काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली र भारतको राष्ट्रिय टिमले आज (बिहीबार) साँझ ५ः३० बजे प्रतिस्पर्धा गर्दैछन् ।
नेपालले भारतको सिनियर टोलीसँग प्रतिस्पर्धा नगरेको ६ वर्ष बितिसकेको छ । २०१५ को मार्चमा नेपाल र भारतबीच रसिया विश्वकप छनोटअन्तर्गत प्रतिस्पर्धा भएको थियो । पहिलो लेगमा भारत २–० ले विजयी भएको थियो । दोस्रो खेलमा नेपालले भारतलाई गोलरहित बराबरीमा रोकेको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आसन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितालाई सहयोग पुग्ने हेतुले भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल प्रस्ताव गरेको थियो ।
भारतले पनि उक्त प्रस्तावलाई स्वीकारेपछि दुईटिमबीच मैत्रीपूर्ण खेल सम्भव भएको हो । भारतले यसपटक मैत्रीपूर्ण खेलकै लागि आफ्नो पहिलो सेटकै खेलाडी पठाएको छ । सुनील क्षेत्रीको कप्तानीमा भारत नेपालविरुद्ध उत्रँदैछ । नेपाली टोलीलाई भने गोलरक्षक किरण चेम्जोङले कप्तानी गर्नेछन् ।
नेपाल र भारतबीच अहिलेसम्म १९ खेल भएका छन् । भारतले नेपालमाथि दबदबा जमाउँदै १३ खेलमा जित निकालेको छ । यता नेपालले केवल दुई खेलमा मात्र भारतलाई पराजित गरेको छ भने चार खेल बराबरीमा सकिएको छ ।
सन् २०१३ मा काठमाडौंमा आयोजित साफ च्याम्पियनसिपमानेपालले अन्तिमपटक भारतलाई हराएको थियो । त्यस खेल नेपालले भारतविरुद्ध २–१ ले जित निकालेको थियो ।
वरियतामा भारतभन्दा नेपाल कमजोर देखिन्छ । फिफा वरीयतामा भारत एक सय पाँचौँ र नेपाल एक सय ६८औँ स्थानमा छन् ।
यसै खेलबाट नेपाली टोलीका कप्तान तथा गोलरक्षक चेम्जोङलाई भारतविरुद्ध मैदानमा उत्रँदा पूर्वकप्तान विराज महर्जनको कीर्तिमान बराबरी गर्ने अवसर रहेको छ । महर्जनले नेपाली टोलीबाट सर्वाधिक ७३ क्याप जितेका छन् । यसै खेलबाट चेम्जोङले नेपाली राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने महर्जनको रेकर्ड बराबरी गर्दैछन् ।