९ मंसिर २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओशो तपोवनप्रतिको आकर्षण



अ+ अ-

तराईमा क्रियाशील जनमत पार्टीका अध्यक्ष सिके राउत ओशो सन्न्यासी बनेका छन् । ओशो तपोवनमा ९ दिनसम्म ध्यानमा बसेपछि बुधबार काठमाडौँमा स्वामी आनन्द अरुणबाट दीक्षा लिएर उनी ओशो सन्न्यासी बनेका हुन् । सन्न्यासपछि राउतले नयाँ नाम पाए– ‘आनन्द मैत्रय’ ।

कुनै बेला नेपालको तराई भागलाई भिन्ने मुलुक बनाउनुपर्छ भनेर हिंसात्मक आन्दोलन गर्नुपर्छ भन्ने राउत एकाएक ओशो तपोवनमा गएर नौ दिनसम्म साधनामा रही सन्न्यास ग्रहण गरेका हुन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ शुक्रबारदेखि ध्यानमा छन् । प्राधिकरणका अन्य पदाधिकारीको टोली लिएर उनी ओशो तपोवनमा ध्यान साधनामा सहभागी भएका हुन्।

केही अघि गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्ट पनि तपोवनमा पुगेर ध्यानमा सहभागी भएको समाचार आएको थियो । ४४ वर्षको उमेर टेकेपछि आफूले आफैंलाई चिन्न, आफैंलाई बुझ्न र आफ्नो मार्ग पहिल्याउन तपोवन गएका उनी अन्तर्मनलाई चिनेपछि स्वामी आनन्द देव बने ।

अहिलेसम्म हरेकजसो राजनीतिक दलका नेता, बुद्धिजीवी, कलाकार, व्यापारिक वर्ग ओशो तपोवनमा पुगेर ध्यानमा बसेका छन् । आखिर किन ओशो दर्शनप्रति यति धेरै आकर्षण छ त रु सन्न्यास धारण गरेपछि सबै कुरा त्याग्नुपर्छ त ?

तपोवनकी सदस्य एवं पूर्व अभिनेत्री सोभिता सिम्खडाका अनुसार ओशो दर्शनले आफूभित्रको ‘इगो’ छाड्ने तर अहिले गरिरहेको काम छाड्नु नपर्ने बताउँछ । सन्न्यास धारण गर्दैमा कसैले पनि गरिरहेको राजनीति, बन्द व्यवसाय वा नोकरी छाड्नु पर्दैन । ओशो दर्शनमा सन्न्यासको अर्थ आफू भित्रैबाट जाग्ने, बुद्धत्व र अध्यात्मको खोज गर्ने, बाहिर जस्तो काममा लागिरहेको छ त्यसलाई अझ परिष्कृत गरेर लैजाने हो । वर्तमान आफूले गरिरहेको काम छोड्ने सन्न्यास होइन्, इगो छोड्नु नै सन्न्यास हो ।

सन्न्यास लिनु भनेको सबै काम र परिवार छाडेर वैरागिने नभई जीवनको आनन्द लिने तरिका हो भनिन्छ । त्यसैले राजनीतिकर्मी र अन्य पेशागत, व्यवसायमा लागेका व्यक्तित्वहरु जीवनको उत्तरार्धतिर अध्यात्मको खोज र आफूले आफैँलाई चिन्न ध्यान साधनामा लाग्न थालेको हुनुपर्छ । ओशो दर्शनले नै ध्यान साधनामा लाग्ने सबैभन्दा सरल र सहज विधि अपनाउँछ भनिन्छ । त्यसैले पनि जीवन दर्शन बुझ्न राजनीतिकर्मी तथा अन्य विद्वतवर्गको ओशो तपोवनप्रति आकर्षण बढेको हुनुपर्छ ।