बागलुङ । गाईघाट झरना छेउको झोलुङ्गे पुल भत्काइएको खबर सुन्दा ६० वर्षीय दिलबहादुर घर्तीलाई ननिको लागेको छ । ताराखोला गाउँपालिका–१ स्थित दरमखोलामा रहेको उक्त झोलुङ्गे पुलको अहिले नामोनिसान छैन ।
‘ट्रस्ट’ पुल बनाउन पुरानो झोलुङ्गे पुल हटाइएको हो । “६ कक्षा पढ्न हरिचौर जाँदा गाईघाटको पुल तरेर जानुपथ्र्यो”, घर्तीले भन्नुभयो, “नौ, दस कक्षा पढ्ने बेलासम्मै त्यहीँ बाटो भएर हिँड्यौँ, हामी सानो छँदादेखि नै त्यहाँ झोलुङ्गे पुल थियो ।”
परम्परागत सीप र साधनबाट बनाइएको पुल संरक्षण गर्नुपर्नेमा उल्टै भत्काइएपछि घर्तीको मन कुँडिएको हो । बूढापाकाका अनुसार झण्डै १०० वर्षअघि व्यापारका सिलसिलामा ताराखोला पुग्नुभएकी ‘सेती थकाल्नी’ले उक्त पुल बनाउनुभएको थियो ।
“थकाली व्यापार गर्न जहाँ पुग्थिन त्यहीँ धर्मकर्मका नाममा पुल, चौतारी, पाटी, पौवा बनाउने गर्थिन, गाईघाटको पुल पनि सेती थकाल्नीले बनाएको भन्ने गाउँका पाकापुरानाबाट सुनिन्छ”, घर्तीले भन्नुभयो । तत्कालीन अर्गल गाविसका अध्यक्षसमेत रहनुभएका घर्तीले उक्त झोलुङ्गे पुलको लठ्ठा मात्र भए पनि जोगाउन सके इतिहास सुरक्षित हुने धारणा राख्नुभयो ।
“गाउँपालिकाको सङ्ग्रहालय बन्दैछ, त्यो लठ्ठालाई ल्याएर त्यहीँ राख्न सकिन्छ”, उहाँले भन्नुभयो, “हाम्रा पितापुर्खाको सीप र कौशल नयाँ पुस्ताले हेर्ने, बुझ्ने मौका पाउँथे ।”
दुर्भाग्य इतिहाससँग जोडिएको उक्त झोलुङ्ले पुलको लठ्ठा अहिले दरमखोलामा अलपत्र छाडिएको छ । बर्खामासको खोलाले बगाएर अन्तै पु¥याए पनि कसैलाई चासो छैन । ‘ट्रस्ट’ पुल निर्माणको जिम्मा पाएको बनौ निर्माण सेवाका प्रतिनिधि टोपबहादुर रोकाले लठ्ठालाई टुक्राएर निकाल्न सकिने बताउनुभयो । “यतिकै झिक्न त गाह्रो छ, मेसिनले टुक्रा बनाएर निकाल्न सकिन्छ”, उहाँले भन्नुभयो ।
निर्माण कम्पनीले पहिलेकै ठाउँमा ‘ट्रस्ट’ पुल बन्ने भएपछि पुरानो संरचना भत्काइएको जनाएको छ । गाउँपालिकाको रु २० लाख लागतमा गाईघाटमा नयाँ पुल बन्न लागेको हो । यसरी कुनैताका विकट गाउँ–बस्ती जोड्न स्थानीय सीप र साधन प्रयोग गरेर बनाइएका झोलुङ्गे पुल आधुनिक प्रविधि भित्रिएसँगै मासिन थालेका छन् । झोलुङ्गे पुल बनाउने त्यो बेलाको रैथाने सीप र कौशल पनि अब इतिहास बनिसक्यो ।
ताराखोला गाउँपालिका–२ अर्गलका ६८ वर्षीय गोविन्द घर्तीले पुल बनाउने फलाम लिन २०२८ साल तिर बुबाको साथ लागेर बुटवलसम्म पुगेको स्मरण गर्नुभयो । उहाँका अनुसार बुटवल पुग्न १४÷१५ दिनसम्म लाग्थ्यो । पुल बनाउने योजना बनेपछि गाउँभरिका मानिस लाम लागेर फलाम लिन बुटवल झर्थे ।
त्यसरी ल्याएको फलाम आरनमा गालेर लठ्ठा बनाउन तीन महिनासम्म लाग्थ्यो । पूरै झोलुङ्गे पुल तयार हुँदा आठ महिना बित्थ्यो । फलाम गालेर, पिटेर बनाइएका साङ्ला एकापसमा गाँसेर लामो लठ्ठा बनाउने गरिन्थ्यो । स्थानीय विश्वकर्मा समुदायका कालीगढले फलामको लठ्ठा बनाउने जिम्मा लिन्थे । लठ्ठा बनेपछि मात्र पुलको अरु काम सुरु हुन्थ्यो ।
त्यसताका अहिले जस्तो सिमेन्ट, बालुवा नराखी ढुङ्गाले मात्र पुलको ‘जिप’ बनाउने गरिएको गोविन्दले सुनाउनुभयो । उहाँका अनुसार ठूल्ठूला ढुङ्गा र खाल्डा प्रयोग गरेर पुलको लठ्ठा तन्काउने गरिन्थ्यो ।
