११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

‘असारे मेला’को सुरसारमा तरामीमगर

‘असारे मेला’को सुरसारमा तरामीमगर
अ अ+ अ-

बागलुङ । बर्सेनि असार तेस्रो मङ्गलबारदेखि यहाँ ‘असारे’ मेला लाग्छ । ‘असारे’ तरामीमगरको पुस्तैनी मेला हो । कोरोना महाव्याधिले दुई वर्षसम्म रोकेको परम्परागत मेला यसपाली हुँदैछ । ताराखोलाका रैथाने मगर ‘असारे’ मनाउने सुरसारमा छन् । असारेलाई खुसी साट्ने, मीठो–मसिनो खाने, प्रकृति र देउता पुज्ने पर्वका रुपमा लिइन्छ । नयाँपुस्ताले ‘असारे मेला’ का रुपमा संस्कृति धाने पनि जनबोलीमा भने ‘असारे’ प्रचलित छ । बर्खाको खेतीपाती भ्याएर विश्राम लिन असारे बस्ने गरिएको बूढापाका बताउँछन् ।

आराम र मनोरञ्जनका लागि ‘असारे मेला’ सुरु भएको विश्वास गरिन्छ । संस्कृतिकर्मी झकबहादुर घर्तीले डोल्पाको ताराभोटबाट आएका पूर्वजले असारेको चलन बसालेको बताउनुभयो । “असारको उजेली पक्ष पारेर मेला सुरु हुन्छ”, उहाँले भन्नुभयो, “पूजाआजा गर्ने, बलि चढाउने पनि परम्परा छ ।” अघिल्लो दिन गहुँ, चामलको रोटी खाने र भोलिपल्ट मङ्गलबार बूढापाकाले लठ्ठो बाट्ने, युवाले पिङ राख्ने चलन रहेको उहाँले सुनाउनुभयो । असारेलाई साँचेर तरामीमगरको कूल घरमा राखिएको जमरालाई त्यही पिङमा चढाउने र वाचा बाँध्ने गरिन्छ ।

गाउँलेले मेलालाई ‘असारे बस्ने’ भनेर पनि चिन्छन् । असारे बसेका बेला खेतीपातीको काम गर्न नहुने मान्यता छ । वर्षात्मा बाढीपहिरोजस्ता प्रकोप नहोस्, रोगव्याधि नलागोस्, अन्नबाली सप्रियोस् भन्ने कामना गर्दै प्रकृति पुजिन्छ । मुखियाको घर (हेम्थो घर)को बारीमा रहेको थानमा राँगाको बलि दिने गरिएको घर्तीले बताउनुभयो । “पहिलेपहिले यहाँ आउँदा बालबालिका हराउने गरेको र पछि ढुङ्गामा बलि चढाएर पूजा गर्न थालेपछि हराउन छाडेको भन्ने धार्मिक विश्वास छ”, उहाँले भन्नुभयो ।

विसं १७६६/६७ तिर डोल्पाबाट बसाइँ सरेर आएका तरामीमगरले थातथलो बसाएको ताराखोला गाउँपालिका–४ र ५ मा असारे विशेषरुपमा मनाइन्छ । बलि र पूजापाठ वडा नं ४ को तारागाउँमा हुने गरे पनि मेला भने ५ को करिमेलामा चल्छ ।

असारेलाई ताराखोलावासीले आफ्नो मौलिक संस्कृति मान्छन् । बर्खे झरीकोसमेत पर्वाह नगरी हर्षोल्लासपूर्वक असारेमा रमाउँछन् । ३०० वर्षअघिदेखि असारेको थिति बसेको बूढापाका बताउँछन् ।

असारे युवा क्लबका अध्यक्ष ओमबहादुर रोकाले क्लबले असारेको परम्परा धान्दै आएको उल्लेख गर्नुभयो । “कोरोना महामारीले गर्दा दुई वर्षसम्म रीतिथितिअनुसार पूजापाठ र वाचा बाँध्ने मात्र काम भयो”, उहाँले भन्नुभयो, “यो वर्षदेखि असारे मेलाले पुनःनिरन्तरता पाउँदैछ ।” असारे ताराखोलाको ऐतिहासिक र साँस्कृतिक महत्वको मेला भएको उहाँको भनाइ छ । तारागाउँमा रहेको थानमा पूजाआजापछि करिमेलामा सांस्कृतिक कार्यक्रम तथा खेलकुदको आयोजना हुने क्लबले जनाएको छ । मेलामा पुरुष÷महिला भलिबल, सामूहिक नृत्य, रस्साकस्सी, धनुषवाण, भाले छुनेलगायतका प्रतियोगिता राखिएको छ । ताराखोलामा प्रचलित सांस्कृतिक झाँकी, गीत तथा नृत्य पनि प्रदर्शन गर्ने गरिएको छ ।

मेलामा युवायुवती पिङ खेल्ने, मीठा परिकार खाने, असारे गीत तथा नाचमा रमाउने गर्छन् । खेतीपातीपछि आराम गर्ने, आफन्त र मित्रजनसँग भेटघाट हुने अवसरका रुपमासमेत मेलालाई लिइन्छ । पछिल्लो समय मेलाको स्वरुप केही फेरिँदै गएको छ । धार्मिक आस्था, मान्यता र परम्परासँगै मेलालाई नयाँपन दिन थालिएको हो । मेला धार्मिक, सांस्कृतिक मान्यतासँग पनि जोडिएको छ । मेला भर्न हिल, अर्गल, हटिया, हरिचौर, तमान, खुङ्गा म्याग्दीको रुम, निस्कोट, किमचौरलगायतका ठाउँबाट सर्वसाधारण आउँछन् ।

ताराखोलाको अर्गल, हिल, अमरभूमिलगायतका गाउँमा पनि बर्खे मेला हुने गरेको छ । पाल्पाको अर्गली र डोल्पाको ताराभोटबाट बसाइँसराइ गरी आएका मगरका पूर्वजले मेलापर्वको चलन बसालेका हुन् । राघे, माघेसङ्क्रान्ति र श्रीपञ्चमी पर्वलाई पनि ताराखोलाका मगरले विशेषरुपमा मान्छन् । भदौरे सिस्नो खोस्ने र भुस पोल्ने त्यहाँका ठूला पर्व हुन् । रासस