• २९ श्रावण २०७९, आईतवार
  •      Sun Aug 14 2022
Logo

अमेरिकामा गर्भपतन र प्रजातन्त्र, अमेरिकाले विश्वबाट सिक्नुपर्छ



अमेरिकी सर्वोच्च अदालत
अमेरिकी सर्वोच्च अदालत

पिटर सिंगर

प्रत्येक महिलालाई आफूले जारी राख्न नचाहेको गर्भलाई सुरक्षित रूपमा त्याग्ने कानुनी अधिकार हुनुपर्छ । कम्तिमा गर्भमा रहेको भ्रुणले पीडा महसुस गर्नुअघि आमाले त्यस्तो गर्भ परित्याग गर्न पाउनु पर्दछ । मैले सन् १९६० को दशकमा स्नातकको विद्यार्थी छँदै यो विषयमा सोच्न थालेको थिएँ, र आजपर्यन्त यस विषयमा मेरो दृढ विश्वास छ । यस विषयमा मैले गरेका कुनै पनि पढाइ, लेखन र बहसले मलाई मेरो विचार परिवर्तन गर्ने पर्याप्त कारण दिएको छैन।

तैपनि मलाई डोब्स विरुद्ध ज्याक्सन महिला स्वास्थ्य संगठन र रो विरुद्ध वेडको फैसलालाई उल्ट्याउने अमेरिकी सर्वोच्च अदालतको पछिल्लो ऐतिहासिक निर्णयले गर्भपतनको संवैधानिक अधिकार स्थापित गर्ने यसअघि सन् १९८३ को अमेरिकी सर्वोच्च अदालतको बहुमतको तर्कसँग असहमत हुन गाह्रो लागिरहेको छ। यो तर्क निर्विवाद तथ्यबाट सुरु हुन्छ कि अमेरिकी संविधानमा गर्भपतनको कुरै उल्लेख छैन, र यो विवादास्पद नै भए पनि अझै यो धेरै व्यावहारिक छ । गर्भपतनको अधिकारका विषयमा संविधानमा प्रष्टैसँग नलेखिए पनि संविधानको चौधौं संशोधन समेतको व्याख्याभित्र यो विषय समाहित रहेको मान्न सकिन्छ ।

राज्य विधायिकाले गर्भपतनमाथि रोक लगाउने गरी भइरहेका निर्णयहरू अस्थिर पृष्ठभूमिका थिए। मुद्दामा असहमति राखेका न्यायमूर्ति बायरन ह्वाइट सही थिएः रो बहुमतको निर्णय कच्चा न्यायिक शक्तिको अभ्यास थियो।

सर्वोच्च अदालतले विगतमा त्यही शक्तिको प्रयोग गरेर अमेरिकी महिलालाई कानूनी हक प्रदान गरेको थियो । रोले लाखौं महिलालाई अनिच्छुक गर्भ बोक्ने र बच्चा जन्माउने समस्याबाट जोगाइ दिइन् । भरपर्दो र सुरक्षित रूपमा गर्भपतन गराउने कुनै औषधि वा पेशाकर्मी नहुँदा त्यस समयमा हुने मृत्यु र चोटपटकको सङ्ख्या नाटकीय रूपमा घट्यो। उचित रूपमा प्रशिक्षित चिकित्साकर्मीबाट सुरक्षित, कानुनी गर्भपतन प्राप्त गर्न असक्षम भएका निराश महिलाहरूले गर्भपतनका लागि आफूखुशी प्रयास गर्दथे, वा अवैध गर्भपतन गर्नेहरूकहाँ जान बाध्य हुन्थे जसबाट प्रायः गम्भीर र कहिलेकाहीं घातक परिणामहरू व्यहोर्न उनीहरु बाध्य थिए ।

अहिलेको निर्णयले केही मुल प्रश्नको समाधान दिँदैनः के हामी अदालत वा व्यवस्थापिकाले त्यस्ता निर्णयहरू गरोस् भन्ने चाहन्छौं ? यहाँ म न्यायमूर्ति स्यामुएल एलिटोसँग सहमत छु, जसले डोब्समा बहुमतको लागि राय लेख्दै, न्यायमूर्ति एन्टोनिन स्कालियाको दृष्टिकोणलाई अनुमोदन गर्दै उद्धृत गरेका थिएः कतिपय सीमिततालाई विचार गरी गर्भपातको अनुमतिसँग जोडिएका पक्षको समाधान खोजिनु पर्दछ जस्तो कि लोकतन्त्रका महत्त्वपूर्ण प्रश्नहरूमा हामी अक्सर खोज्ने गर्दछौं, जस्तै नागरिकले गर्ने मतदान ।

निस्सन्देह, सर्वोच्च अदालतको बहुमतमा केही विडम्बना छ कि यसले न्यूयोर्क राज्यले हातेबन्दुक (ह्यान्डगन)को प्रयोगमा लगाएको प्रतिबन्धलाई उल्ट्याएको भोलिपल्ट गर्भपातसँग सम्बन्धित फैसला गरेको छ, त्यो पनि संविधानको विवादास्पद व्याख्या गरेर । अदालतले अमेरिकी संविधानको हवाला दिएर ‘मानिसहरूको हतियार बोक्ने अधिकारको हनन गर्नु हुँदैन’  भनेको छ । तर संविधानमा त्यस्तो त किटानीसाथ लेखिएको छैन, यहाँ अदालतले व्याख्या गरेको हो । तर यही कुरा गर्भपतनको स्थापित फैसलालाई उल्ट्याउँदा संविधानमा यस्तो अधिकार सुनिश्चित गरिएको छैन भनेर अदालतले कसरी भन्न सकेको होला ?

