५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गुँला पर्व’को रौनक फोटो फिचर



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाका बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ साउन शुक्ल प्रतिपदादेखि सुरू भएको छ ।

वर्षभर दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ)मा बास परोस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ ।

नेपाल भाषामा ‘गूँ’को अर्थ नौ तथा ‘ला’को अर्थ महिनाका रुपमा लिइएको छ । नेपाल संवतको नौ महिनामा पर्ने सो पर्वमा बौद्ध तथा गैरबौद्ध धर्मावलम्बीले समेत सहभागिता जनाउने गर्छन् ।

धर्म सञ्चय गर्ने महिनाका रुपमा यस अवधिमा स्वयम्भू महाचैत्यमा एक महिनासम्म मेला पनि लाग्ने गर्छ । भक्तजनले स्वयम्भू महाचैत्यको दर्शन परिक्रमापछि शोभाभगवतीसँगैका विजयश्वरीको दर्शन गरी केलटोलस्थितको सेतो मत्स्येन्द्रनाथको दर्शन गर्ने परम्परा छ ।

नेवारी समुदायले बजाउने परम्परागत धाःबाजा, नेकुबाजा, दमोखीं तथा अन्य सांस्कृतिक गाजाबाजा बजाउँदै विभिन्न चैत्यको परिक्रमा गर्दा मनमा शान्ति तथा एकापसमा सद्भाव अभिवृद्धि हुनुका साथै पारिवारिक सुख कायम भई पुण्य लाभ हुने जनविश्वास छ ।

प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म सञ्चालन हुने उक्त मेला भर्न काठमाडौँ तथा आसपासका क्षेत्रबाट सर्वसाधारण आउने गर्छन् ।

सो पर्व कहिलेदेखि सुरू भएको भनेर यकिनका साथ भन्न नसकिए पनि पौराणिककालदेखि नै अभ्यासमा रहेको जनविश्वास छ ।

एक महिनासम्म चल्ने सो पर्वअन्तर्गत वज्रयानी परम्परामा विश्वास गर्ने बौद्ध धर्मावलम्बीले नाम संगीति तथा थेरवादी परम्परामा विभिन्न विहारमा ध्यान, साधना तथा धर्म उपदेश हुने गर्दछ ।  यसै अवधिमा हिन्दूको जनैपूर्णिमा, गाईजात्राका साथै तीजलगायत पर्व पर्ने गर्छ भने बौद्ध मार्गीले पञ्चदान पर्व मनाउने गर्छन् ।

बौद्ध विद्वान् भिक्षु तपस्सी धम्मकाअनुसार स्वयम्भू महाचैत्यको निर्माणअघि नै चैत्यमा परिक्रमा तथा सेवा गर्ने चलन रहेको र त्यही सेवालाई कालान्तरमा ‘गुँला धर्म’ भनिएको हो । भाषा वंशावलीका अनुसार राजा विक्रमदेवले बौद्ध अनुयायीका लागि यो परम्परा चलाएका हुन् ।

तस्वीर- न्युजपोलार