कैलाली । सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाउने नागरिकको सङ्ख्या चार लाख नाघेको छ । सामाजिक विकास मन्त्रलायको तथ्याङ्कअनुसार छ लाख एक हजार १५ जनाले पहिलो मात्रा र चार लाख एक हजार ३३ जनाले पूर्ण खोप लगाएका हुन् ।
मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार प्रदेशमा रहेका नौ जिल्लामध्ये सबैभन्दा बढी कैलालीका र सबैभन्दा कम बाजुराका नागरिकले कोरोनाविरुद्धको खोप पाएका छन् । कैलालीका एक लाख ५५ हजार ५१० जनाले पूर्ण खोप पाएका हुन् भने बाजुराका सात हजार २१३ जनाले पूर्ण खोप लगाएका हुन् ।
यस्तै कञ्चनपुरमा ८७ हजार ५८, बैतडीमा ३५ हजार ५२६, डोटीमा ३१ हजार ३८९, अछाममा ३० हजार ६७०, बझाङमा २२ हजार ५७, दार्चुलामा १९ हजार ४४८ र डडेल्धुराका १२ हजार १६२ जनाले पूर्ण खोप पाएका हुन् ।
यहाँका नागरिकलाई कोभिसिल्ड, अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप लगाइएको हो । प्रदेशमा हाल पनि कोरोनाविरुद्धको खोप लगाउने क्रम जारी रहेको जनाइएको छ । सुदूरपश्चिमसहित देशभरि नै गत माघ १४ गतेदेखि नै कोरोना भाइरसविरुद्धको अभियान सुरु गरिएको थियो ।