काठमाडौं । सरकारले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेर बहादुर देउवाले बुधबार मन्त्रिपरिषद्को बैठक डाकेर एआईजीहरूको सरुवा गर्ने निर्णय गराएका हुन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको सिफारिसमा एआईजीहरूको सरुवा गरेको स्रोतले जनाइएको छ । मन्त्रिपरिषद्को बैठकपछि यसबारे जानकारी नदिई निर्णय गोप्य राखिएको थियो ।
अपराध अनुसन्धान विभागमा रहेका एआईजी विश्वराज पोखरेललाई मानव स्रोत एवं प्रशासन विभागमा सरुवा गरिएको छ भने एआईजी हरि पाल महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) मै यथावत रहेका छन् ।
विश्वराज पोखरेलको ठाउँमा एआईजी प्रधुम्न कार्कीलाई पठाइएको बताइएको छ । प्रधुम्न कार्कीको ठाउँमा निरज शाहीको सरुवा भएको छ । भर्खरै एआईजीमा बढुवा भएका सहकुल थापालाई कार्य विभाग प्रमुखका रुपमा पदस्थापन गरिएको छ ।
तात्कालीन केपी ओली सरकारले गरेका सरुवा रोकेर देउवा सरकारले उनीहरूको सरुवा गरेको हो ।