“जिपको पछाडिपट्टि ठूलो खाल्डा खनी त्यसमा गारो चिन्ने अनि त्यहीँमाथि ढुङ्गा चढाइ लठ्ठा खिच्ने गरिन्थ्यो । लठ्ठा ढुङ्गामा बाँधेपछि तल चिनिएको गारो विस्तारै झिक्दा ठूलो ढुङ्गा तल खस्दै जान्थ्यो अनि लठ्ठा तानिन्थ्यो,” उहाँले भन्नुभयो ।
उक्त काम होसियारीपूर्वक नगरे पुलको ‘जिप’ नै भत्किने खतरा हुन्थ्यो । लठ्ठा खिच्ने ढुङ्गा ल्याउन, खाल्डो खन्न, लठ्ठा खिच्न मान्छेको बल र बुद्धिको खाँचो पथ्र्यो । ठूलो ढुङ्गा टाढाबाट डोरी लगाएर ल्याउन ४०÷५० मजदुर खटिन्थे ।
यसरी ढुङ्गा अल्झाएर तानेको लठ्ठाले नै पुलको भार थाम्ने गथ्र्यो । ढुङ्गा र पहरा भएका ठाउँमा छिनाले दुई हातसम्म प्वाल पारेर लठ्ठा अड्काउने गरिन्थ्यो । लठ्ठा तानेपछि पुलको तलपट्टि काठ बिछ्याउने र दायाँबायाँ फलामकै पाताले बार लगाउने गरिन्थ्यो ।
झोलुङ्गे पुल निर्माणमा आधुनिक प्रविधि भित्रिएसँगै रैथाने सीप र प्रविधि लोप मात्र भएको छैन आरान चलाउने, भारी बोक्ने, कालीगढी गर्ने व्यक्तिको कमाइको श्रोत पनि गुमेको छ । झोलुङ्गे पुल निर्माणमा व्यवस्थापकीय र सामाजिक परिचालनका काममा सघाउँदै आएको भिमापोखरा युवा क्लब (बिवाइसी)का कार्यक्रम संयोजक प्रेम केसीले परम्परागत प्रविधिबाट बनेका झोलुङ्गे पुल जीर्ण बनेपछि त्यहीँ ठाउँमा नयाँ पुल निर्माण भइरहेको बताउनुभयो ।
“पुरानो प्रविधिबाट बनेका अधिकांश पुल जीर्ण छन्, कुनै प्रयोगविहीन त कुनै कामै नलाग्ने अवस्थामा छन्”, उहाँले भन्नुभयो, “सर्वेक्षणका क्रममा केही पुल संरक्षण गर्नुपर्ने भनेर तोकिएको पनि छ ।” स्थानीयले जोगाउन चाहेको र अरु हिसाबले पनि महत्व बोकेका पुललाई संरक्षण गर्नुपर्ने संयोजक केसीको सुझाव छ ।
पुल निर्माणमा नयाँ प्रविधिले ठाउँ लिए पनि रैथाने सीपमा आधारित परम्परागत शैलीका झोलुङ्गे पुलको संरक्षणमा पनि ध्यान दिनुपर्ने उहाँको भनाइ छ । दुई वर्षअघि गलकोट नगरपालिकाको पुरानो ‘राजाको पुल’लाई परम्परागत प्रविधि र मौलिकता झल्काउने गरी पुनःनिर्माण गरिएको थियो ।
झोलुङ्गे पुल बनाउने बागलुङको रैथाने प्रविधि पनि संरक्षण होस् भनेर उक्त पुलको माथिपट्टि पुरानै पुलको लठ्ठा प्रयोग गरिएको छ । चौबिसे राज्यअन्तर्गत तत्कालीन गलकोटे राजा भरतबम मल्लका पालामा उक्त पुल बनेको थियो ।
झोलुङ्गे पुल बनाउने बागलुङको परम्परागत प्रविधिलाई ‘इन्जिनियरिङ’ गरी नयाँ प्रविधि भित्र्याइएको तत्कालीन जिल्ला प्राविधिक कार्यालय बागलुङमा झोलुङ्गे पुल हेर्ने इन्जिनियर बलविक्रम दाहालले बताउनुभयो । उहाँका अनुसार आधुनिक प्रविधिबाट अहिले बन्ने पुल तीन महिनामै तयार हुन्छन् । लठ्ठा, जालीलगायतका निर्माण सामग्री सबै तयारी अवस्थामै किन्न पाइन्छन् । गुणस्तर, लागत खर्च, समय इत्यादि कारणले आधुनिक प्रविधि नै उत्तम रहेको इन्जिनियर दाहालको भनाइ छ ।
आधुनिक प्रविधिको झोलुङ्गे पुल निर्माणमा परम्परागत प्रविधिकै विकसित रुप (जसलाई बागलुङ प्रविधि पनि भनिन्छ) नै प्रयोगमा आएको पाइन्छ । ‘झोलुङ्गे पुलको जिल्ला’ भनेर चिनिने बागलुङमा ४१० भन्दा बढी झोलुङ्गे पुल छन् । रासस