताविपरीत र नक्सा पास नै नगरी बनाइएको भन्दै २४ घण्टाभित्र भत्काउन आदेश दिएका थिए ।