ह्यान्डगन बोक्ने व्यक्तिहरूको कथित अधिकारसँग संयुक्तराज्य अमेरिकाको सुरक्षाबीच बिल्कुलै कुनै सरोकार छैन । त्यसैले गर्भपतनको प्रश्न कसरी समाधान गर्नुपर्छ भन्ने बारे स्कालियाको टिप्पणीमा अन्तरनिहीत समझदारीलाई लोकतान्त्रिक प्रक्रियाहरूमा छोड्नु पर्ने थियो।

अदालतले संविधानमा व्यवस्थित र जनप्रतिनिधिले कानुन मार्फत बनाएका हकहरू हरण गर्नु हुँदैन भन्ने जबर्जस्त मान्यता पनि छः संसदले बनाएका कानूनलाई अदालतले निष्प्रभावी बनाउने अधिकार संविधानमा छैन। संविधान जारी भएको पन्ध्र वर्ष पछि सन् १८०३ सम्म पनि अमेरिकी प्रधान न्यायाधीश जोन मार्शलले मार्बरी विरुद्ध म्याडिसनको मुद्दामा व्याख्या गर्दै अदालतले कानूनको संवैधानिकता र कार्यकारी शाखाद्वारा गरिएका कार्यहरूमाथि परीक्षण गर्न सक्छ भनेर जोड दिएका थिए । मार्बरीको आदेश पश्चात यसले अमेरिकी बिल अफ राइट्सलाई रुपान्तरण गरिदियो । यो एक कानूनी दस्तावेज बन्यो, तथापी यसमा कानुनी अस्पष्टताहरु पर्याप्त थिए ।

निस्सन्देह, अमेरिकी सर्वोच्च अदालतले केही सकारात्मक र प्रगतिशील निर्णयहरू गरेको छ। अदालतले सार्वजनिक विद्यालयहरूमा जातीय विभेद गर्न नपाइने गरी संविधानको १४औं संशोधनबाट समान संरक्षण प्राप्त भएको भन्दै सर्वसम्मत निर्णय गरेको थियो । तर अमेरिकी अदालतले अप्रिय निर्णयहरू पनि बेलाबखत गरेको छ, जस्तै कुख्यात ड्रेड स्कट मुद्दामा यसको निर्णय विवादास्पद छ जसले अफ्रिकी मूलका कोही पनि व्यक्ति अमेरिकी नागरिक बन्न सक्दैन भनेको छ । यही फैसलामा दासदासीका विषयमा अझ विवादास्पद निर्णय भएको छ ।

हालसालै, सिटिजन्स युनाइटेड विरुद्ध संघीय निर्वाचन आयोगको मुद्दामा पनि अदालतले राजनीतिक चन्दामा प्रतिबन्ध लगाउने संघीय कानूनहरूलाई अमान्य बनायो, जसले गर्दा कर्पोरेसनहरू र अन्य संस्थाहरूलाई उनीहरूको मनपर्ने उम्मेदवार वा राजनीतिक दलहरूको अभियानमा पैसा खन्याउनको लागि बाटो खोलिदियो । र ह्यान्डगनका बारेमा अदालतले दिएको पछिल्लो आदेशले त अझ बढी निर्दोष मानिस मारिने जोखिम बढेको छ ।

सर्वोच्च अदालतका निर्णयहरू सजिलै उल्टाउन सकिँदैन । ती फैसलाका नतिजा अत्यधिक नकारात्मक छ भन्ने स्पष्ट हुँदाहुँदै पनि त्यसलाई आत्मसात गर्नुपर्ने हुन्छ । गर्भपतन र बन्दुक नियन्त्रण जस्ता विवादास्पद मुद्दाहरूमा विधायिकाका निर्णयहरूलाई अमान्य घोषणा गर्नुले अदालतहरूलाई राजनीतिकरण गर्दछ, र राष्ट्रपतिहरूलाई न्यायाधीशहरू नियुक्त गर्नमा ध्यान केन्द्रित गर्दछ जो उत्तम कानुनी पाइला होइन । अदालतबाट भएगरेका गर्भपात, बन्दुक वा अन्य जटिल प्रश्नको फैसलाले राष्ट्रपतिहरुको ध्यान विशेषरुपमा आकर्षित हुनेछ ।

गर्भपतन, निर्वाचन अभियानमा हुने लगानी, र बन्दुक नियन्त्रण जस्ता विवादास्पद मुद्दाहरुमा समकालीन विश्वमा संयुक्तराज्य अमेरिकामा भन्दा अन्य लोकतान्त्रिक मुलुकका कानुनहरु बढी समयोचित र उदार हुन थालिसकेका छन् । अमेरिका भने पुरानै शैलीमा हिँड्न खोज्नु र त्यसमा अदालत बढी प्रभावी हुनु विश्वकै लागि आश्चर्यको विषय हो ।

लेखकः प्रिन्स्टन विश्वविद्यालयका प्राध्यापक हुन् ।