• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

क्यानाडासँग दुई एक दिवसीय शृंखला खेल्दै नेपाल



फाइल फोटो

काठमाडौँ । नेपालले क्यानाडासँग दुई वटा एक दिवसीय क्रिकेट खेल खेल्ने भएको छ । दुवै खेल क्यानाडामा हुनेछ ।

सो प्रयोजनका लागि यही असार १४ गते नेपाली टिम क्यानाडा प्रस्थान गर्ने गरी नेपाल क्रिकेट संघ (क्यान) तयारी गरेको बताइएको छ ।

नेपालले क्यानाडासँग असार २० र २१ गते दुई वटा एक दिवसीय खेल खेल्ने खेल तालिका छ । यसअघि क्यानाडामा नेपालले असार १७ गते ओन्टारियोसँग एक दिवसीय अभ्यास खेल खेल्नेछ ।

आईसीसी लिग२ अन्तर्गत स्कटल्यान्डमा हुने शृंखलाअघि तयारी गर्न क्यानाडासँग शृंखला खेल्न लागेको हो । क्यानाडासँग शृंखला सकिएपछि नेपाली टिम सोझै स्कटल्यान्ड जानेछ ।

स्कटल्यान्डमा नेपालले घरेलु टिमसँग दुई वटा र नामिबियासँग दुई वटा एक दिवसीय खेल खेल्नेछ । नेपालले पहिलो खेल नामिबियासँग असार २७ गते खेल्ने कार्यक्रम छ ।

यसअघि अमेरिकामा आईसीसी लिग२ मा नेपालले एक जित, एक बराबरी र दुई खेलमा हार बेहोरेको थियो । अमेरिकामा नेपालले घरेलु टिम अमेरिका र ओमानसँग दुई/दुई वटा एक दिवसीय खेल खेलेको थियो ।

आईसीसी लिग२ मा नेपालले अहिलेसम्म जम्मा १६ खेल खेल खेल्दा १५ अंकसहित पाँचौँ स्थानमा छ ।

टिम घोषित, बसिर र पवन समावेश, सुनिल, सुशन र सागर आउट

यसैबीच क्यानडा टुर र आईसीसी लिग–२ का लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।

घोषित टिममा आईसीसी लिग–२ का लागि अमेरिका भ्रमण गरेको टिमबाट सुनिल धमला, सुशन भारी र सागर ढकाललाई टिमबाट हटाइएको छ भने बसिर अहमद र पवन सर्राफलाई नयाँ टिममा समावेश गरिएको छ ।

टोलीका अन्य सदस्यहरुमा उपकप्तान रोहित पौडेल, कुशल भुर्तेल, विकेटकिपर आसिफ शेष, देव खनाल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेष, करन केसी, सोमपाल कामी, आदिल अन्सारी, किशोर महतो र विनोद भण्डारी छन् ।